klika

आज महाष्टमी, कालिका भगवती मन्दिरमा सबेरै देखी श्रद्धालुको भीड !

तजबिज खबर, बागलुङ २०७३ असोज २३ । नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा नवदुर्गा भवानीको पूजाआजा भैरहेको छ । हिँजो फुलपाती देखी सरकारी कार्यालयहरुमा सार्वजनिक विदा भएको छ । मुलुकभर हर्षोल्लासपूर्वक विजया दशमी पर्व मनाईदै छ । विभिन्न कारणले घर बाहिर रहेका परिवारका सदस्यहरु आआफना घरमा फर्कने सिलसिला जारी छ । दशैँमा बाबुआमा तथा मान्यजनको आशीर्वाद (टीका) थाप्न स्वदेश र विदेशमा रहेका परिवारका सदस्यहरु जम्मा भै उत्सवको रुपमा मनाउने दशैँ पर्व नेपालीहरुका लागि महत्वपूर्ण रहेको छ ।

नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दसौँ दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। विजया दशमीको सप्तमी तिथी फुलपाती हिँजो शनिवार धुमधामसंग भित्राईएको छ ।

बागलुङकी प्रशिद्ध कालिका भगवती मन्दिरमा नवरात्रिको प्रथम दिन घटस्थापना देखी नै श्रद्धालुहरुको अपार भीड लागिरहेको छ । हिँजो शनिवार फुलपातीका दिन मन्दिरमा भक्तजनहरुको ठुलो भीड लागेको थियो भने आज महाष्टमी, विहान सवेरै देखी दर्शनार्थी भक्तजनहरु कालिका भगवती मन्दिरमा आउने क्रम सुरु भैसकेको छ ।

नवरात्रिको आठौं दिन आज महाकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली महाकालीको अष्टमीका दिन उत्पन्न भएको मान्यतका साथ पूजा गर्ने गरिन्छ । देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहे जस्तै बागलुङ कालिका भगवती मन्दिरमा बलि दिईने प्रचलन रहेको छ । नेपालमा सर्वाधिक बलि चढाईने शक्तिपीठ मध्य बागलुङकी प्रशिद्ध कालिका भगवती पनि एक हुन् । बडा दशैँको अवसरमा यस मन्दिरमा ठुलो संख्यामा पशु पंक्षीको बलि दिईन्छ ।

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैँको हो ।

कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता रहेको छ।

कालिका भगवती मन्दिर व्यवस्थापन समितिले दिएको जानकारी अनुसार नवदुर्गाको सातौ दिन सम्म दश लाख भन्दा बढी भेटी चढेको छ । हिँजो सप्तमीमा मात्रै रु २ लाख ९० हजार भन्दा बढी भेटी मन्दिरमा चढेको छ भने घटस्थापनाको दिन १ लाख १२ हजार ५ सय ६३ रुपैया चढेको थियो ।

केहि दिन देखी परिरहेको झरीले केहि असुविधा पुराएपनि कालिका भगवती प्रतिको श्रद्धामा श्रद्धालु भक्तजनमा कुनै अन्तर नआएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले तजबिजलाई बताए ।

Leave a Reply