Category Archives: लेख/रचना

यो तीजमा ………….!

सवै चेलि जादैछन् माइत अामा
अाइन छोरी नभने मलाई त अामा
यो तीजमा यस्तै भो हेर।अामा मन बुझाउ नमान है पिर !
***
टाढा भए पाउदिन अाउनलाई अामा
मेरो लागि पर्दैन धाउनलाई अामा
यो तीजमा यस्तै भो हेर अामा मन बुझाउ नमान है पिर !
***
खान मीठो थियो नि रहर अामा
तिम्रो हातले पकाएको दर अामा
यो तीजमा यस्तै भो हेर अामा मन बुझाउ नमान है पिर !
***
जति छोरी भएनि यस्तै हो अामा
चाडबाड अायो तिम्रो मन दुःखी भो अामा
यो तीजमा ………….!

सुशिला पन्त,
चितवन

बाबुको मुख हेर्ने दिन : ईश्वरका साक्षात् प्रतिमूर्ति हुन् बाबु–आमा !

–दीपक सुवेदी

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो÷यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ । हुनलाई यस्ता सवालहरूमा ज्येष्ठनागरिक अधिकारको विषय उठाएर काम गर्ने निकायहरू पनि छन् । तथापि आधुनिकताको नाममा शिक्षामा व्यवहारिकरण नहुनाले तथा माटो अनुसारको नभएर पराश्रित मानसिकतामा आधारित पराईको तर्जुमाको शिक्षा नीतिको सञ्चालन हुँदा यस्ता समस्याहरू निराकरण भन्दापनि उत्पादन बढी हुनेक्रम जारी छ । व्यवहारिक शिक्षा र पराविद्या पलाएन हुने र अपरा तथा आयातित अव्यवहारिक विद्यार्जनमा जोड गराइने हुँदा यी समस्या दिनानुदिन बढ्दै गएका छन् ।

भलै बाबु–आमाको लौकिक शिक्षा होस वा नहोस अथवा बाबु–आमा सांसारिक एवम् भौतिक रूपमा कुनै पनि अवस्थामा किन नहुन् यदि सन्ततीले आफ्ना बुबा–आमालाई ईश्वरको रूपमा श्रद्धा, आदर–सम्मान र सेवा गर्यो÷गर्छ भने बुबा–आमाको माध्यमबाट उसले ईश्वर साक्षातकार गर्नसक्छ । यसर्थमा बुबा–आमालाई ईश्वरका प्रतिमूर्ति मानिन्छ र सोही अनुरूप उहाँहरूप्रति व्यवहार गर्नुपर्छ । हाम्रा सनातन शास्त्रले पनि ‘मातृदेवो भवः पितृदेवोभवः’ भनेर हामीलाई मार्गदर्शन गरेका छन् । मातृदेवो भवः पितृदेवो भवः को धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा र सभ्यता बोकेको यो सनातन भूमिको मौलिकता नै हो । यो सभ्यताको आज विश्वले नै अनुकरण गरिरहेको छ । विश्वको माथ सगरमाथा रहेको यो सनातनभूमि, धर्मभूमि, योगभूमि, तपोभूमि, ज्ञानभूमि, देवभूमि, बुद्धभूमि, गुरुभूमि तीर्थमयी नेपाललाई ‘मातृदेवो भवः पितृदेवो भवः’को यो संस्कृतिको महत्त्वको सन्देशलाई विश्वभरी प्रवाहित गर्ने जिम्मेवारी रहेको छ ।

जसले आमा–बुवाप्रतिको कर्तव्यबोध गर्न सक्तैन उसको जीवन पशुसमान हो । कुनै पनि व्यक्ति, पुस्ता वा पीँढी मातापिताको आर्शिवादबाट बञ्चित हुनपुग्यो भने त्यसले आफ्नो अस्तित्त्व बचाउन सक्तैन, फलस्वरूप किंकर्तव्यविमूढ हुन पुग्दछ । मनोवैज्ञानिक विश्लेषणमा पनि कति यस्ता निस्कर्षहरू निस्किन्छन् कि बाबु–आमाप्रतिको दायित्त्वबाट च्युत हुनपुगेको सन्तानमा पछि गएर विभिन्न खालका मानसिक एवम् सामाजिक र व्यवहारिक तथा भौतिकसमेतका समस्याग्रस्त अवस्था सृजना भइरहेका छन् । पश्चिमी जगतका विद्वानहरूले पनि पूर्वीय वाङ्मयमा रहेको यो मातृ–पितृभक्ति तथा आदर–सम्मानको धर्म–दर्शन र संस्कृति व्यवहारिक, वैज्ञानिक, सामाजिक र मानवीयतापरक रहेको कुरालाई स्वीकार्दछन् ।

भौतिक व्यस्तताको नाममा आज विश्वका करोडौं बाबु–आमाहरू सन्ततीसुःखको न्यानो घामबाट बन्चित हुनेक्रम बढेर गएको छ, जुन मानवसभ्यताको लागि ठूलो चिन्ताको विषय बनेको छ । सन्तान भएर पनि आमा–बुबाहरू अपुततुल्य भइ बृद्धाश्रमको शरण लिनपर्ने बाध्यता सृजना हुँदैगएको छ, जुन कुरा हाम्रो धर्म तथा संस्कृतिपरक छैन । एकातिर मातृपितृको जिम्मेवारीबाट विमुख हुँदै गएको वर्तमान पुस्ताले गम्भीरताको साथमा सोँच्नपर्ने स्थिति आएको छ भने अर्कोतर्फ आधुनिकता तथा भौतिक विकासको नाममा आफ्नो धर्म, दर्शन, संस्कृति, परम्परा, संस्कार र सभ्यतामा खलल आउन नदिइकन तथा विपरित हुननदिइकन आफ्नो समाज तथा जीवन पद्धतिलाई कसरी समयानुकूल गराउने र कसरी विकासगतिलाई अवलम्बन गर्ने भन्ने विषयमा चिन्तनमनन् गरी उपयुक्त मार्ग तय गर्न अपरिहार्य देखिएको छ । सृष्टिको पनि आदिशक्ति माता भगवती र परमपिता हुनुहुन्छ, तीनै शाश्वत सनातन आदि माता पिताका प्रतिकका रूपमा हामीले आफ्ना यस जन्मका बाबुआमालाई साक्षात ईश्वरका रूपमा सेवा, सत्कार, आदर–सम्मान गर्नपर्ने कारणबाट मनसा वाचा कर्मणा च्युत हुनुहुन्न । यदि च्युत भईयो भने त्याहाँ भन्दा धिक्कार हुनपर्ने अर्को स्थान र अवस्था रहँदैन ।

कुनै पनि समयमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको समस्या, कठिनाई, दुःख चाहे त्यो आदिदैविक वा आदिभौतिक वा आध्यात्मिक कुनै किन नहोस पर्यो र निस्पट्ट भयो, कतैबाट पनि सो समस्याबाट मुक्तिमिल्ने कुनै उपाय भेटिएन–देखिएन, निकै नै आकुलव्याकुलता छायो, होसहवास उड्ने अवस्था भयो भने पनि यदि यस्तो समस्यामा पर्ने व्यक्तिले जीवनमा मातृ–पितृप्रतिको दायित्तवमा कर्तव्यबाट चुकेको छैन, प्राकृतिक रूपमा (विना चाप्लुसी) आमा–बुवाको सेवा, सत्कार, श्रद्धा र सद्भाव गरेको छ÷थियो भने सो सत्पुत्र÷पुत्रीलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा मातृपितृ आर्शिवाद मिल्दछ र कष्ट निवृति हुन्छ । जस्तै नाजुक अवस्थामा भए पनि आवश्यक स्रोत जुट्नै कर लाग्छ । कुनै रोगले ग्रस्त पार्दा पनि रोगमुक्ति हुन्छ, अकाल मृत्यु टर्छ, कथमकदाचित असाध्य रोगबाट ग्रसित भइ देहत्याग गर्नुनै पर्ने भएमा पनि मोक्षगति प्राप्त हुन्छ । यस प्रकारको शक्ति आमाबाबुको सेवा, भक्तिमा रहेको हुन्छ ।

पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो । उपर्युक्त चर्चाबाट पनि मातापिता देवतुल्यताको भावना आइसक्यो । यद्यपि कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन । एउटा सन्देशात्मक विशेषतालाई महत्त्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले । यो सांस्कृतिक विशेषता विस्तारै नेपालको गौरव बनेर विश्वभरी फैलिँदै गएको यथार्थलाई विश्वले स्वीकार गरेको छ । शुरुमा नेपालमा पनि नेवार समुदायमा रहेको यो संस्कृति विस्तारै सबै समुदाय हुँदै विश्वमा पुग्नु राम्रो संस्कृतिलाई सबैले स्वीकार गर्छन् भन्ने सकारात्मक तथ्यको प्रमाणित सन्देश हो ।

सृष्टिको स्रोत अखण्ड सत्ताको जुन धारा छ सो यो खण्डमय संसारमा पनि अविछिन्नरूपमा लागू भएको छ । त्यही धाराको आस्वादन र अनुभूति हामीले मातापिताबाट पाउनसक्छौ । भन्नाको तात्पर्य जसरी अखण्ड महात्माबाट सृष्टिको प्रक्रिया शुरु भयो त्यही प्रक्रिया तथा पद्धति यो अहिलेको खण्डमय संसारमा बाबुआमा, आफू हुँदै भावी सन्तती तर्फ उन्मुख हुन्छ, सिद्धान्त र पद्धति एउटै हो । आफ्ना बाबुआमामा ईश्वरी अंश देख्न र अनुभूति गर्नसक्ने सन्ततीले साक्षात् परब्रह्मपरमात्मासम्म पुग्ने मूलको धारोको मार्ग समात्नसक्छ र सो मार्गमार्फत अघि बढेमा साधनाको पुरुषार्थले आफ्नो जीवन कृतार्थ गराउनसक्छ भन्ने तात्त्विक मर्म जोडिएको छ यो पितासम्मान दिवससँग ।

समष्टिमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन आमावश्याले दिँदै आएको छ । यी दिनमा गरिने मातृश्रद्धा तथा पितृश्रद्धाको भाव सदासर्वदा अक्षुण राख्नसक्नु सत्पुत्रपुत्रीहरूको दायित्त्व हो । सबै आमा–बुबाहरूमा आजको यस पावन पितृदर्शन आमावश्याको दिनको शुभअवसरमा सादर दण्डवत् । अस्तु,
deepaksubedichintak@yahoo.com

पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र !

देवराज पुरी

पर्वत जिल्लामा आधारभुत खानेपानी तथा सरसफाईको पहुँच शत प्रतिशत पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न गाविसहरुलाई पूर्ण सरसफाई नमूना गाउँ बनाउने कार्यक्रमहरु सघन रुपमा संचालन गरिएको छ । जिल्ला विकास समिति , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत , जिल्ला खानेपानी तथा सरसफाई डिविजन कार्यालय, पर्वत लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट पूर्ण सरसफाई अभियानले तिब्रता पाएको हो ।

पर्वत जिल्लामा सरसफाईको इतिहासलाई हेर्दा पहिलो खुल्ला दिसा मुक्त वार्ड बर्राचौर गाविसको वार्ड नं. ३ घोषणा भएको र पहिलो खुल्ला दिसा मुक्त गाविसको रुपमा रानीपानी रहेको छ । खुल्ला दिसा मुक्त अबस्थाको दिगोपनाका गतिविधिहरु निरन्तर गरिनु पर्छ । अन्यथा खुल्ला दिसा मुक्त घोषणा गर्दैमा सँधै सरसफाईको अबस्था बलियो भइरहने हुदैन । त्यसैले खुल्ला दिसा मुक्त पछिका गतिविधिहरु निरन्तर भइरहेमा सरसफाईको स्तर उन्नती हुन सक्दछ । समाज प्रगतिशिल सभ्यता तर्फ उन्मुख हुन सक्छ । सफा घर ,बस्ती ,टोल , गाउँमा बस्ने ब्यक्तिहरुको चिनारी निरागी , सकारात्मक सोंचका , सभ्य ब्यक्ति भनेर उदाहरणीय रुपमा हुन सक्छ । त्यसकारण सफा गाउँ बनाउने गरी विभिन्न सरसफाईको क्षमता अभिबृद्धि गर्ने , खानेपानी योजनाहरुको निर्माण एबं बनी सकेका योजनाहरुको सुरक्षित तथा दिगो संचालन प्रकृयालाई ब्यापक जोड गरिएको बताईन्छ । मूलत गाविसहरुमा ग्रामिण खानेपानी , सरसफाई तथा क्षमता विकासका कृयाकलापहरु अगाडी बढाइएको छ । पूर्ण सरसफाई तयारी अबस्थाका वार्डहरुलाई घोषणा गर्दै जिल्लालाई नै पूर्ण सरसफाई युक्त जिल्ला बनाउने गतिविधिहरुलाई तिब्रता दिईएको हो । जिल्लाको थापाठाना गाविस मात्रै पूर्ण सरसफाई युक्त गाविसको रुपमा घोषणा भएको हुँदा यही २०७३ आश्विन सम्म ३० वटा वार्डलाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । सघन रुपमा वास कार्यक्रम संचालन भएका गाविसहरुमा फोहोर संकलन विन निर्माण , सरसफाई सम्बन्धी होर्डिड बोर्ड टाँस ,बाटो ,धारा ,गोठ , घर आँगन ,भान्सा घर देखि चर्पी सम्म सफा गर्ने अभ्यास गरिएको छ । गाविसमा कृयाशिल भि वास सि सीको अगुवाइमा सरसफाईका गतिविधिहरु बढीरहेका मात्र नभई दिगोपनाको भरपर्दो आधार समेत स्थानिय संघ संस्थाको सक्षमता एबं निरन्तरता हो । गाविसमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्था एबं स्थानिय आमा समूह , युवा क्लब ,वाल क्लब , खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायतको सामुहिक जोड बल बाट ब्यक्तिगत सरसफाई , घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा प्रगति हुन सक्छ । कच्ची चर्पीलाई स्तर उन्नती गर्ने , सार्बजनिक स्थानमाचर्पी बनाउने अनि खानेपानीका श्रोतहरुलाई ब्यबस्थित गर्ने, प्रभावकारी रुपमा वातावरणीय सरसफाई गर्ने आदि कार्य गर्न सकिएमा आफ्नो क्षेत्र नमूना बन्न सक्छ । यी र यस्तै गतिविधिहरु गर्ने गरी निरन्तर विभिन्न तालिम , गोष्ठी ,भ्रमण ,बैठक , आम भेला लगायतका कृयाकलापहरु अगाडी बढीरहेका छन ।

खानेपानी , सरसफाई तथा स्वच्छता सम्बन्धी वास कार्यक्रम सघन रुपमा लागू भएका बर्राचौर , रानीपानी , खानीगाउँ , लिमिठाना , ठुलीपोखरी र धाईरिड गरी पुराना ६ वटा र नयाँ थप १० वटा गाविसहरुमा समेत तिब्र रुपमा वास गतिविधिहरु अगाडी बढीरहेका छन । जिल्लाका अन्य गाविसहरु समेत सरसफाईलाई विशेष महत्वका साथ लिदै सरसफाई गतिविधिहरुमा होमिएका छन । विश्व वातावरण दिवस, राष्ट्रिय सरसफाई सप्ताह , अन्तर्रािषर््ट्रय महिना वारी स्वच्छता दिवस , विश्व हात धुने दिवस , विश्व स्वास्थ्य दिवस , पृथ्वी दिवस आदि दिवसहरुको मर्म एबं सन्देशलाई आत्मसाथ गर्दै चर्पीको निरन्तर र सही प्रयोग , साबुन पानीले हात मिचिमिचि धुने बानी , सुरक्षित पानीको प्रयोग ,सुरक्षित खानाको प्रयोग , सफा घर आँगन तथा वातावरणीय सरसफाईमा हरेक ब्यक्तिले आफ्नो नित्य कर्ममा अभ्यासमा ल्याई स्वास्थ्य , इज्जत र प्रतिष्ठासँग जोडिएको सामूहिक सरसफाईमा हातेमालो गर्दै सभ्य नागरिकको परिचय दिने महान कार्यमा अहिलेबाटै थप सकृय हुदै आफ्नो गाविसलाई जति सक्दो चाडो पूर्ण सरसफाई युक्त क्षेत्र बनाउनका लागि सकारात्मक तथा रचनात्मक भूमिका सबै जन जनबाट हुन सकेमा सफलता टाढा छैन ।

