Tag Archives: मुस्ताङ

mustang

नेकपा एमाले मुस्ताङको अध्यक्षमा पुन गौचन !

केशव बि.क.मुस्ताङ, २०७३ असोज १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा पुनः चन्द्रमोहन गौचन चयन भएका छन् । असोज १४ गते भएको नेकपा एमाले मुस्ताङको छैँटौँ जिल्ला अधिवेशनले गौचनको नेतृत्वमा ४३ सदस्ीयय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको पाँचौ जिल्ला अधिवेशन बाट पनि गौचन नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।
कमिटीको उपाध्यक्षमा देव बहादुर गुरुङ, सचिवमा आस बहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नविन भट्टचन, टसी स्याङमो गुरुङसेनी, तिलक बि.क, भूपेन्द्र शेरचन, छाङ रिङजिन गुरुङ, हेमन्त शेरचन, राम प्रसाद विक, रत्न गोतामे, रत्न विक, दिपसागर थकाली, कुल बहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दिपक लालचन, छेप्तेन गुरुङ, कुंगा तेन्जीन गुरुङ, खाण्डो गुरुङ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमै टसी ढुण्डुक गुरुङ, पासाङ गुरुङ, आङज्यू गुरुङ, टसी ओङदी गुरुङ, टसी नोर्वु गुरुङ, छाङ आङता गुरुङ, विश्व पाइजा, जमुना थकाली, मिम कुमारी शेरचन, भिमकुमारी नेपाली, शर्मिला गुरुङ, सोनाम छिनी गुरुङ, विनोद परियार, सुनिल परियार, न्हु आङजु गुरुङ, रमेश भट्टचन, महेन्द्र शेरचन, रमेश गुरुङ, विजय थकाली, झेवाङ तेन्जिङ गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।
पार्टीको लेखा परिषद कमिटीको अध्यक्षमा मिमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाईली र सचिवमा आइतलाल थकाली चयन भएका छन् । त्यस्तै जिल्ला निर्वाचन कमिटीको अध्यक्षमा शेर बहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा वुद्धिसिंह नेपाली रहेका छन् ।

सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नेको संख्या पचास हजार नाघ्यो !

केशब बि.क. मुस्ताङ २०७३ असोज १५ । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ र कागबेनीमा बर्षेनी हजारौँको संख्यामा नेपाल तथा भारताका तीर्थयात्रीहरु आउने गरेका छन् । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहिआएको छ । सोह्रश्राद्धको अन्तिम दिनसम्म सडक तथा हवाई मार्ग भएर मुस्ताङ आउने तीर्थयात्रीको सङ्ख्या बढेको हा । असोज १४ गते शुक्रबार सम्ममा करिब ५० हजार तीर्थयात्रीले काली गण्डकीको संगम स्थल कागबेनी पुगेर पीण्ड तर्पण गरेको पण्डित हरि सापकोटाले जानकारी दिए ।

आश्विन कृष्ण प्रतिपदा देखि सुरु भएको सोह्रश्राद्ध शुक्रबार सकिएको छ । कागबेनी आएर पीण्डदान गरे पुण्य लाभ मिल्छ रे अनि पितृ पनि खुशी हुन्छन भनेर मुस्ताङमा श्राद्ध गर्न आएको हुँ । चितवनका कृष्णराम सापकोटाले भने । उनी श्राद्ध गर्न मुस्ताङ आएका हुन् । उनी संगै १२ जनाको ग्रुप मुस्ताङमा श्राद्ध गर्न आएको छ ।
bhakta1
विगतका वर्ष देखि नै सोह्रश्राद्ध सुरु भएको दिनदेखि मुस्ताङ आउने तीर्थयात्रीको घुँईचो लाग्ने गरको छ । देशका विभिन्न ठाउँका श्रद्धालु भक्तजनहरु मुस्ताङमा पितृलाई पिण्ड तर्पण गर्न आएका छन् । पितृलाई खुःशी पार्दै पुण्य कमाउन स्याङजाका नरहरी कार्की पनि मुस्ताङ आएका छन् । कागबेनीमा श्राद्ध गरे पुण्य मिल्ने उनको तर्क छ । उनी संगै श्राद्ध गर्न आउनेको भीड पनि ठुलै छ । नेपालका हिन्दु हुन या भारतीय हिन्दु प्रत्येक वर्ष आश्विन र चैत महिनाको कृष्ण प्रतिपदा तिथिमा पितृलाई पिण्डदान गरि पुण्य लाभ लिन कागबेनीमा आउने गरेका छन् । मुस्ताङको यातयातमा भएको सिण्डिकेटको अन्त्य भएसंगै श्रद्धालु भक्तजनहरु आफ्नै ठाउँबाट सवारी साधन बुकिङ गरी अर्थात आफ्नै सवारी साधन लिएर मुस्ताङमा आएका छन् ।

