Tag Archives: काठमाडौ

gyanendra1310048644

पूर्व राजा ज्ञानेन्द्रले शुभकामना सन्देश मार्फत उठाए ६ गम्भीर प्रश्न !

हाम्रो धर्म, संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौँ -पूर्व राजा ज्ञानेन्द्र

काठमाडौ २०७३ असोज २२ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले भनेका छन् नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो । हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं उल्लेख गर्दै सन्देशमा राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व भएको बताएका छन् ।

बडादसैंको अवसरले हाम्रो रीतिथिति, संस्कृति, धर्म, परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्व सबल पार्ने उल्लेख गर्दै राजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।

बितेको दशकमा अपराध र अपराधीकरणलाई निरुत्साही गरियो या जनताका निम्ति केके गरिए त्यसको समीक्षा गर्न विलम्ब भइसकेको बताउदै शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले

बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनता अन्त्य गरी जनमुखी शासन–प्रशासन प्रारम्भ गरियो त ? विकास निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ? परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थरक्षा गरियो त ? घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ? ’ भन्ने गम्भीर प्रश्न गरेका छन् ।

आफ्नो वक्तव्यको अन्त्यमा राजा ज्ञानेन्द्रले नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधैं कायम राखी देशका लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।

Untitled

श्रमिकबिरोधी कानुनको बिरुद्धमा श्रमिकहरु सडक आन्दोलनमा जाने !

काठमाडौ, २०७३ असोज २२ । श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध लगाउने गलत प्रस्ताव नसच्याईए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) द्धारा मर्यादित कामका लागि विश्व दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष विष्णु रिमालले भने, ʽपहिलो यो नीतिगत कुरा हो । नीतिगत कुरालाई नीतिगत तहमा नै यसको प्रतिबाद गर्नुपर्छ । राष्ट्रपतिज्यूलाई फिर्ता गर्न मिल्नेसम्म फिर्ता गरिदिनुस् भन्ने आग्रह गर्छौं । बिधिले नमिल्ने रहेछ भने यो संशोधनको प्रक्रियामा जान्छ । नीतिगत तहभन्दा बाहिर श्रमिकलाई परिचालित गर्ने काम हामी छोड्दैनौं ।ʼ

वार्ताबाट धेरै कुरा हल हुने आशा लिएको बताउँदै उनले भने ʽवार्ताबाट समस्या समाधान भए सडकमा जानु परेन । वार्ताले तलमाथि पार्यो भने सडकमा जानुपर्ने परिस्थिति आउनसक्छ ।ʼ

कार्यक्रममा दशवटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष खिलानाथ दाहालले संसदबाट पारित औधोगिक व्यवसाय सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयक २०७१ सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनहरुसँग समन्वय नगरी एकतर्फीरुपमा संसदबाट पारित कानुनमा बिमति जनाए । बन्द हड्ताल र नो वर्क नो पे सम्बन्धमा गरिएको व्यवस्था अमान्य भएको भन्दै उनले सो दफा हटाउन माग गरेका छन् ।

उनले भने,ʽश्रम बिरोधी औधोगिक व्यवसाय ऐनलाई पूर्णत अस्विकार गर्दै अन्तराष्ट्रिय श्रम संगठनमा मुद्धा दायर गर्ने प्रकृया अगाडि बढाउने र दबाबमूलक कार्यक्रम संचालन गर्न बाध्य हुनेछौं । श्रम बिरोधी दफा नहटाई लागु गर्न खोजिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति राज्य पक्ष र राजनैतिक दल जिम्मेवार हुनुपर्नेछ ।ʼ

कार्यक्रममा जिफन्टले मर्यादित कामका सन्दर्भमा वृत चित्र प्रस्तुत गर्नुका साथै यसै दिवसका अवसरमा मर्यादित कामका सन्दर्भमा देशव्यापी प्रचार सामाग्री पुर्याएको जानकारी दिएको थियो ।

bal sarathi

अस्मिता सुमार्गी बाल सारथीको अध्यक्षमा निर्वाचित !

