saahh

आदर्श सञ्चार सहकारी बागलुङ को दुव्र्यसन विरुद्ध अभियान !

बागलुङ, २०७३ असोज २५ । युवा पिढीलाई लागु पदार्थको सेवनबाट टाढै राख्ने उदेश्यका साथ बागलुङको एक सहकारीले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । एउटी आमाले पाएको शिक्षा सम्पूर्ण परिवारका लागि प्रभावकारी र उपयोगी हुने भएकाले दुव्र्यसन विरुद्ध आमाहरु नामक अभियान सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ ।

सूचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर अन्य सामाजिक कार्यमा समेत सक्रिय रहदै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले दुव्र्यसन रोक्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सहकारी समाज रुपान्तरणको एउटा अभिन्न अंग हो, समाजका हरेक व्यक्ति सदस्य हुने भएकाले सबै सहकारीहरुले मानवीय सेवाका काम गरेर सामाजिक रुपान्तरणको अभियानमा लाग्न राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले आव्हान गरेका छन् ।

संस्थाको हालै सम्पन्न दशौ वार्षिक साधारणसभाले आगामी कात्तिकदेखि असारसम्म बागलुङ सदरमुकाम लगायत लागु औषधको कारोबार तथा प्रयोग हुने ठाउँलाई केन्द्रीत गरी २० वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सहकारी अव केवल आर्थिक क्षेत्रमा मात्रै केन्द्रीत नभई समाजमा हुने विभिन्न गलत प्रचलन तथा प्रवृतिको अन्त्यका लागि क्रियाशिल हुनु पर्ने उनको भनाइ छ ।

पहिलो चरणमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा बढी भन्दा बढी आमाहरुलाई सहभागी गराउने लक्ष्य रहेको संस्थाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।

आमाहरु छोराछोरीसंग धेरै समय संगै हुने भएकाले उनीहरुलाई लागु औषध प्रयोग सम्बन्धी सचेतना दिने, लागु औषध प्रयोगकर्ताहरुको अवस्थाका बारेमा जानकारी गराई युवा युवतीहरुलाई कुलतबाट टाढा राख्ने लक्ष्य संस्थाले राखेको छ ।

अभियान सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ लगायत सरोकारवालाहरुसंग समन्वय गरिने संस्थाका सम्पादक रामबहादुर जिसीले बताए ।

परिवारको रेखदेख गर्ने विषयमा आमाहरु धेरै सचेत हुने तर छोरी छोरीको माया ममताका कारण उनीहरु कुलतमा लागेको बारेमा अनभिज्ञ रहने भएकाले उनीहरुलाई शिक्षाको आवश्यकता छ भन्ने निष्कर्षका साथ दुव्र्यसन विरुद्ध आमाहरु अभियान शुरु गर्न लागिएको जिसीको भनाइ छ ।

लागु औषधको कुलतमा फसेका २५ भन्दा बढी व्यक्तिलाई यो वर्ष प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई घर पठाएको छ । कुलतमा फसेका युवाहरुलाई यसबाट हुन सक्ने हानी नोक्सानीका बारेमा जानकारी दिएर सुध्रने अवसर दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
छोरा छोरी दुव्र्यसनमा लागेको जानकारी पाएपछि बागलुङ लगायत विभिन्न ठाउँमा रहेको सुधार केन्द्रमा लैजाने अभिभावकहरु पनि छन्, विभिन्न ठाउँमा लैजाने भएकाले यकिन तथ्यांक पाउन गाह्रो हुने सरोकारवालाहरु बताउँछन् ।

Leave a Reply