गत वष भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पको कारण कागबेनीमा पितृतर्पण गर्न एकदमै न्यून मात्रामा धार्मिक पर्यटक भित्रिए पनि यस वर्ष भने त्यसमा उल्लेख्य रुपमा सुधार आएको र धेरै धार्मिक पर्यटक भित्रिएको बताइएको छ पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।

धार्मिक, आन्तरिक पर्यटकको सिजन सुरु भएसंगै यहाँका होटलहरु पनि भरिभराउ भएका हुन् । होटलहरुमा दिनानुदिन अतिथिहरुको चाप बढिरहेको होटल ब्यबसायीहरु बताउँछन् । मुस्ताङमा धार्मिक तथा आन्तरिक पर्यटकको चाप बढेपछि यहाँका फुटकर÷खुद्रा ब्यापारीहरुको व्यापार पनि सप्रिएको छ । चाडपर्वको सिजन संगै स्याउ पाक्ने र ढुवानी गर्ने सिजन भएकाले पनि मुस्ताङमा अहिले चहलपहल बढिरहेको छ ।

एमाले मुस्ताङको जिल्ला अधिबेशन : खुशी नेपाली र समृद्ध नेपाल मुख्य एजेण्डा !

केशव वि.क., मुस्ताङ, २०७३ असोज १४ । राष्ट्रको स्वाभिमान, एकता र समृद्धिका लागि संविधान कार्यान्वयन गरौँ पार्टी सांगठनिक र वैचारिक क्षमता वृद्धिका लागि अभियान संचालन गरौँ भन्ने मुल उद्घोषका साथ नेकपा एमाले जिल्ला कमिटि मुस्ताङको छैँटौँ जिल्ला अधिवेशन शुक्रवार देखि जोमसोममा सुरु भएको छ ।

पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले खुःशी नेपाली र समृद्ध नेपाल एमालेको मुख्य एजेण्डा भएकाले देश बनाउने भिजनका साथ राष्ट्र निर्माणका लागि नेकपा एमालेले अगुवाई गर्नुपर्ने बताए । देशको विकास र सबै वर्गको हकहितको पक्षमा कामगर्ने एकमात्र पार्टी एमाले भएको भन्दै तिमिल्सिनाले एमाले लाई समर्थन गर्दै सबै सक्रिय रुपमा लाग्नुपर्ने बताए ।

त्यसैगरी व्यवस्थापिका सांसद श्रीमाया थकालीले नेपाली जनताको पार्टी एमाले भएको भन्दै समृद्ध राष्ट्र निर्माणका लागि सबै एक ठाउँमा उभिनुपर्ने विचार ब्यक्त गरिन् । पैसाको चलखेलका कारण २०७० सालको निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेले पराजय भोग्नु परेको भन्दै थकाललीले पैसाको लागि आफ्नो अधिकार नबेच्न आग्रह गरिन् ।