पर्वतको दक्षिणमा खुल्ला दिसा मूक्त पश्चातका गतिबिधिहरु तिब्र गतिमा अगाडी बढीरहेका छन । त्यसो त बर्राचौर गाविसमा वार्ड नं. ३ , ५ र ७ सरसफाईमा बलियो अबस्था देखिन्छ भने रानीपानी गाविसमा वार्ड नं. ८, १ र ९ सरसफाईमा अगाडी रहेका छन । दूबै गाविसका अन्य वार्डहरुमा सरसफाईको स्तरोन्नती भइरहेको छ । प्लास्टिक जथाभावी नफाली संकलन गर्ने अभ्यास गरीएको छ भने विभिन्न स्थानहरुमा फोहोर संकलन वीनहरु बनाइएको छ । हरेक घर घरमा नमूना घरका लागि आबश्यक सरसफाई कृयाकलापहरुलाई जोड गरिएको छ । सार्बजनिक स्थानहरु बाटो ,चोक, विधालय लगायतका स्थानमा बोराहरु पनि फोहोर संकलन गर्नका लागि राखिएको छ । आन्तरिक वार्डहरुमा कुन वार्ड सरसफाइमा अगाडी भनी सकारात्मक प्रतिष्पर्धा भएको देखिन्छ भने छिमेकी गाविसहरुमा को अगाडी हुने भन्नेमा पनि जोड घटाउ भईरहेको छ । त्यसैगरी बाच्छा , लिमीठाना , खानीगाउँ , धाइरिड , सालिजा , ठुलीपोखरी , त्रिबेणी , टकलाक , होर्साडदी , चित्रे ,कार्कीनेटा लगायतका गाविसहरुमा समेत सरसफाईका गतिविधिहरु तिब्र गतिमा बढीरहेका छन । जिल्लाको दक्षिण बर्राचौर , रानीपानी देखि उत्तर सालिजा तथा पूर्ब , पश्चिम चौकिल्ला नै सरसफाईको अभियानमा लागेका छन् । कुश्मा नगरपालिकामा साप्ताहिक रुपमै नगर सफा गर्ने तथा धमाधम टोल सुधार समिति गठन गरी सरसफाई अभियानमा कृयाशिल तुल्याइएको छ । जिल्लाको पहिलो पूर्ण सरसफाई युक्त गाविस थापाठाना पछि दोस्रो पूर्ण सरसफाई युक्त गाविस बन्नका लागि निकै नै होडबाजी चलिरहेको छ ।

स्थानीय संघ संस्थाहरु गाविस , स्वास्थ्य चौकी ,सामुदायिक बन उपभोक्ता समूह ,बिधालय ,आमा समूह , यूवा क्लब ,वाल क्लब ,गाविसमा कृयाशिल गैर सरकारी संघ संस्थाहरु लगायतका सबै ब्यक्ति नागरिक समाज , स्थानीय पार्टी नेतृत्व ,जिविस सबैको सकारात्मक एबं रचनात्मक भूमीका बाट नै आफ्नो गाउँ, सफा गाउँ अनि हाम्रो ठाउँ, राम्रो गाउँ बनाउन सकिन्छ भन्ने कुराको गहिरोमहशुष भएमा सभ्य नागरिकको नाम रोशन हुनेमा दुईमत छैन । यसमा सरोकारवालाहरुको पनि जिम्मेवारीपूर्ण उत्तरदायित्व पूरा गरिनु पर्छ । सम्पन्न भएका राम्रा , उदाहरणीय कार्यहरुको ठिक समयमा बजारीकरण समेत हुनुपर्छ , यसमा संचार जगतको समेत भूमिका रहन्छ ।

(लेखक जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत अन्तर्गत फिल्ड संयोजक हुन्)

गणतान्त्रिक व्यवस्था रहला ?

रामकृष्ण तिवारी

प्रकृतिको नियमअनुसार जे कुराको उत्थान जसरी भएको छ, त्यसको पतन पनि त्यसरी नै हुन्छ । नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताको इच्छा र चाहनाअनुसार नभई बाह्यशक्तिको आडभरोसामा लहलहै र व्यक्तिगत स्वार्थको आधारमा स्थापना भएकाले यसको अवसान पनि बाह्य शक्ति र जनताको इच्छा र चाहनाअनुसार नै अवसान हुनेछ । त्यो समय चाँडै आउन लागिसकेको छ ।

नेपालमा हालको संवैधानिक व्यवस्था र राजनीति २०६२ मंसिरमा नयाँदिल्लीमा भएको बाह्रबुँदे सम्झौताको जगमा स्थापित भएको र २०७२ असोजमा संविधान जारी भएपछि त्यो बाह्रबुँदे सम्झौताको अवसान हुन गएको छ । जसरी बाह्रबुँदे सम्झौता गरेर नेपलामा सत्ता परिवर्तन गर्दा बाह्य हस्तक्षेप नहुने तर संविधान एक महिनापछि जारी गर भन्दा भारतीय हस्तक्षेपको हुइँया लगाइयो त्यसैको फल नाकाबन्दी र सरकार परिवर्तनसम्म हुन गयो ।

अब त्यो समय आउन लागेको छ नेपालको भविष्य निर्माण नेपाली जनताले नै गर्नेछन् । फलामलाई फलामभित्रैबाट उत्पन्न खियाले खाए झैं अहिलेको व्यवस्था राजनीतिक दलभित्रैको बेथिति र विकृतिले समाप्त वा परिवर्तन गर्नेछ ।

ए कान्छा मलाई सुनको तारा ल्याइदेऊ न, त्यो तारा मात्र होइन जुन पनि ल्याइदिउँला…. तारादेवीको गीत सुनेका नेताहरूले भूकम्प र बाढीपीडितले तारारूपी राहत माग गर्दा जुनै दिउँला भनेर कहिले ५० हजार, कहिले एक लाख कहिले दुई लाख र कहिले तीन लाख तथा कतिले पाँच लाख दिने भन्दै विगत १७ महिनादेखि जनतालाई दिएको कहिल्यै पूरा नहुने झूटो आश्वासन सुन्दा जनता दिक्क भइसकेका छन् । नेताहरूको झूटो बोली जनताले पत्याउलान् र राहत पाउलान्, यो कसैले नसोचे पनि हुन्छ ।

संसारमा विश्वास सबैभन्दा भरपर्दो कुरा हो । अब राजनीतिक दल नेताहरूप्रति जनताको विश्वास टुट्न लागिसकेको छ । समयको किटान यकिन गर्न नसके पनि १२ वर्षमा खोलो फर्कन्छ भनेजस्तै २०७२ मंसिरमा भएको बाह्रबुँदे सम्झौताको म्याद २०७३ मंसिरमा १२ वर्ष लाग्ने भएकाले अहिलेको गणतन्त्र व्यवस्था पनि सो मितिमा समाप्त हुने प्रबल सम्भावना देखा परेको छ ।

