wwwwwww

पर्वते सांसदका काम : नक्कली आयोजनाको नाममा लाखौँ रुपयाँ झवाम् !

महेन्द्र केसी, पर्वत २०७३ साउन १० । पर्वत जिल्लाका सांसदव्दय अर्जुनप्रसाद जोशी र विकास लम्सालले नक्कली आयोजनाको नाममा नक्कली बिल पेस गरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको लाखौं रकम कुम्ल्याएको रहस्य सार्वजनिक भएपछी चर्चाका पात्र बनेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद जोशी र क्षेत्र नम्बर २ का सांसद लम्सालले स्थानीयस्तरमा हुँदै नभएको योजना तयार पारी रकम भुक्तानी गरेको कुरा जिल्ला विकास समितिबाट अनुगमनमा गएको टोलीले पत्तो पाएपछी सांसदहरुबाट भएको भ्रष्टाचारको पोल खुलेको हो ।

जिविसका टोलीहरु गाउँ पुगेर बुझ्दा सांसद लम्सालले स्रोत नखुलेका योजनामा २० लाखभन्दा बढी रकम खर्च गरेको भेटिएको छ । उनले कृषि, वन, वातावरण तथा पशु विकास शीर्षकमा १८ लाख रुपैयाँ खर्च भएको देखाएकोलाई अनुगमन गर्दा फिल्डमा केही नदेखिएको अनुगमन टोलीले खुलासा गरेको छ ।
अनुगमनका लागि प्राविधिकसहित पुगेको टोलीहरुले भने–‘अनुगमन गर्दा खानीगाउँको नर्सरीका लागि भनी विनियोजित तीन लाख रकमको कुनै काम भएको देखिएन ।’

सांसद लम्सालका स्वकीय सचिवले भूसंरक्षण कार्यालयको नर्सरी देखाएको अनुगमन टोली सदस्यले तथा बताए । ‘डालेघाँसका बिरुवाको नर्सरी भनेर हेर्न गइयो,’ उनले भने, ‘त्यहाँ पुग्दा भू–संरक्षणले तीन वर्षअघि स्थापना गरेको नर्सरी देखाएपछि फर्जी योजना भन्ने पक्का भयो ।’

सांसदहरूको सूचीमा सूचीकृत कतिपय योजना गाउँमै नभेटिएको उनको भनाई छ । जिल्ला भूसंरक्षण कार्यालयले समेत उक्त नर्सरीमा सांसद लम्सालको कुनै लगानी नरहेको बताएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र १ का सांसद जोशीले विभिन्न युवा क्लब र खेलकुद पूर्वाधार शीर्षकमा विनियोजन गरेको सात लाखमध्येको अधिकांश योजना झुटो भएका अनुगमन टोलीले बताएको छ । गाउँमा ‘सुनाखरी युवा क्लवलाई खेलकुद सामाग्री खरीद भनेर फर्जी बिल बनाई १ लाख रुपैयाँ लिएको पाईएको छ तर सो नामको गाउँमा क्लव नै नभेटिएको अनुगमन टोलीमध्येका एक सदस्यले जानकारी दिए । क्लव नै नभेटिएपछि जिविसले एक लाख रुपैयाँ रकम भुक्तानी गर्न रोकेको छ । केही योेजनाहरु यस्ता छन् जसको कुनै स्रोत नखुलेपछि रकम निकासा नभई जिविसको बजेट फ्रिज भएको लेखा शाखाले जानकारी दिएको छ । क्लवको नाम पारेर पार्टीका कार्यकर्तालाई सरकारी रकम पोस्ने काम सभासदहरुले गरेको पाईएको छ ।

पूर्वाधार विकासका योजना कम्तीमा सात लाखका हुनुपर्ने प्रावधान भए पनि सांसदहरूले ४० हजारसम्मका योजना बाँडेको पाइएको छ । बजेटलाई खट्टे बाँड्दा झै बाडिएको भनी उनिहरुको कार्यकर्ताबाटै आलोचना हुने गरेको छ ।

सांसदका प्रतिनिधी (स्वकीय सचिव)ले आफना सांसदको बचाउ गर्दै केही कमजोरी भएको भएपनि फर्जी नै भने नभएको दावी गरेका छन् ।

स्थानीय विकास अधिकारी युवराज पौडेलले खुलेर फर्जी काण्डबारे नबोले पनि सो बारे गुनासो आएको स्वीकार गरे । सभासदले फर्जी विल बनाएर रकम लिएको बारे अध्ययन र अनुसन्धान गर्नुपर्ने भएको स्थाविअ पौडेलले बताए ।

2 thoughts on “पर्वते सांसदका काम : नक्कली आयोजनाको नाममा लाखौँ रुपयाँ झवाम् !”

  1. यो समाचार लेख्ने पत्रकार ? लाई मेरो चुनौती : २०५६ देखि ऐले सम्म साँसद् र सभासद छु ! म अर्जुन जोशीले नक्कली त के सक्कली पनि बिल पेस गरी जि. बि. स. बाट एक पैसा पनि लिएको प्रमाणित गर्न सक्नु भयो भने तत्कालै राजिनामा दिएर जनतासँग सार्वजनिक रुपमा माफि माग्न तयार छु !तर मैले नक्कली बिल पेस गरी रूपैया लिएको प्रमाणित् गर्न सक्नु भएन भने कसैलाई बदनाम् गर्नको लागि मात्र झुट समाचार सम्रेसण गरेर जनतालाई गलत सूचना प्रबाह गरेको मा अरु केही पर्दैन जनतासँग माफि मात्रै माग्न तयार हुनुहुन्छ ? जहाँ सम्म योजना छनौटको कुरा छ , कसरी कुन मोडेलमा गर्दा धेरै जनतालाई फाईदा पुग्छ , बिनियोजित बजेट फ्रिज हुँदैन , समयमै योजना सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न तयार छु ! फेरि पनि भन्छु साँसद् सार्वजनिक ब्यक्ति हो सम्पूर्ण जनताको प्रतिनिधि हो पुनर्बिचार् गर्नु पर्ने बिषयमा बसेर छलफल गरौ !स्वस्थ्य र रचनात्मक टिप्पणी , आलोचना र सुझावको सम्मान् गर्दछु! सामाजिक सन्जालमा कुन्ठा र बिसबमन गरेर समाधान निस्कदैन भन्ने मात्र मेरो आग्रह हो !अर्जुन जोशी , साँसद् पर्बत

  2. जानकारीको लागि अाजका मिति सम्म मैले नियमानुसार पाउने बैठक भत्ता पनि जि बि स बाट लिएको chhaina

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>