काठमाडौँ २०७३ असोज १३ । बाल सारथिको सप्पन्न निर्वाचनमा समाजसेवी अस्मिता सुमार्गी निर्विरोध निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा कमला ओली, महासचिवमा भावना ढुङ्गेल, सचिवमा रेखा बस्ताकोटी र कोषाध्यक्षमा दीपा प्याकुरेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः रमा उप्रेती र दक्षा अर्याल निर्वाचित भएको कुरा निर्वाचन अधिकृत राधेश्याम लेकालीले सम्प्रेषण गरेको विज्ञप्तिमा उल्लेख छ ।

सस्थाको १० औ साधारणसभाले दुई बर्षको लागि निर्वाचित गरेको नव कार्यसमितिका अध्यक्ष सुमार्गीले सबै सदस्यहरुलाइ धन्यवाद ज्ञापन गर्दै सस्थाको उन्नयन र विकासको लागि विभिन्न रचनात्मक योजनाहरु गर्ने बताईन् । यस अघि पुर्व अध्यक्ष माला खरेलले सस्थाको गतिविधि र कार्ययोजनाबारे र कोषाध्यक्ष रमा उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

साधारणसभाले वरिष्ठ समाजसेवी एव उद्योगपति अजेय सुमार्गी र पुर्व अध्यक्ष माला खरेललाइ सस्थाको सरक्षकमा मनोनयनसमेत गरेको छ । सरक्षक माला खरेल बालसारथी एकेडमीका अध्यक्ष पनि हुन् ।

कार्यक्रममा अध्यक्ष अस्मिता सुमार्गी, उपाध्यक्ष कमला ओली, पुर्व अध्यक्ष माला खरेल, सल्लाहकारहरु नवराज लामिछाने र राजन घिमिरे, निर्वाचन
अधिकृत राधेश्याम लेकालीलगायतले मन्तब्य राखेका थिए।

बाल सारथिले ७५ जना सडकका बालबालिकालाई पढ्ने ब्यवस्था, बागमती सफाइ अभियानमा निरन्तर योगदान गर्दै अन्य विभिन्न सामाजिक दायित्व वहन गर्दै
आएको छ । यो सस्थाले पशुपति क्षेत्रलाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियानमा समेत जुटेको छ ।

king gyanendra

भैरवसँग खड्‌ग साट्दै पूवराजा ज्ञानेन्द्र

काठमाडौं: २०७३ असोज १० । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएको अन्नपूर्णपोष्टले खबर छापैको छ ।

मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्सेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन् ।

२०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रुपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् ।

घ्याम्पोमा पचली भैरवको ठूलो आकृतिको मूर्ति हुन्छ भने यसको माथि पाथीजस्तो आकारमा भैरवकै पत्नीको सानो मूर्ति रहन्छ । तामामा सुनको लेपन गरेर बनाइएको घ्याम्पो निर्माणमा २६ लाख रुपैयाँ खर्च लागेको छ । ‘कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन’, कूल परम्परा धान्न गोजीको खर्च गर्दै आएको जानकारी दिँदै थकुजुजु जयराम मल्लले अन्नपूर्णसँग भने ।

उनका अनुसार घ्याम्पो निर्माणलगायत जात्रा सञ्चालनका लागि संस्कृति मन्त्रालयलाई जानकारी गराउँदा कुनै प्रतिक्रियासम्म दिएन । उनले भने, ‘त्यसपछि घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रलाई निवेदन गर्‌यौं । तत्कालै मौखिक आश्वासन दिनुभएको थियो । निर्माण भएर आएकाले आज शनिबार स्थापना गर्‌यौं ।’

कूलको परम्परा धान्दै आएकाले कतिपय काममा गोजीकै खर्च भइरहेको गुणकामदेवका सन्तान जयरामले बताए । उनले घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिको उपस्थिति उदाहरणीय हुने भए पनि सरकारी बेवास्ताका कारण आफू पछि सरेर पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरेको बताए । एकपटक जात्रा सम्पन्न गर्न साढे तीन लाखजति खर्च लाग्छ भने गुठी संस्थानले ४० हजार रुपैयाँमात्र दिँदै आएको छ ।