ग्रहदशा बिग्रिएपछि स्वस्ति, शान्ति, गाईदान, भैंसीदान गरेर केही समय टार्न खोजेजस्तै कहिले चीन र कहिले भारतमा विशेष दूत पठाएर राजनीतिक परिस्थिति लठ्याउन खोजिएको मात्र हो । अब सूर्यलाई हत्केलाले छेकेर कति दिन ढाक्न सकिएला ? सबैले थाहा पाइसकेका छन् को कति पानीमा छ ।
भारत र चीनले नेपाल सम्बन्धमा लिपुलेकको त्रिपक्षीय बिन्दुमा गरिएको सम्झौतामा नेपाललाई सामेल नगरेबाटै नेपालबारे दुवै देशबीच सहमति भएको बुझ्न सकिन्छ । आफ्नो छोरी नखरमाउले तन्देरीलाई दोष भनेजस्तै नेपालभित्रको आफ्नो आन्तरिक मामला मिलाउन नसक्नेले भारत र चीनको सत्ता परिवर्तन गरायो भन्नु बकवाससिवाय केही होइन ।

०६२/६३ को आन्दोलन ०६३ वैशाख ८ र त्यसमा हेरफेर गरी वैशाख ११ गते भएको त्रिपक्षीय सम्झौता (राजा, दलहरू र भारतीय राजदूत) अनुसार टुंगिएको हो । सोही सम्झौताअनुसार संसद्को पुनस्र्थापना भएको र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटीमा राजासमक्ष शपथ ग्रहण गरेका र पुनः स्थापित संसद्ले राजगद्दी उत्तराधिकारी ऐन संशोधन गरेर बेलायत र जापानमा जस्तै छोरीलाई राजगद्दी उत्तराधिकारी हुने व्यवस्था गरेकै हो ।

भद्र सहमति हक अभद्रतामा टुंगिने सिलसिला २०६३ वैशाख ११ को सम्झौता उल्लंघनबाटै सुरु भएको हो । अन्तरिम संविधान जारी गरी पटकपटक गरिएको संशोधनबाट पर्दा पछाडिका अदृश्य खेलबाट संघीयता, गणतन्त्र, धर्म निरपेक्ष र समानुपातिक प्रतिनिधित्व घुसाई यो त्यसैबाट नेपालामा राजनीतिक अस्थिरता उत्पन्न भएको हो ।

दिउँसै रात पार्ने काम विनानिर्वाचन माओवादीलाई दलीय सहमतिको नाममा पुनस्र्थापित संसद्मा प्रतिनिधित्व, प्रत्यक्ष जनताबाट निर्वाचित प्रतिनिधिभन्दा समानुपातिक सांसदको बढी संख्या र आफ्नो आयु आफैँले थप्ने अधिनायकवादी बनी, गिरिजाप्रसादको राष्ट्रपति हुने चाहनाले गर्दा राजतन्त्र निलम्बन र संविधानसभा निर्वाचनमा पराजित तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सभामुखको निर्वाचन हुनुअगाडि नै राजतन्त्र हटाउने प्रस्ताव पेस गरी पास गराइयो । संविधानसभामा त्यो प्रस्तावको विपक्षमा विचार राख्नसमेत दिइएका सर्वसत्तावादको यो राम्रो उदाहरण छ ।

वैधानिक हिसाबले जसले जन्मायो उसैलाई खाने माकुराका बच्चाजस्तै वर्तमान राजनीतिक दलका नेताहरूले गणतन्त्र स्थापना गरेको सबलाई थाहा छ । आपूmलाई जन्म दिने आमा खाने माकुराका बच्चाहरू हुर्केर अब आफैं आमा भएपछि तिनका बच्चाहरूले त्यसरी नै उनीहरू दललाई खान्छन् । इतिहास निर्दयी हुन्छ । विश्वासघातबाट आएको नेपालको वर्तमान संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व विश्वासघातबाटै समाप्त हुनेछ ।

नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्या हिन्दु धर्मावलम्बी भएकोमा लागू हुनै नसक्ने यो संविधानमा जे व्यवस्था गरे पनि हिन्दु राज्य रहेकै छ र रहने नै छ । नेपालमा संघीयता र गणतन्त्र ०६२/६३ को आन्दोलनको विषय नै होइन । सेवा केन्द्र र गाविस वा जिल्लाको सीमा हेरफेर गर्न नसक्नेले नेपाललाई संघीयता र पनि प्रदेश उति प्रदेशमा लान्छु भन्नु दिवासपना मात्र हो । अब रह्यो गणतन्त्र यो पनि जसरी आएको हो त्यसरी नै जानेछ ।

म्याद पुगेर अवसान भएको संसद् पुनस्र्थापना हुन सक्छ भने नारायणहिटी दरबारबाट नागार्जुन दरबारमा सरेको राजतन्त्र पुनः नफर्कला त ? बेलायतमा संसद् पुनस्र्थापना भएको १२ वर्षपछि राजतन्त्र फर्किएजस्तै नेपालमा राजतन्त्र फर्कन सक्छ । समय, परिस्थिति र दलहरूको असफलताले नै नेपालमा संवैधानिक राजतन्त्रको पुनरागमन निश्चितजस्तै हुन गएको छ ।

एमाले र माओवादी (केन्द्र) को आलोपालो सत्ता हस्तान्तरण गर्ने भद्र सहमति अविश्वासको प्रस्ताव पेस गरेर अभद्र व्यवहारमा टुंगिएजस्तै कांग्रेस र माओवादी केन्द्रको सत्ता हस्तान्तरण भद्र सहमति पनि अभद्रता नै टुंगिन सक्छ । ओलीको बाटोमा प्रचण्ड हिँडे झै‌‌‌ प्रचण्डको बाटोमा देउवा हिँड्नेछन् । निमको बोटमा आँप कहिल्यै फल्दैन भनेजस्तै अविश्वासको जगमा विश्वासको महल कहिल्यै खडा हुन सक्दैन ।

अब स्थानीय निकायको संख्या किटान र सिमाना हेरफेरको प्रस्तावबाटै यो व्यवस्था परिवर्तन हुनेछ । गत महिना रसुवाको धुन्चेमा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादी केन्द्रका प्रतिनिधिलाई पिटेर लखेटी त्यहाँका जनताले अस्पताल भर्ना हुन पारेका र प्रमुख तीन दलका प्रतिनिधिलाई जिल्ला प्रवेश निषेध गरेको खबर छ । यो सुरुआतको ट्रेलर मात्र हो । साउन मसान्तमा स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन पेस गरेको भए भदौ १ बाटै देशभर आन्दोलन र नारा–जुलुस हुने थियो । आयोगको म्याद थपले यो खड्को केही समय टरेको छ ।

प्रचण्ड सरकारले चीन र भारतमा विशेष दूत पठाएर राजनीतिक परिस्थिति लठ्याउन खोजेका मात्र हुन् । अब सूर्यलाई हत्केलाले छेकेर कति दिन ढाक्न सकिएला ? अब सडकमा नारा, जुलुस र तोडफोडबाट हैन, संवैधानिक विफलताले नै वर्तमान गणतन्त्र व्यवस्थाको अन्त्य हुने सम्भावना देखा परेको छ ।
समय बलवान् छ । समयको अगाडि कसैको केही लाग्दैन । नेपालको वर्तमान राजनीतिक व्यवस्थामा परिवर्तन हुने संकेत देखा परेका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपालमा स्थिरता भए सघाउन सजिलो (कृष्णबहादुर महरासँगको भेटमा) र भारतका प्रधानामन्त्री नरेन्द्र मोदीले ‘स्थिरता र विकासमा सहयोग (विमलेन्द्र निधिसँगको भेटमा) भनेका छन् ।

नेपलामा स्थिरता भनेको अन्तरिम संविधानभन्दा अगाडिको अवस्था अर्थात् संवैधानिक वा सेरिमोनियल राजतन्त्र, संसदीय प्रजातन्त्र, हिन्दु राज्य, पाँच विकास क्षेत्र, ७५ जिल्ला र चार हजार गाविस, नपाको व्यवस्था हुँदैन स्थिरताको कल्पना नै गर्न सकिन्न ।

