Pandakhola

कालीगण्डकी करिडोर : पाण्डाखोला पुल निर्माणमा चरम लापर्बाही !

केशव विश्वकर्मा, मुस्ताङ २०७३ साउन ६ । कालीगण्डकी करिडोर अन्तर्गतको जोमसोम–कागबेनी सडकखण्ड स्थित पाण्डाखोलाको पुल निर्माण कार्यमा चरम लापर्बाही गरेको भेटिएको छ ।

पुल निर्माण कार्यमा कम्सल खालको सामाग्री तथा ग्रेडिङ नगरिकन सिधै खोलाबाट उठाएर गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको प्रयोग गरेको भेटिएको हो ।
उक्त पुल निर्माणमा ठेकेदार कम्पनी गैर जिम्मेवार बन्दा निर्माणाधीन पुल कमजोर र दिगो नहुने सरोकारवालाको भनाई छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको सो पुल निर्माण जिम्मा ठेकेदार कम्पनी शंकर माली÷एलाईड जेभीले लिएको छ ।

करिडोर अन्तरगत धेरै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले पाण्डाखोलामा ध्यान दिन नसकेको कालीगण्डकी करिडोर पाल्पाका प्रमुख राम सुवेदीले बताए ।

कामदारले जस्तो पायो त्यस्तै गिट्टी बालुवाको प्रयोग गर्नु गल्ती भएको स्विकार्दै करिडोर प्रमुख सुवेदीले पाण्डाखोलामा समस्या देखिएपछि काम रोकिएको र गुणस्तरीय निर्माण सामाग्रीको व्यवस्था गरेर तुरुन्तै काम सुचारु गरेको जानकारी दिए ।

सुरुमा ठेकेदारले काम नगरी होल्डमा राखेको र बारम्बार ताकेता गरी काम पुन संचालन गरिएको सुवेदीको भनाई छ ।

Leave a Reply