‘भाषण गर्ने बेलामा मन्त्री र नेताहरू सम्पदा नेपालको सम्पत्ति भन्छन् तर स्थानीयको पहलमा समेत कुनै प्रतिक्रियासम्म दिँदैनन्, योभन्दा विडम्बना के हुन्छ ? ‘ थकुजुजु मल्लले थपे, ‘हामी संस्कृति मास्न चाहँदैनौं, जसले सहयोग गरे पनि संस्कृति जीवित हुनुपर्‌यो । २०५८ र अहिले पनि ज्ञानेन्द्रले नै गर्नुभयो । उहाँले संस्कार बचाइदिनुभयो, त्यसैले असोज १६ गतेको दर्शन र पूजाआजाका लागि उहाँलाई निम्ता गरेका हौं ।’

अलौकिक शक्ति मानिने पचली भैरवको प्रत्येक १२ वर्षमा खड्गसिद्धि जात्रा हुन्छ । उक्त अवसरमा राजाहरूले तरबार साट्ने गर्थे । ‘जात्राका क्रममा पचली भैरव अर्थात् गठु प्याखसँग श्री ५ (राजा) सवारी भई पचली भैरवको खड्गसँग आफ्नो खड्ग साट्ने गर्छन्, अब हुने यो जात्रामा पनि ज्ञानेन्द्र शाहले खड्ग साट्नुहुनेछ’, थकुजुजु जयराम मल्लले भने ।

नुवाकोटका ठकुरी राजा गुणकामदेवले आफ्ना पूर्वज ठकुरी राजा शिवदेव भैरवका रूपमा सिद्ध भएकाले भैरव आजु (पूर्वज) का रूपमा काठमाडौंमा पचली भैरव स्थापना गरेका हुन् ।

पुरातत्त्व विभागका पूर्वमहानिर्देशक खड्गमान श्रेष्ठका अनुसार राष्ट्रिय अभिलेखालयमा सुरक्षित ग्रन्थ ‘उल्लेखत’ मा यो लेखिएको छ ।

पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ । हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिवलिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै पूजा यहाँ नभए पनि तान्त्रिक दृष्टिले शिवको संहारका रूपमा पचली भैरवको पूजा गर्ने परम्परा छ । उनी महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसँग बास गर्ने देवका रूपमा पनि पुजिन्छन् ।

bessball

बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुने !

तजबिज खबर, बागलुङ २०७३ असोज ८ । सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुन लागेको छ । द गोर्खा क्र्यु क्लवको आयोजनामा असोज ११ गते द गोर्खा क्र्यु बेसवल प्रतियोगिता २०१६ हुने भएकोले बेसवलले नेपालमा पनि मुर्त रुप लिने विश्वास गरिएको हो ।

१५ वर्ष उमेर समुहका विच खेलाईने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । नकआउट चरणमा खेलाईने खेल जुनियर लिगको नियमानुसार ५ इनिंगमा खेलाईने छ ।

नेपाल बेसवल तथा सफ्टवल संघ, गोलपोष्ट, सिंगापुर इन्टरप्राईजेज को सहयोगमा हुने उक्त प्रतियोगिताका खेलहरु अमेरीकी राजदुतावासको खेल मैदान फोहरा दरवार, पाटन संयुक्त क्याम्पस, नेपाली सेना लगनखेल र पुल्चोक क्रिकेट मैदानमा हुने क्लवका अध्यक्ष दिनेश बजगाँईले जानकारी दिए ।

यस प्रतियोगिताले नेपालमा वेसवल को दक्षता प्रदर्शन भई खेलको विकास एवम् विस्तार हुन सहयोग पुग्ने पनि बजगाँईले वताए । यस प्रतियोगितालाई सहयोग गर्न संयुक्त राज्य अमेरीकाबाट प्रतिनिधि मण्डल समेत आउने भएका छन् ।

Thamel tourism board

एक दुई जनाले गर्दा ठमेलको बदनाम भयो -थपलिया

काठमाडौँ २०७३ असोज ४ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले परिषद्का केहि गलत व्यक्तिहरुले परिषद्का विषयमा कु–प्रचार गरेर परिषदको बदनाम गरेको बताएका छन् ।