उद्घाटन समारोहमा बोल्दै सांसद महेन्द्र शेरचनले संगठन बलियो भएमात्र पार्टी बलियो हुने भएकाले सबै पक्षलाई समेटेर अगाडी बढनुपर्ने बताए । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्द्रमोहन गौचनले पार्टीलाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै एमाले विकासवादी पार्टी भएकाले देश विकासको लागि नेकपा एमालेलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सचिव माधव पौडेल, केन्द्रिय लेखा आयोगका द्धय विद्या ढकाल र ढाकाराम अर्याल, नेकपा एमालेका पूर्व सभासद चन्द्र बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका प्रतिनीधि सुक बहादुर बि.क, भूपू सहायक मन्त्री नरबहादुर हिराचन, अनेम संघकी सचिव सुन्देवी रसाईली, निजामति कर्मचारी संगठनका अध्यक्ष मोतिलाल चपाई, नेपाल शिक्षक संगठनका अध्यक्ष प्रेम प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली काँग्रेस पूर्व सचिव रिङजिङ नामग्याल गुरुङ सहित ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटि मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षमा भएको उद्घाटन समारोहको स्वागत पार्टीका उपसचिव आस बहादुर थकाली र पार्टीका सचिव देव गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

जोमसोममा आज देखी कर शिविर संचालन हुने

केशव बि.क/ मुस्ताङ २०७३ असोज १४ । मुस्ताङको सदरमुकाम जोमसोममा आज देखी (असोज १४ र १५ गत)े कर शिविर संचालन हुने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङ र उद्योग वाणिज्य संघ मुस्ताङको सहयोगमा आन्तरिक राजस्व कार्यालय पोखराले कर शिविर संचालन गर्न लागेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सूर्य सुर्खानीको नेतृत्वमा ४ जनाको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय जोमसोममा कर शिविर संचालन गर्न लागेको कोष नियन्त्रक गोकर्णराज सुयलले जानकारी दिए ।

दुई दिन सम्म संचालन गरिने शिविरमा स्थायी प्यान नम्बर उपलब्ध गराउने, कर संकलन गर्ने र कर विवरण लिने बताईएको छ । उक्त कर शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउन कोलेनिकाले सम्पूर्ण उद्योगी ब्यवसायीलाई आग्रह गरेको छ ।

मुस्ताङ शिक्षक संघको अध्यक्षमा आचार्य !

केशव विक, मुस्ताङ २०७३ असोज १० । नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा अनन्तराज आचार्य चयन भएका छन । असोज ८ गते जनआदर्श उमावि कोवाङमा भएको नेपाल शिक्षक संघको ८ औँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
संघको महिला उपाध्यक्षमा लक्ष्मी देवी लम्साल, उपाध्यक्षमा जीवनाथ शर्मा, सचिवमा गोविन्द प्रसाद श्रेष्ठ, सहसचिवमा लोक बहादुर कार्की र कोषाध्यक्षमा सुकदेवि गौचन रहेका छन् ।

त्यसैगरी महिला सदस्यमा खुनाकुमारी न्यौपाने, सदस्यहरुमा दयाराम रेग्मी, नारायण प्रसाद तिमिल्सिना, तुलप्रसाद गौचन, खुमचन्द्र चापागाई, तुलसीनाथ सुवेदी र सनदेवी थकाली रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनीधिहरुमा रामु प्रसाद श्रेष्ठ, प्रमेश गौचन र शारदा शेरचन चयन भएका छन् । मनोनित सदस्य एवं प्रतिनीधिहरु कार्य समितिको बैठकले मनोनयन गर्ने बताईएको छ ।

लेतेमा रणनीति पत्र तर्जुमा ३ दिने कार्यशालाको आज समापन हुँदै !