वर्तमान खिचडीतन्त्र न संसदीय र राष्ट्रपतीय व्यवस्था यो प्रमुख तीन दलीय नेताको सहमतिको आधारमा चल्ने व्यवस्था भएको छ । नेपालमा अहिले मियोविनाको दाइँ भइरहेको छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संवैधानिक निकायहरू स्वच्छन्द पाराले सञ्चालित भएका छन् । सबैलाई अधिकार चाहिएको छ, कर्तव्यको कही ख्याल छैन ।

संविधानसभामा ६०१ जना सदस्य रूपान्तरित संसद्को पनि सदस्य भएका छन् । तिनमा २४० जना बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचनबाट र ३६१ जना समानुपातिकको नाममा नेता, नातागोता, आसेपासे, चन्दादाता र अन्य भएको सबैलाई थाहा छ । त्यसैले ९० प्रतिशत संविधानसभाका सदस्यले भोट हाली संविधान जारी भएको सात दिनमा संशोधन गर्नुपरर्‍यो ।

साँच्चिकै जनप्रतिनिधित्व भएको भए संविधानको यो हाल हुने थिएन । यो संविधान तीनदलीय सिन्डिकेटले जारी गरेको र वाधा–अड्काउ फुकाउने नाममा अन्तरिम संविधानमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको कार्यभार सुम्पिएजस्तै अहिलेको संविधानमा पनि संविधान मिच्नको लागि ओली सरकारले बाधा–अड्काउ फुकाउने धारा जारी गरेको छ ।

घटना, परिस्थिति र छिमेकी देशहरूको सुझावका आधारमा संविधानको यही बाधा–अड्काउ फुकाउन धारा प्रयोग गरेर नेपालको संविधानमा जनताको चाहना र इच्छाअनुसार परिवर्तन हुनेछ । अब सडकमा नारा, जुलुस र तोडफोडबाट हैन, संवैधानिक विफलताले नै वर्तमान गणतन्त्र व्यवस्थाको अन्त्य हुने सम्भावना देखा परेको छ ।
साभार: अन्नपूर्णपोष्ट

आउ म तिमिलाई पनि गायिका बनाईदिन्छु …

फुरुङ्ग मन तिम्रो प्रेम–पत्र पढ्दा खेरी,
जिन्दगीको उमेर सोह्र–सत्र पढ्दा खेरी,
युद्ध नै जिते जस्तो लग्थ्यो त्यतीबेला,
शिर देखि पाउ तिम्रो सर्वत्र पढ्दा खेरी ।
***
आउ म तिमिलाई पनि गायिका बनाईदिन्छु,
हरेक अभिनय गर्न सक्ने लायिका बनाईदिन्छु,
एक दुई दिन घुमघाम गरौँ चाहिने सबै सिकाई दिन्छु
छोटो समयमा नै उकृष्ठ नायिका बनाईदिन्छु ।
***
जहाँ कथित प्रेमी भयङ्कर हरामी हुन्छ,
चोखो माया गर्ने चखेवा जखामी हुन्छ,
तिमि भन्छ्यौ किन प्रत्येक रातले तर्साउँछ,
यहाँ छ दिउसै पनि जवानी लिलामी हुन्छ ।
Rajendra Dhakal (2)
मुक्तककार- राजेन्द्र ढकाल,
धौलागिरी एफएम,
बागलुङ ।

संस्मरणात्मक निवन्ध : बेल्जियम साहित्य सम्मेलनका दिन !

— दीपेन्द्र केसी

संकल्प थियो — “प्रवासमा नेपाली भाषासहित्यको अमरत्वः हामी सवैको साझा दायित्व” प्रमुख नारा बोकेको अगस्त २०१५, १६ र १७ तारीखको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेल्जियम ।

मान्छेहरुलाई कहिलेकाँही अघोषित सँकल्पहरुले अचेटीरहन्छन् । तिनै सँकल्पहरु हुन जसले निद्रा, सपना र यथार्थमाथी एकैचोटी गस्ती हालेर झक्झकाईरहन्छन् । बेल्जियम प्रवेश गरेपछि जीवनका धेरै सपना र रहरहरु समयले निलिदिएपनि कविता र लेखनको लतलाई निल्न सकेन बेल्जियमले ।
सनको २००३ देखिनै नेपाली साहित्यको राजधानीले सुुन्नेगरी यहाँबाट एकपटक बोलाउने संकल्पले घर बनाएको थियो । व्यक्तिगत इच्छा हुनु एउटा मनोभावना हो तर यो संकल्पको गृह निर्माण सामूहिक र संस्थागत संलग्नता विना सम्भव थिएन । यहींबाट संकल्पको रथले आफनो यात्रा भने तय गरिसकेको थियो ।