एक दुई जनाले गर्दा ठमेलको बदनाम भएको राजधानीमा सोेमबार पत्रकार सम्मेलन गरेर थपलियाले ठमेलमा बल प्रयोग गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने मानसिकता भएका बताएका हुन । आफूले गरेका विगतका कार्यहरुको विषयलाई लिएर केहिले आफ्नो विरुद्धमा घोेर सड्यन्त्र गरेको बताउँदै थपलियाले भने, ‘ठमेलको विकासका लागि मलाई विच सडकमा कसैले गोगी हान्छ भने मर्न तयार छु तर ठमेलको विकासमा कुनै पनि सम्झैता गर्न सक्दिन ।’

ठमेल पर्यटन विकास परिषद् संघ–संस्था ऐन–२०३४ अनुसार स्थापित भएको संस्था भएकोले यो संस्था विधि विधान अनुसार चल्ने र केहि व्यक्तिहरुले आफ्नो पकेटवाट चलाउन नमिल्ने उनको भनाई छ । ‘म कुनै व्यक्तिको पुजारी हुन सकिन–अघिल्लो पटकको निर्वाचनमा पराजित भएको समुहले मेरो विरुद्धमा प्रतिशोध साँधेको मात्र हो यसमा मेरो घोर आपक्ति छ’ थपलियाले भने ।

यस्तै, अध्यक्ष थपलियाले आफू विरुद्ध परिषद्का चार सय अड्चालिस सदस्यहरुको दुई तिहाई हस्ताक्षर ल्याएर आँफुलाई हटाएर देखाउन पनि चुनौति दिएका छन् । आँफु ठमेलको विकासका लागी रातदिन लागिपरेको देखेर विरोधिहरु तर्सिएको बचाउदै उनले भने, ‘म ठमेलका घर धनी र व्यावसायीहरुको हकहितमा संधैभरी लागि पर्ने छु, मलाई राति जतिखेर बोलाउँदा पनि सदस्यको हकहितका लागि लागीरहने छु ।’

उक्त पत्रकार सम्मेलनमा ठमेलको विकासका लागी सरकारी निकायसंग समन्वयमा काम भैरहेको बताउँदै विकासको गतिले छिट्टै तिब्र रुप लिने उनको भनाई थियो । यस अगाडी असोज २ मा तोकिएको साधारणसभा परिषदकै बहुमत सदस्यहरुकै सहमतिमा स्थगित गरिएको थियो । यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराई सकिएको परिषदले बताएको छ ।

sambidhan 2072

आज संविधान दिवस : मुलुकभर हर्षोल्लासपूर्वक मनाईदै !

बागलुङ २०७३ असोज ३ । । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा मुलक भर आज विशेष कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाइँदैछ । बागलुङ जिल्ला सदरमुकाममा पनि विहान प्रभात फेरी सहितका कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाईदै छ ।

संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूर्ण रहेको छ । यद्यपि संविधानका अन्तरवस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा रहेका छन् । संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ ।

संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् । संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो । नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको दिशातर्फ अग्रसर तुल्याउनु अहिलेको प्रमुख कार्यभार हो । संविधानलाई पूर्ण कार्यान्वयनतर्फ लैजान आवश्यक पर्ने नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन गर्न दलहरु एउटै कित्तामा उभिनुपर्ने आवश्यकता छ ।

संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने तथा प्रादेशिक पहिचानसहितको एकल सङ्घीय नागरिकता हुने प्रावधान संविधानमा व्यवस्था गरिएको छ । आमा वा बाबुको नामबाट लैङ्गिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था संविधानमै किटान गरिएको छ ।

नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा संविधानमा व्यवस्था गरिएको छ । नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, सञ्चार, न्यायका साथै यातनाविरुद्ध, निवारक नजरबन्दविरुद्ध, देश निकालाविरुद्ध, छुवाछूत तथा भेदभावविरुद्धको हक पनि सुनिश्चित भएका हुन् ।