केशव विक / मुस्ताङ, २०७३ असोज १० । मुस्ताङको लेतेमा आश्विन ८ गते देखि सुरु भएको महिला संस्थाको अवस्था विश्लेषण तथा रणनीति पत्र तर्जुमा ३ दिने कार्यशाला आज समापन हुँदैछ । महिला तथा बालबालिका कार्यालय मुस्ताङको आयोजना र जनजागृति महिला बहुउद्देश्यीय सहकारी संस्था लेतेको ब्यवस्थापनमा कार्यशाला संचालन गरिएको हो ।

यसैवर्ष दर्ता भएको जनजागृति महिला बहुउद्देश्यीय सहकारी संस्था लेतेको कार्य समिति र साधारण सदस्य गरी ३० जनाको सहभागितामा संचालित कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत सावित्रा शाह र महिला विकास निरिक्षक सरीता थकालीले गरेकी छिन् ।
संस्थाको सबल र दुर्बल पक्षको विश्लेषण गरी भावि रणनिति तर्जुमा गर्ने र गाविसको मुख्य समस्या सम्बोधन गर्ने गरी निति बनाउने र कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, चुनौती र सम्भाव्यताको अध्ययन गरी रणनैतिक योजना बनाउने महिला विकास अधिकृत शाहले जानकारी दिईन् ।

सो अवसरमा जनजागृति महिला बहुउद्देश्यीय सहकारीको आयोजनामा महिला पुरुष सम विकास ३ दिने तालिम संचालन गरिएको छ । सामाजिक लिंग भेदका बारेमा जानकारी गराई यसका असर प्रभाव र चुनौतीहरुको स्वमुल्याङकनको अवसर दिई विद्यमान महिला पुरुष विचको भेदभाव हटाई समतामुलक समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सशक्त अभिनयमा राम बाग्दाश !

केशव बिश्वकर्मा, जोमसोम २०७३ असोज ९ । असिमित नेपाली गीत सँगीतको बजारमा दैनिक ठूलै सँख्यामा गीत उत्पादन हुने गर्छन् । र गीतको म्यूजिक भिडियो पनि उत्तिकै मात्रामा बजारमा भित्रिन्छन् । सँगीतको क्षेत्रलाई बचाईराख्न हजारौँ कलाकर्मी लागिपरिहेका छन् ।

सँगीतकै भिडमा एउटा संघर्षशील नाम हो राम बाग्दाश । नेपाली म्यूजिक भिडियोमा मोडलको रुपमा स्थापित हुँदै गरेका धौलागिरीको एक होनहार प्रतिभा राम बाग्दाश दर्जनौँ म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।

नेपाली हाँसो, रोदन, लोक, आधुनिक जुनसुकै गीतमा पनि अभिनय गर्न पोख्त रामले आफुलाई म्यूजिक भिडियो निर्माणमा ब्यस्त राख्न थालेका छन् । जिउडालले पनि उत्तिकै साथ दिएका उनी हेण्डसम अनि शालिन देखिन्छन् । म्यूजिक भिडियोमा दर्शकले रुचाएका राम दर्शकको मायाले आफु यहाँ सम्म आएको बताउँछन् ।

म्यूजिक भिडियोको माध्यमबाट आफ्नो पहिचान र करिअर बनाउन तल्लिन राम यतिखेर काठमाण्डौँलाई कर्मथलो बनाउँदै संघर्ष गरिरहेका छन् । सँगीतको विकास विस्तार र आफ्नो सांगीतिक जीवनलाई सुःखमय बनाउँन यस क्षेत्रमा हजारौँ गायक, सर्जक, मोडल लगायत सम्पूर्ण कलाकर्मी संघर्षशील छन् ।
सँगीतको क्षेत्रलाई बचाउ गर्दै म्यूजिक भिडियोमा जम्दै गरेका राम बाग्दाशलाई सफलताको शुभकामना ।

थाक खेलकुदको उपाधि जनहित क्लव जोमसोमलाई !