२००७ को एउटा बसन्तकालीन समय हो, हल्ला सुनियो ब्रसेल्समा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको गठन भयो, समसामयिक प्रकाशनको संगालो प्रकाशन गरिदैछ र काव्य गोष्ठी हुदैछ । मन अडिएन, सोधखोज गर्दै कार्यक्रमस्थल पुगियो, कविता वाचन गरियो । अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाईको सभापतित्वमा एनआरएन केन्द्रीय सदस्य रवीन्द्रमान श्रेष्ठले शव्दाञ्जली प्रथम अंकको लोकार्पण गर्नुभयो । ३ अंक पछि यो निरन्तर भएको छैन । ३०, ४० जना भाषाप्रेमी र शुभेच्छुकहरुको उपस्थितिमा मनमा एउटा अघोर आशा बोकेर फर्किएं । त्यसपछि शुुरु भयो अनेसासमा आबद्धता र निरन्तर सक्रियता । जिम्मेवारी र कार्यक्रमका सिलसिलावीच सहयात्री थिए संकल्पहरु । कृष्णजी २०११ तिर बेलायत बसाई बसाई सरेपछि तत्कालीन उपाध्यक्ष बिमल गिरीले बेल्जियम अनेसासको नेतृत्व लिनुभयो २०१३ सम्मको बैधानिक हैसियतमा । हामी एउटा यात्रामा निरन्तर अविचलित रह्यौ । लक्ष्मी, भानु, मोती मात्रै होइन विविध गोष्ठी र भाषा सरोकारका जयन्तीहरु हाम्रा पर्वहरु रहिरहे र रहिरहनेछन् । यी अवसरहरुमा हामीहरु जम्मा भैरह्यौ, अग्रजहरुलाई स्मरण गरिरहयौ र कविताको जमघट घना हुदैरह्यो । कार्यकाल २०१३—१५ का लागि अनेसास बेल्जियमको नेतृत्वको अभिभारा लिने अवसर मलाई प्राप्त भयो । लाग्यो यो जिम्मेवारीलाई कविताको हेडक्वाटरमा यहाँको चित्र देखाउने, यूरोपका नेपाली कलमबादकहरु जम्मा भएर विमर्श गर्ने, नेपाली साहित्यकेन्द्रका अग्रजहरुलाई सुन्ने र सिक्ने महाउत्सवको समय हो । निश्चित रुपमा हरेक नेतृत्वले एउटा ऐतिहासिक नवीनव्दार खोलेर अगाडी बढनुपर्छ । यसैका लागि १४ डिसेम्वर २०१४ मा अनेसासको डिसेम्वर बैठकमा बेल्जियममा २०१५ मा यूूरोपस्तरीय अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने प्रस्ताव टेवल भयो । व्यापक उत्साह र चुनौतीका वीच हामीले २०१५ अगस्त १६ र १७ तारीख लाई सम्मेलनको दिन छनौट गरी एउटा लक्षको भारी बोक्ने निर्णय गर्यौं ।
बिराट उत्सव तयारीको रथका चक्काहरु ८ फ्रेवुुअरी २०१५ मा लुभेनमा मुक्तक सन्ध्याको चोपिलो साइतबाट अगाडी बढ्यो । १५ मार्चमा त्यो रथ कविता गोष्ठीका लागि कविहरु बोक्दै नेपाली समुदाय गेण्टको आयोजनामा गेण्टका नेपाली स्रष्टाहरुवीच सम्मेलनको ध्वजा फहराएर फर्कियो । बासन्ती अप्रिल महिनाबाट प्रचार प्रसार र सहयोगका अपील बोकेर हामीहरु यहाँका नेपाली समुदायका व्दारहरुमा पुगिरह्यौ । सहयोग र सहृदयताले झोलीहरु भरिदै गए । नेपाली राजदूतावासले अभिभावकीय हौसला दिइरहयो, एनआरएन लगायत वीसौं नेपाली संघसंस्थाहरु एउटै मार्गमा लम्कियौं, स्थानीय गैसस नियमक निकायले बैधानिकता स्वीकार गर्यो । यस्तो लागिरह्यो यो समरको लक्ष्य भेदनमा निस्किएको हाम्रो रथपछाडी हजारौं सेनाहरुको लर्को छ ।
हामीहरु दवावमा पर्दै पनि गयौं । कम्तीमा पनि यूूरोपका केही राष्ट्र, अमेरिकाबाट बहालवाला र भूपू केन्द्रीय पदाधिकारी तथा नेपालबाट केही साहित्यिक हस्तीहरुको उपस्थिति बेगर यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्ने र सम्मेलनको औचित्य स्थापित होला भनेर । तर समय नजिकिदै गर्दा अमेरिकाबाट अनेसासका संस्थापक अध्यक्ष होमानथ सुवेदी, बर्तमान अध्यक्ष पदक वि।क।, बेलायतबाट केन्द्रीय उपाध्यक्ष सुमल कुमार गुरुङ, पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई, गीतकार कृष्ण क्षेत्री, पोर्चुगलबाट मोहन आचार्य जलद, बाबुराम भुषाल, नेदरल्याण्डबाट हरि पौडेल र सूर्यराज गिरी, जर्मनबाट एनआरएनका पूर्व अध्यक्ष एवँ साहित्यकर्मी जीवा लामिछाने, खडग न्यौपानेजीहरुको उपस्थितिको सुनिश्चितताले राहतमा थियौं तथापी नेपालका पाहुनाहरुको छनोट, भीसा, उपस्थिति र खर्च लगायतका चुनौतीहरुले पिरोलिरह्यो ।
नेपालबाट पाहुना छनोट पनि सन्तुलन र सम्मानका हिसाले एउटा सापेक्षित निर्णय लिन जरुरी थियो । व्दिविधा जारी थियो कसलाई निम्तो दिने कसलाई नदिने रु यसबारेमा एउटा मापदण्डको अनुसरण गर्यौं र स्रष्टा एवँ तत्कालीन मन्त्री नरहरि आचार्य, शारदा शर्मा, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, प्रा।डा। खगेन्द्र प्रसाद लुइटेल, नाट्य सँगीत प्रज्ञाप्रतिष्ठानका कुुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्त, मधुपर्कका सम्पादक स्रष्टा श्रीओम श्रेष्ठ, स्रष्टा एवँ पूर्व प्राध्यापक एल।वी। क्षेत्री चितवन, मोफसलमा क्रियाशील सर्जक काजी रोशन बागलुङ, इन्द्र बिकल्प पर्वत, रमेश अधिकारी संखुवासभा, कान्तिपुर सञ्चारकर्मी शेखर अधिकारी समक्ष निम्ता पुर्यायौं । तर अग्रज आचार्य, शर्मा, नई दम्पती, काजी रोशनले कार्यव्यस्तताका कारण असमर्थता जाहेर गर्नुभयो । कार्यक्रममा समयाभावले सहभागी हुन नसक्ने तत्कालीन राजदूत राममणि पोखरेलको असमर्थताले केही खल्लाएपनि निम्ता स्वीकार गर्नुहुने अग्रजहरुको कूटनैतिक प्रक्रिया संगै संकल्प रथले तीव्रता लिइरह्यो । १९ अप्रिलमा नेदरल्याण्डमा नेपालका तत्कालीन सँचारमन्त्री डा। मिनेन्द्र रिजालको आतिथ्यतामा हरि पौडेलको कृति विमोचनसंगै सम्मेलनको प्रचारले स्थान पायो, सम्मेलनकै माइक बोकेर २५ मेमा पोर्चुगल पुग्यौं ।

dkc
सयौं सुझाव, रचनाहरु प्राप्त भए, करीव ८० जनाले स्वेच्छिक आर्थिक सहयोगको वचन दिनुभयो, १० जना सहृदयीहरुले वासस्थान व्यवस्थाको निश्चिति दिनुभयो । लाग्थ्यो व्यक्तिगत इलमबाट उव्रिएको उर्जाले रथ तानिरहनु सहज थिएन तर कठीन पनि लागेन ।
म भाग्यवसै भन्छु नेपालका लागि यहाँका आधिकारिक निकायबाट स्पोन्सरहरु तयार भए तर जर्मन राजदूतावासको समयाभावले झण्डै कार्यक्रम भन्दा पछि १७ अगस्तको समय उपलव्ध हुने खवरले झट्का लाग्यो, तर पाहुुनाहरुकै सार्थक प्रयासले ७ अगस्तको समय र १२ अगस्तमा भीसा सम्बन्धी निर्णय प्राप्त हुुने खवरले हराएका निद्राहरु फर्किए । भयो पनि यसै हतार हतार १४ अगस्तमा उहाँहरु बेल्जियम आइपुग्नुहुने भयो । हामीहरु विहान, दिउसो, बेलुका गर्दै १५ अगस्त सम्म पाहुनाहरुलाई ब्रसेल्स बिमानस्थलमा स्वागत गर्ने दिन कम्ता रोमाञ्चकारी थिएनन् । लाग्थ्यो १५ अगस्त सम्म बेल्जियम कवितामय भैसकेको थियो बेल्जियमका ५० औं सर्जकहरुका जीवनको सवैभन्दा उद्वेगकारी प्रवाहले सम्मेलनस्थलको गन्तव्य खोजिरहेको थियो । अझ एक कदम अगाडी भन्दा अगस्त २०१५, १५, १६ र १७ बेल्जियम साहित्य, शव्द र नेपाली स्रष्टाहहरुको भीडमा हरायो ।
अन्ततः चीरप्रतीक्षित १६ अगस्त आइतवारको दिन पनि आयो । खचाखच ओन्स हाउस नामक सभागृहभित्र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको ऐतिहासिक क्षणको प्रसव चलिरहे जस्तै थियो अनेसास बेल्जियम महासचिव दीपकज्योति पौडेलको उदघोषणमा अनेसास बेल्जियम अध्यक्षका हैसियतमा मैले सभापतित्व ग्रहण गरें त्यसपछि क्रमशः प्रमुख अतिथी सरुभक्त, विशिष्ट अतिथीहरु होमनाथ सुवेदी, पदम वि।क।, प्रा।डा। लुइटेल, जीवा लामिछाने, एल।वी। क्षेत्री, सुमल कुमार गुरुङ, राजदूतावासका प्रथम सचिव लक्ष्मण खनाल, श्रीओम रोदन, कृष्ण बजगाई, अर्जुन श्रेष्ठ, रमेश अधिकारी, इन्द्र बिकल्प, शेखर अधिकारीहरुको आसन ग्रहणले मँच शोभायमान भएपछि प्रमुख अतिथी, संस्थापक केन्द्रीय अध्यक्ष, केन्द्रीय अध्यक्ष र म स्वयंले सामूहिक रुपमा उदघाटन कर्म गर्यौं । कोषाध्यक्ष परमानन्द सापकोटाले भानुको सम्झनामा श्लोकहरु पस्कनु भयो । मञ्चासीन लगभग सवैले मन्तव्य सँगै प्रवासी नेपाली साहित्य र काठमाडौंको अन्र्तसम्बन्ध र चरित्रमाथी प्रकाश तथा भविष्यका मार्गहरु औंलाउनु भयो । वीसौं कविहरु सुनिए । अनेसास बेल्जियम निवर्तमान अध्यक्ष बिमल गिरी र सदस्य सौरभ कारञ्जितका मुक्तक संग्रह र मेरो खण्डकाव्यको संयुक्त लोकार्पण भयो, कविताबारे चर्चा भए, लेखिने नलेखिने जे भएपनि एउटा प्रसवले इतिहास जन्मायो । संयोगः सम्मेलनको घोषणा र समापन मिति पनि नौ महिनैमा भएछ । भोलिपल्ट १७ अगस्त— लुभेन स्टेशनको हिमालय रेष्टूरेण्टमा नितान्त साहित्यिक मन्थन भयो । बिज्ञ पाहुना, सहभागी स्रष्टाहरुवीच प्रवासका लेखकीय वेदना, किनारिएका आवाज, बाध्यता, योग्यता, सक्रियता सवै क्षेत्रमाथी दृष्टिगोचर गर्ने प्रयास भयो । अनेसास यूरोप क्षेत्रीय समितिको जन्म पनि भयो । अग्रजहरुका अनुभव र ज्ञानको टँकन र सहभागीहरुको आत्मिक सन्तुष्टि घोषणापत्रमा बोलेपछि ९ महिने गतिवान संकल्पको रथले बिश्राम लियो । अव फेरि कहिले होला यस्तो महायज्ञ र तरंगित भैरहौंला ?
यति विराट सभाका लागि म मेरो नेतृत्वको टीमका निवर्तमान अध्यक्ष बिमल गिरी, उपाध्यक्ष राजकुमार पुडासैनी, महासचिव दीपकज्योति पौडेल, सचिव जे।वी। शेर्पा, कोषाध्यक्ष परमानन्द सापकोटा, सदस्यहरु— विष्णु सापकोटा, मोहन खत्री, नन्दु घले, डिल्ली अम्माई, पञ्चम अधिकारी, हरि श्रेष्ठ, वासस्थान सहितका थोरै सहयोगी महेन्द्र पन्त, रमेश सापकोटा, जानकी गुरुङ, सीता सापकोटा, गोपाल सापकोटा, खडक के।सी।, झलक के।सी, एनआरएनका तत्कालीन अध्यक्ष प्रेम गुरुङ, एनआरएनका तत्कालीन यूरोप संयोजक अर्जुुन श्रेष्ठ लगायत वीसौं सँघसँस्था र नेतृत्वहरु, लगभग सयौंजना आर्थिक सहयोगी ९क्षमाप्रार्थी छु यहाँ सवै नाम उल्लेख गर्न सम्भव भएन० र सयौं स्रष्टाहरुलाई सम्मेलन सफलताको बार्षिक पूंजी, हर्ष, यश र अंश प्रदान गर्दै सुखद स्मरण गर्न चाहन्छु । जुन तपाईहरुविना सम्भव थिएन ।
d kc
बागलुङ, हालः लुभेन बेल्जियम ।

