gyanendra1310048644

पूर्व राजा ज्ञानेन्द्रले शुभकामना सन्देश मार्फत उठाए ६ गम्भीर प्रश्न !

हाम्रो धर्म, संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौँ -पूर्व राजा ज्ञानेन्द्र

काठमाडौ २०७३ असोज २२ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले भनेका छन् नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो । हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं उल्लेख गर्दै सन्देशमा राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व भएको बताएका छन् ।

बडादसैंको अवसरले हाम्रो रीतिथिति, संस्कृति, धर्म, परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्व सबल पार्ने उल्लेख गर्दै राजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।

बितेको दशकमा अपराध र अपराधीकरणलाई निरुत्साही गरियो या जनताका निम्ति केके गरिए त्यसको समीक्षा गर्न विलम्ब भइसकेको बताउदै शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले

बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनता अन्त्य गरी जनमुखी शासन–प्रशासन प्रारम्भ गरियो त ? विकास निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ? परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थरक्षा गरियो त ? घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ? ’ भन्ने गम्भीर प्रश्न गरेका छन् ।

आफ्नो वक्तव्यको अन्त्यमा राजा ज्ञानेन्द्रले नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधैं कायम राखी देशका लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।

Leave a Reply