केशव बिश्वकर्मा, मुस्ताङ २०७३ असोज ९ । गत असोज५ गते देखि मुस्ताङको कोवाङ गाविसमा संचालित ४६ औँ थाक भलिबल च्याम्पियनशीप रनिङ शिल्डको उपाधी जनहित युवा क्लव जोमसोमले हात पार्न सफल भएको छ । जनहित युवा क्लव जोमसोमले हट्रिक गर्दै भलिबल प्रगियोतामा रनिङ शिल्ड जित्न सफल भएको हो ।

जनहित युवा क्लव जोमसोमले सिक्स सोल्टिज क्लव घासालाई पराजित गर्दै आफ्नो प्रथम स्थान कायम गरेको थियो । त्यस्तै सिक्स सोल्टिज क्लव द्धितिय र निर्मल स्पोर्टिङ क्लव लेतेले तृतिय स्थान हासिल गरेको छ । पुरुष भलिवल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।

त्यसैगरी महिला भलिबल प्रतियोगितामा निलगिरी युवा क्लव टुकुचे प्रथम र सिक्स सोल्टिज क्लव घासाले द्धितिय स्थान हासिल गरेको छ । महिला भलिबल प्रतियोगितामा ४ समुहको सहभागिता रहेको थियो ।

खेलकुदको विकास र पर्यटन प्रवद्र्धनको लागि विगतका वर्षहरु देखिनै थाक खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएको थाक खेलकुद तथा साँस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष प्रेम प्रसाद तुलाचनले जनकारी दिए ।

विगत १२ वर्ष देखि आफु थाक खेलकुदको नेतृत्व गर्दै अन्तरनिहित प्रतिभाहरुको पहिचान र विकासका लागि खेलकुदको माध्यमबाट मुस्ताङलाई उचाईमा पु¥याउन प्रतिवद्ध रहँदै आएको अध्यक्ष तुलाचनको भनाई छ ।

४ दिनसम्म संचालित कार्यक्रममा कृषि मेला प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा विशेष साँस्कृतिक कार्यक्रम संचालन गरिएको अध्यक्ष तुलाचनले बताए ।

कसैको स्वार्थका लागि र्सविधान संशोधन गर्न हुँदैन-शेरचन

केशब विश्वकर्मा÷मुस्ताङ २०७३ असोज ३ । २०७३ आश्विन ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा मुलक भर आज विशेष कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा पनि संविधान दिवस जिल्ला समारोह समिति मुस्ताङको आयोजनामा विहान प्रभात फेरी र विभिन्न कार्यक्रम सहित सोमबार संविधान दिवस भव्यरुपमा मनाइएको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद महेन्द्र ले नेपालको संविधान २०७२ हिमाल, पहाड र तराईका प्रतिनीधिले स्वीकार गरी पारित गरेको सर्वस्वीकार्य भएको बताउँदै कसैको स्वार्थको लागि संविधान संशोधन गर्न नहुने उल्लेख गरे । संविधान कार्यान्वयनको लागि प्रतिपक्षले कुनै बाधा अवरोध नगर्ने भन्दै सांसद शेरचनले संविधानलाई संस्थागत गर्न अब १६ महिनामा ३ वटा निर्वाचन गर्नुपर्ने बताए ।

त्यसैगरी जिल्ला न्यायाधीश पिताम्बर शर्माले संविधान देशको मुल कानून र राज्यको वडापत्र भएकाले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउँदै संविधानले निर्दिष्ट गरेको संघीयताको पालना सर्वप्रथम न्यायक्षेत्रमा भएको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले मुलुकको सर्वस्वीकार्य संविधानको पालनाका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताए । उनले भने संविधान मुल कानून मात्र नभएर राज्य संचालनको सिद्धान्त र मापदण्द पनि हो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, पूर्व सांसद चन्द्र बहादुर गुरुङ, नेकपा एमालेका सचिव देव गुरुङ, नेकपा माओवादी केन्द्रका विशाल विक, नागरिक समाजका चन्द्रबहादुर थकाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संविधान दिवसलाई आश्विन २, ३ र ४ गते भब्यरुपमा मनाउने कार्यक्रम अनुरुप मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कविता वाचन, हरेक दिन साँझ दिपावली र भोली ब्याडमिन्टन प्रतियोगिता संचालन गरिने बताईएको छ ।