तीजको महान अवसरमा गायक परियारले लिएर आए मायाको फरिया

हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतले रौनक छाएको छ । नेपालीका मनमा उमंग बर्साएको छ ।

नेपाली कलासँस्कृतिको मर्म विपरित तीजका गीत बजारमा भित्रिरहेको बेला यहाँ एक कलाकार तथा सर्जकले सँस्कृतिको बचाउ गर्दै तीजको गीत बजारमा ल्याएका छन् ।

धौलागिरीको माटोले जन्माएको एक होनहार प्रतिभा कुशल उद्घोषक, गायक तथा सर्जक पूर्ण परियारले यसपालिको तीजमा “मायाको फरिया” बोलको गीत बिन्ध्यबासिनी म्यूजिक प्रालि मार्फत बजारमा ल्याएका छन् ।

गीत पूर्ण परियार र उनकी जीवन संगिनी तथा राष्ट्रिय हाइलाइट नेपाल लोक दोहोरी अवार्ड २०७० की विजयता सीता परियारको सुमधुर स्वरले सजिएको छ । जसको लय सृजना राजेन्द्र सापकोटा र शब्द सृजना स्वयं पूर्णले नै गरेका हुन् ।

गीतमा पूर्ण भन्छन्– “सानु तिमी नाच्यौ भने दुनियाँ नै दंग, आफ्नो बरै ढंग छैन् के न के को रंग”– “सरर सर्कने सारी फरर मायाको फरिया तिजै मा दर खाउँला अहिले झालैमा काँकरी हरिया” । जवाफमा पूर्णकी जीवन संगिनी– “तिमी पनि कम छैनौ भो आउन सँगै नाचम, यस पालिको तिजमा नाचम कम्मर भाचम”– “सरर सर्कने सारी फरर मायाको फरिया तिजै मा दर खाउँला अहिले झालैमा काँकरी हरिया” ।

प्रत्येक वर्ष तीजको सांगीतिक कोसेली बजारमा भित्राउने गरेका पूर्णले यस वर्ष तीजको कोसेली स्वरुप “मायाको फरिया” बोलको गीत श्रोता तथा दर्शकहरु माझ पस्केका हुन् । विगतका वर्षहरुमा “चुरी छैयाँ छैयाँ”, “छोटा लुगा लाँउछु नभन” बोलका तीज गीत बजारमा भित्राई सकेका छन् ।

प्रस्तुती:
केशव विश्वकर्मा,
बागलुङ ।

आतङ्क माफियाको कि प्रहरीको ?

महेन्द्र केसी

“यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् ।”

कानूनका नजरमा सवै समान हुन्छ कोहि सानो ठूलो हुदैनन र हुनपनि हुदैन । सवैले कानूनको पालाना गर्नुपर्छ तर कानूनलाई धोती लगाइ कसैले काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई्र उन्मुक्ति दिनु वा सफाइ दिन खोज्नु कानूनको धज्जी उडाउनु नै हो । हरेक काम कारवाहीमा नीति हुन्छन्,। नीतिअनुसार काम गर्नुपर्ने हुन्छ तर नीतिलाईनै तिलाञ्जली दिइ काम गर्न कसैले खोज्छ भने उसको पछाडी केही न केहि रहस्य अबस्य लुकेको हुन्छ । जिल्लामा कालीगण्डकी नदीबाट नदिजन्य पदार्थ निकाल्नको लागि आफ्नै किसिमको कानून र मर्यादा छ तर पनि व्यवसायीहरु नीतिलाई धोति लगाउँदै लामोसमय देखि नियम विपरीत काम गर्दै आइरहेका छन् जून कुरा सरोकारवाला निकायलाई पनि अबगत छ तर पनि कानमा तेल हालेर बसेका छन् । सरोकारवाला निकायले गर्नुपर्ने काम तथा खेल्नुपर्ने भुमिका जिल्ला प्रहरी कार्यालयले खेलेको छ तर पनि प्रहरीमाथि आक्षेप लगाइदै आइरहेको छ भन्दा फरक नपर्ला । कानूनको पालना गराउनको लागि सरोकारवाला निकायनै तात्नुको बदला कानमा तेल हालेर बस्नुमा व्यवसायी र त्यस्ता निकायविच भित्र कुनै खिचडी पाकेको अबस्य छ जसका कारण पनि व्यवसयीहरु स्यालको झै कराउन थालेका छन् ।

कानूनले न त जात भन्छ न त कुनै तहको मान्छेनै मैले माथि उल्लेख गरीसकेको छु । कानून मिच्नेलाई कानूनी कठघारामा ल्याउन खोज्ने प्रहरीको कामले बास्तबमा व्यवसायी आतङकीत भने भएकै हुन । जून व्यवासयीले नियमसंगत काम गरेका छैन जसको धन्दा हात्तीको देखाउने दाँत जस्तो छ तिनिहरुमा आतङक फैलिएकै हो । नियम विपरित काम गरेको तथा आचारसहिंता पालना नगरेको भन्दै उद्योग बन्दको लागि माथिबाट सिफारिस पनि आइसेको छ तर सरोकारवाला निकाय भनौ या जिल्ला विकास समिति तिनै व्यवसायीसँग आफ्नो डेन्टर भनौ या योजनाको सम्झौता गरिरहेका छन् । भ्रम नहोस यहाँ मैले माफिया भनिरहदाँ व्यवसायीलाई पिरपर्न सक्छ म त्यस्ता व्यवसायीलाई व्यवसायी भन्न रुचाउँदीन जो नियम संगत काम गर्नको लागि डेरपुच्छर गरेर मेरै गोरुको बाह्ै टक्का गरेर अनेक कुरा गर्छ । व्यवसायी त त्यो हो जसले इमान्दारीता र नैतिकताका साथ काम गर्छ ।