सामाजिक वा सांस्कृतिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासीलगायत अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको संरक्षण, विकास र सशक्तीकरण गर्न विशेष व्यवस्था गर्न सक्ने सकारात्मक विभेदको व्यवस्था छ ।
नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तह तथा प्रदेश तहमा सात प्रदेशको व्यवस्था संविधानले सुनिश्चित गरेको छ । राष्ट्रपति राष्ट्राध्यक्ष हुने, कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने, राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुनुपर्ने, कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्रीमा नियुक्त हुन नपाउने संविधानले प्रत्याभूत गरेको छ ।
रासस

Kamal-Thapa 1

दलहरुवीचको तिक्तताले संविधानको कार्यान्वयनमा थप जटिलता खडा गरेको छ -थापा

संबिधानको सफल कार्यान्वनमा राप्रपा नेपालले रचनात्मक सहयोग गर्ने अध्यक्ष थापाको स्पष्टोक्ति !

तजबिज खबर/काठमाडौ २०७३ असोज २ । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले संबिधानको सफल कार्यान्वनमा राप्रपा नेपालले रचनात्मक सहयोग गर्ने बताएका छन् ।

संबिधान जारी भएको वर्ष दिन पुरा भएको अवसरमा एक बक्तव्य प्रकाशित गर्दै अध्यक्ष थापाले अत्यधिक बहुमतद्वारा संबिधान पारित भएपछि प्रजातांत्रिक मुल्य मान्यता अनुरुप आफ्ना बिचारप्रतिको निष्ठा कायम राख्दै राप्रपा नेपालले संबिधानलाई आलोचनात्मक समर्थन गरेको उल्लेख गरेका छन् ।

वक्तव्यमा संबिधान जारी भएको नौ महिना भित्रमा नै सत्ताकेन्द्रित फोहोरी प्रतिस्पर्धा दोहरिएबाट नंया संबिधानले समेत राजनीतिक स्थिरता प्रदान गर्न नसक्ने नकारात्मक सन्देश प्रवाहित भएको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक दलहरुका बिचमा हाल सिर्जना भएको तिक्तता र असमझदारिले समेत संबिधानको कार्यान्वनमा थप जटिलता खडा गरेको बताएका छन् ।

उनले संविधानले नेपाली जनताको चाहना अनुरुप सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरणमा ठोस योगदान पु¥याउन सक्नु पर्दछ भन्दै नंया संबिधान बनेपछि देशमा स्थिरता कायम हुने, प्रजातन्त्र बलियो हुने र देशमा तीव्र गतिले आर्थिक बिकास हुने जनताको आशा र बिश्वास निराशा र अविश्वासमा परिणत हुने खतरा समेत देखा परेको बताएका छन् ।
अध्यक्ष थापाव्दारा जारी प्रेर बक्तव्य यस प्रकार छ –
kama thapa press

tantra

तन्त्र विना संस्कृति, पूजा पद्धति अनि हाम्रो धर्मकै अस्तित्व रहन्न: जोशी

तजबिज खबर/ काठमाडौँ २०७३ असोज १ । समाजमा तन्त्र विषयको नकारात्मक टिप्पणी र भ्रम सिर्जना भएकै बखत तन्त्र विज्ञान नामक पुस्तक वजारमा आएको छ । तन्त्रविद् डा. मिलनकुमार थापाद्धारा लिखित पुस्तक तन्त्र विज्ञान असोज १ विश्वकर्मा दिवसकै दिन संस्कृति विद् सत्यमोहन जोशी, प्रा.डा वेणि माधव ढकाल र दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेल र जर्नेल बालकृष्ण कार्कीले विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्कृतिविद् सत्यमोहन जोशीले तन्त्र विना संस्कृति, पुजा पद्धति अनि हाम्रो धर्मकै अस्तित्व नहुने भएकाले यसलाई भावी पुस्ताले समेत ग्रहण गर्नुपर्ने र पुस्तकको माध्यमले त्यसको लागि प्रेरणा मिलेको वताए ।

अन्धविश्वास र कुरीति भन्ने गरेको तन्त्रलाई यस पुस्तकले आम जनमानसमा झारफुक र ढ्याग्रो बजाउने मात्र नभई तन्त्र पद्धतिले सभ्य समाज र मानव हितका लागि सहयोग पु¥याउने कुरा पुस्तकका सम्पादक हरि सोडारीले बताए ।