सो अवसरमा मैत्रीपूर्ण भलिबल खेलका बिजेता समुह प्रथम, द्धितिय र तृतिय क्रमशः नेपाली सेना, जनहित युवा क्लब र कर्मचारी क्लव लगायतका सहभागि समुह नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनकल्याण युवा क्लवका खेलाडीलाई प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रम स्थाविअ बास्तोलाको अध्यक्षता र जीवन ज्ञवालीले संचालनमा सम्पन्न भएको थियो ।

संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् । संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।

संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो । नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको दिशातर्फ अग्रसर तुल्याउनु अहिलेको प्रमुख कार्यभार हो । संविधानलाई पूर्ण कार्यान्वयनतर्फ लैजान आवश्यक पर्ने नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन गर्न दलहरु एउटै कित्तामा उभिनुपर्ने आवश्यकता छ ।

मुस्ताङमा पढाई सीपको विकास तथा प्रवर्धन कार्य सम्पन्न !

केशव बिश्वकर्मा, मुस्ताङ, २०७३ असोज २ । मुस्ताङमा नेपाल सरकार र अमेरिकी सहयोगी सँस्था यूयसएडको आर्थिक तथा प्राविधिक सहयोग तथा सहकार्यमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत शैक्षिक सत्र २०७३ का प्रारम्भीक कार्यहरु सम्पन्न भएका छन् ।

सामुदायिक विद्यालयका प्रारम्भीक कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको पढाई सीपको विकास तथा प्रर्वधनको निमित्त सँचालित कार्यक्रम अन्र्तगत जिल्ला स्तरमा १, श्रोत केन्द्र स्तरमा ५ तथा विद्यालय स्तरमा ७ वटा अभिमुखिकरण कार्यक्रमहरु सम्पन्न भएका छन् ।
उक्त अभिमुखिकरण कार्यक्रमहरुमा राप्रकपका लक्ष्य तथा उद्धेश्यहरुको बारेमा स्पष्ट पारिएको जिल्ला शिक्षाकार्यलय मुस्ताङका शाखा अधिकृत तथा राप्रकपका फोकल पर्सन लक्षमण देवकोटाले जानकारी दिए ।

उनका अनुसार विश्वका विकासउन्मुख देशका बालबालिकाहरुको पढाई सिप कमजोर रहेको साथै विशेष गरि दक्षिण एसियाका देशहरुमा नियमित स्कुल जाने २० करोड बालबालिकाहरुको सिकाईको अवस्था अत्यन्तै कमजोर रहेको पृष्ठभुमिमा मुस्ताङ जिल्लामा पनि प्रारम्भीक कक्षाहरुमा अध्ययन गर्ने बालबालिकाहरुको पढाई सिपमा सुधार ल्याउनको लागि यो कार्यक्रमको शुरुवात गरिएको हो ।

पहिलो चरण अन्र्तगत कार्यक्रमले जिल्लामा शिक्षासँग सरोकार राख्ने सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्दै आगामी शैक्षिक सत्र देखि जिल्ला भरिनै सघनरुपमा यसका गतिविधिहरु सँचालन गरिने जिल्ला शिक्षा अधिकारी एवं जिल्लास्थित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम समन्वय समितिका संयोजक केशरीरमण न्यौपानेले जानकारी दिए ।

प्रारम्भिक कक्षामा अध्ययन गर्ने बालबालिकाहरुमा प्रयाप्त पढाई सिपको विकास गर्न सकेमा समग्र विषयहरुमा अपेक्षीत सिकाई उपलब्धी हाँसील गर्न सकिने र जसको लागि मातृभाषाको माध्यमबाट अध्यापन कार्यमा बढवा, ब्यवस्थापन समिति, समुदाय तथा परिवार स्तर सम्म पढाई सिपलाई विकास गर्नका निमत्त उपयुक्त बातावरण निर्माण गर्नु पर्नेमा प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक बुद्धि बल थापा मगरको भनाई छ । सहयोगी सँस्था युएसआईडीको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यालय मुस्ताङ तथा आरटिआई ईन्टरनेशनलको समन्वयमा मुस्ताङ लगायतका १६ जिल्लामा कार्यक्रम संचालन भैरहेको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।