जुन चोर उसैको ठूलो स्वर गरी व्यवसायीले पछिल्लो समयमा देखाएको हर्कत, रातरात अनुगमनको नाममा जिल्ला विकास समितिले उनीहरुले गरेका कर्तुतको ढाकछोप गरेको जिल्लाबासी सवैमा अबगत भएको कुरा हो । नियमसंगत काम नगरेकलाई नियम पालना गराउन कटिबद्ध प्रहरी प्रशासनको निरन्तरको शुसासन कायमप्रतिको दबाबले हिजोदेखि व्यवसायीको नाममा लुट मच्चाएका महानुभाव आताङकीत भएका हुन भने बास्तबमा त्यो जिल्लाको लागि खुसीको कुरा हो । माफियाको आतङबाट जिल्लाको सुन्दर कालीगण्डकी नदीलाई बचाउनको लागि उसको चित्कार भनौ या पुकार बेदना सुन्नको लागि लागेको प्रहरीबाट त्यस्ता व्यवसायी आतङकीत भएका छन् भने प्रहरीले अझै आतङकित बनाउनै पर्छ । यो जिल्लाबासीको माग हो ।
कालीको चोली उतारी निबस्त्र पारी उसका अंगअंगको मोलतोल गरी लाखौ कुम्लाएका महाशयबाट काली आतङकीत भएकी छ हरेक दिन आशु बगाइरहेकी छ । हिउँद होस या बर्षा, दिन होस या रात हरेक समय चित्कार र रक्तकुण्डले ओतपोत भएकी कालीको न्यायको लागि प्रहरीले आतङक फैलाएको हो भने खेद छैन यसमा जिल्लाबासी पनि साथ दिन तयार छन् । “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् ।”

सुशासन कायम गर्नको लागि र सवैलाई कानून संगत चल्नको लागि प्रहरीले गरेको कामलाई अनर्थ लगाइन्छ र धनको प्रयोग गरी नियतबस संस्थाको बदनाम गराउन कोहि तल्लीन हुन्छ भने याद गरे हुन्छ पाप धुरीबाट कराउँछ तिम्रा हरेक कर्तुतको अबस्य पर्दाफाँस हुनेछ । पैसा बाँडेर समर्थन जुटाएर एक छिन सत्यवान बनेतापनि कुर्तत देखिहाल्छ ।
अन्त्यमा,
म कुनै व्यवसायीलाई आक्षेप लगाउन र कुनै संस्थाको गुनागान गाउन खोजिरहेको छैन । सवैले कानूनको पालना गर्न सिक्नुपर्छ र गर्नुपनि पर्छ । कानूनको पालना नगर्ने हो भने नीति अनुसार काम नगर्ने हो भने देशको विकास कसरी सम्भव छ । यसमा जिल्लाका राजनीतिक दलहरुपनि जिम्मेबारी छन् । व्यवसायीसँग चुनावि प्रचारप्रसारको लागि तथा अन्य सहयोगको नाममा लाखौ रकम असुल्ने र उनीहरुको गलत हक्र्रतको ढाकछोप गर्नको लागि अगाडी बढ्ने राजनीतिक परिपाटीका कारण पनि खुलमखुलारुपमा नीतिलाई धोति लगाउने प्रविधि बढेको छ । समृद्ध समाज र नियमबद्ध सवैलाई बनाउनको लागि राजनीतिक दलहको हात उत्तिकै छ । गलत काम गरेका मनुवालाई कारवाहीको दायरालामा ल्याउन खोज्दा उसैको भजन गाउँदै सत्य हो भन्ने राजनीतिक दलको आडमा पनि पछिल्लो समयमा नीतिलाई्र तिलाञ्जली दिदै व्यवसायी मैसासुर बनेका छन् । राजनीतिक दलले सत्यको साथ दिने हो र गलत काम गर्नेलाई दण्डसजायको भागिदार बनाउन खोज्दा हस्तक्षेप गर्ने र उसको पक्षमा वकालथत नगर्ने हो भने व्यवसायीको नाममा माफियाको जसरी लुट मच्चाएकाहरुको पत्ता साफ हुने थियो । न कि पटकपटक नियम उल्लघन गर्दा पनि सामान्य जरिवानामा उम्कने थिएनन । भ्रम नहोस की भ्रम फैलाएर सत्यवान बन्न खोज्नु फाटेको धोति जति टालेपनि च्यातिनु सरह हो । त्यसैले प्रहरी होस या व्यवसायी , देशको प्रमुख होस या प्रजा सवैले कानूनको पालना गर्नूपर्छ यहिनै सत्यबाटो हो ।

लेखक प्रेस सेन्टर नेपाल पर्वतका सचिव हुन ।

धोकेबाज निष्ठुरीलाई बल्ल चिने अहिले !

न यहाँ जुन थियो, न यहाँ तारा थियो,
हिड्दा हिड्दै बाटोमा बिझाउने काडाँ थियो !
कोपेर चसक्क यो मनमा बिझाउँदा ,
पुग्नलाई घर धेरै धेरै टाढा थियो !
***
झुक्काएर तिमिले फसाउन नखोज,
चाहेर तिमले मात्रै त्यो दिलमा बसाउन नखोज !
एक्लै यात्रा गर्दा गर्दै थाकिसकेको यात्री म,
मख्ख पार्नलाई झुट्टा वाणीहरू दर्शाउन नखोज !

***

मैले मात्र चाहेर के गर्नु उसले मलाई नचाहेपछि,

उसलाई भेट्न आतुर हुँदै उसकै पछि दौडेपछि !

बोलाएर निष्ठुरीले आउनुभनि यस्तो ठाउँमा,
उसलाई भेटन पुगे मत खोज्दै सोध्दै उसकै गाउँमा !

छैन कतै, पाईन कतै भौतारिदै हिडे मैले
धोकेबाज निष्ठुरीलाई बल्ल चिने अहिले !

 

सुशिला पन्त,
भरतपुर, चितवन ।

बिश्वासका आधार शेष गरिदेउ, सामना गर्छु प्रिय !

बिश्वासका आधार शेष गरिदेउ सामना गर्छु प्रिय,
अड्डा अदालतमा केश गरिदेउ सामना गर्छु प्रिय,
तर आबेशमा हाम्रो मायाको संसद बिघटन नगरिदेउ,
अविश्वासको प्रस्ताब पेश गरिदेउ सामना गर्छु प्रिय !
***
तिम्रो अद्भूत प्रेममा म सङ्लीरहेकी हुनेछु,
पल पलमा बिस्तारै म बद्लीरहेकी हुनेछु,
सौर्यको रापमा हिमशिखा पग्लीए जस्तै,
तिम्रो कोमल स्पर्षमा म पग्लीरहेकी हुनेछु !
***
ति जति तिम्रो पहिरन छोटो देखिन्छ,
सोच्छ्यौ होला, त्यती राम्रो फोटो देखिन्छ,
यहि चालाले तिम्रो बस्त्र छोटिदै गयो भने,
अनि बल्ल त्यहाँ नेर खोटो देखिन्छ !
***
गर्न खोज्छ हाँसो अनि रङ्ग मायाले,
मलाई मात्र पार्छ कि त दङ्ग मायाले,
अलि–अलि रहर अनि, अलि–अलि डर सँगै,
सुम्सुमाउन खोज्छ सधै अङ्ग मायाले !

राजेन्द्र ढकाल
धौलागिरी एफएम, बागलुङ ।