नेपाली भाषामा तन्त्र सम्वन्धि ग्रन्थको अभाव अनि तन्त्र साधकहरु आफैं भ्रममा परिरहेको अवस्थामा यो पुस्तक तन्त्रको क्षेत्रमा कोसे ढुंगा सावित भएको र यो एक तन्त्र ग्रन्थकै रुपमा परिचित हुने पनि प्रा.डा वेणि माधव ढकालले टिप्पणी गरेका थिए । दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले तन्त्र र ज्योतिषको क्षेत्रलाई सुब्यवस्थित र सभ्य वनाउन यस भित्रको विकृति हटाइनुपर्ने आवश्यकता रहेको सन्देश दिए ।

तन्त्र विज्ञान टेलिभिजन कार्यक्रम पनि निरन्तर सञ्चालन हुदै लोकप्रिय वनेको र यस पुस्तकले झनै सहज वनाएको तन्त्र विज्ञान टेलिभिजन कार्यक्रमका निर्देशक कृष्णमुरारी पुडासैनीले वताए ।
दिनप्रतिदिन सकारात्मक प्रयोगको सन्देशले आम युवामा पनि तन्त्र प्रतिको भ्रम हटेको र नकारात्मक प्रयोगमा निरुत्साहन गर्दै तन्त्रको प्रभाव वढाउन आफ्नो संस्कृतिको शहि र वास्तविक अर्थ बुझि पद्धति अपनाउन जरुरी रहेको पनि पुडासैनीले वताए ।

पुस्तकका लेखक तन्त्रविद् डा. मिलनकुमार थापाले बोक्सीको आरोप, मानव वलि देखि तन्त्रको विषयलाई लिएर दिनानु दिन सञ्चार माध्यममा नकारात्मक समाचारले आफु दुखि भएको र सरकारले जिम्मा दिएमा पाँच वर्षमा त्यसलाई निमिट्यान्न पार्न सक्ने समेत क्षमता आफुमा भएको दावी गरेका थिए । तन्त्रको नकारात्मक खवर मात्रले भ्रम सिर्जना भएको र तन्त्रको असल प्रभाव वारे कसैले खोजी नगरेकाले तन्त्रको यो हालत भएको पनि थापाको भनाई थियो ।

श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर र मुनक्विन सिमसन फाउण्डेशनको आयोजना भएको कार्यक्रममा फाउण्डेशनका संस्थापक व्दय मुनक्विन थापा र सिमसन थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गरेका थिए भने अध्यात्म संगै अन्य क्षेत्रमा सेवा गर्ने महानुभावहरुलाई समेत सम्मान गरिएको छ ।

nooooooo

एसएलसीमा उत्कृष्ट विद्यार्थी सम्मानित !

माधव अधिकारी, काठमाडौँ, २०७३ भदौ २२ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन –(नेशनल प्याब्सन),काठमाडौँले बुधबार २०० सदस्य विद्यालयका एसएलसी परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।समारोहमा प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ्गले उत्कृष्ट छात्र छात्रालाई पदक प्रदान गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री गुरुङ्गले देशलाई चुनौतिबाट जोगाउन विद्यार्थीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्नुपर्ने बताए ।

विशिष्ट अतिथि नेशनल प्याब्सन,केन्द्रीय कार्यसमिति अध्यक्ष कर्णबहादुर शाहीले समग्र शिक्षालाई दूरदृष्टि प्रदान गर्ने दिशामा संस्थागत विद्यालय क्रियाशील रहेको बताए ।
सोही अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जयराम तिमिल्सना प्रथम,रेश्मा अधिकारी द्वितीय,रिया सापकोटा तृतीय र स्वस्तिका रञ्जितकार चतुर्थ भएका थिए । नेशनल प्याब्सन),काठमाडौँका अध्यक्ष सीपी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु पराजुलीले गरेका थिए ।
कार्यक्रमको संयोजन ग्रिन फिल्ड नेशनल स्कूलका प्रिन्सिपल खडक बस्नेतले गरेका थिए ।