Category Archives: लेख/रचना

dkc

दशैं ह्याङओभर !

यो बर्ष पनि
हाँसो ओसारेर कुदेन
दशैं एक्सप्रेस
आमाको अनुहारको राजमार्गमा ।
सुदूर लाहूर !
मनभरी न्याउली रुन्छन
रुन्छन प्रतीक्षालयहरु गाउँभरी,
दशैंको हर्न बजेन गामतिर
छुट्टी नमिल्ने शहरमा
ड्युटी लगाईरह्यो लाहूरे !
बर्षेनी
दशैं ह्याङओभर ।
सीमाका काँडेतार कटेपछि
वरै कुरी बस्नुपर्छ
इच्छाहरु,
कान्छीका बैशालु दिनहरु,
त्रसित एकजोर कानहरु
तर पनि उसै नफर्कन सक्छ दशैं
यहाँबाट शुरु हुन्छ
जीन्दगीको “वन वे” ।
खैर, सपना फुल्न सक्लान एकदिन
के काँडा झैं विझाउनु पर्छ
दशैं, हरदिन ?
नढलेसम्म पहाड जस्ता पैसाका सीमाहरु
कैद भैरहन सक्छन शुभकामनाहरु
तर पनि राखँु औपचारिकताहरु ?
बर्षेनी
दशैं ह्याङओभर !
कुरीबस्छ अर्को वर्षलाई
शुभकामना ओसार पसारलाई ।
मान्छे !
अल्झि बस्छ कहाँ ?

—दीपेन्द्र के.सी.
बागलुङः हाल बेल्जियम ।

dipendra

बेवारिस मत !

— दीपेन्द्र के.सी.

देशको सीमा काटेपछि
स्वतः अनुपस्थित छु म
मतपत्रका स्वस्तिक छापहरुमा । …
मेरा विचारहरु
छिराओस् सिंहदरवार
तिम्रा घोषणाका टेपरिकर्डर
सुनाओस संसदमा
र, फेरियोस् एउट कथा,
कम्तीमा तुरुन्तै सम्भव छैन ।
मैले चाहनुु र नचाहनुमा
केही फरक पर्नेवाला छैन
तिम्रो बहुमत र विजयको अँकगणितमा
म अझै गयल छु
मतदाता नामावलीमा
मजस्ता लाखौं अदृश्य मतदाताहरु
तुरुन्तै लाइन हाल्दैनन् मतदानमा
जसले उल्टाओस परिणाम !
एउटा “नटभ्यालिड” मत
नपुंसक भएको छ यो युगमा ।
मेरा शासक !
कुम र कम्मर मर्काएर
तिमी नाच,
र जतिसुकै मीठो भाखामा
बजाउ बाँसुरी
म नाच्न सक्तिन सपनाहरुमा
त्यहाँ भेटिन्छन—
रगतका रोदनहरु, लाखौं झूटहरु
एकहदमा भन्नुपर्दा
तिम्रो नाच
प्रहसन हो मेरो व्यंग्यशालाको
जहाँ भेटिन्छन केवल जीवनका ठट्टाहरु ।
विजयको एउटा मत !
परेर समयको नसबन्दीमा
बेवारिस डुल्दैछ
लुभेनका गल्लीहरुमा ।

बागलुङ, हालः लुभेन बेल्जियम ।

baikuntha giri

सबै तपाईका यसम्यान अर्थात लडाकु होईनन् प्रधानमन्त्री प्रचण्ड कामरेड !

बैकुण्ठ गिरी

कुनै समय थियो जुनबेला माओवादी आन्दोलनका सुप्रिमो प्रचण्डलाई देख्नको लागि लाखौंको लाईन लाग्थ्यो । लाखौं मानिसहरुको एक प्रचण्डलाई देख्न पाए कस्तो थियो होला भन्नीहरुको पनि उस्तै लाईन थियो । बाहिरका मात्रै होईन उनको पार्टी भित्रका ईमान्दार मानिसहरु प्रचण्डलाई बिचारको पोको भन्दै उनलाई बचाउनको लागि मर्न तयार हुन्थे ।
झण्डै दश बर्षको ऐतिहासिक माओवादी जनयुद्ध लडेर आएका मानिसहरु आज प्रचण्डलाई देख्दा आफैलाई सराप्छन् किन होला । सानो उमेरमा स्कुले जिवनलाई छोडेर प्रचण्डको पछि लागेका हजारौं मानिसहरु यतिबेला खाडी क्षेत्रमा बिदेशीको नोकर भएर आफ्नो जीवन तथा परिवारको खुसी खोज्दैछन् । तर जसले उनीहरुको खुसी ल्याईदिने बाचा बाधेका थिए । उनी आज देशको प्रधानमन्त्री भएका छन् र आफ्ना आसेपासेका नाममा उपचार तथा अन्य कामको लागि राज्यकोषको करोडौं रुपैया चन्दा बाडे जस्तै बाढिरहेका छन् ।

म एउटा सामान्य माओवादी आन्दोलनको सिपाहीको कुरा गर्दैछु जसले माओवादी आन्दोलनमा बगाएको रगत तथा पसिनाको मुल्य अयोग्य लडाकुको पगरी पाएको थियो । साथै त्यहि पगरी थेग्न नसकेर समाजबाट समेत अपहेलित भएर कोहिले आत्महत्या त कोहि अरबको खाडीमा होमिएको थियो । आज त्यहि अयोग्य त तिमीलाई मन पराउनँदैन सुप्रिमो कामरेड ? तिम्रा गित आउँनको लागि बनाइएको पत्रकार सगठनले पनि तिम्रो भाकामा भाका मिलाउन छाडेछ भन्ने आज राम्रैसँग महसूस गरियो ।

हुनत, आफ्नै छोराले बाजा बजाएर रमाईलो गर्दै बिहे गरेर छोरो समेत जन्माएकी आमा अर्थात सुप्रिमो कामरेडकी बुहारीलाई त आफ्नो बनाउन सक्नु भएन हामी त सामान्य अर्थमा तिम्रो ईच्छा प्राप्तीका लागि युद्ध लडिदिएका नागरिक कसरी तिम्रो हुन्थ्यौं होला र ? कुनै समय तपाईको नाममा बन्दुक बोकेर आफ्ना सबै परिवार गुमाएकोहरुको अबस्था अहिले तपाईलाई थाहा छैन् । रगत हामीले बगायौं मस्ती तपाईले गर्दै हुनुहुन्छु । पसिना हामीले बगायौं पैसा तपाईले कमाउनु भयो । हामीले सपनाको महल बनाएर आफ्नो बनेको घर भत्कायौं तपाईले लाजिम्पाट जस्ता दरबारमा आफ्नो जीवन सजाउनु भयो । हामीले भष्ट्रचारीलाई देश निकाला गर्नुपर्छ भन्दै कालोमोसो दल्यौं तपाईले तिनै भष्ट्रचारीबाटै पैसा खाएर संसद बनाईदिनु भयो ।

हामीले दलाली गर्नेहरुलाई भाटे कावार्ही गर्यौं तपाई तिनै दलालहरुको चंगुलमा आफुलाई कहिल्यै बाहिर ननिस्कने गरी छिराउनु भयो । सुप्रिमो कामरेड हामीले भारतिय बिस्तारबाद भन्दै भारतको बिरुद्ध सुरुङ्ग युद्धको तयारीमा गाउँका पाखा तथा तराईका फाँटमा खाल्टा खन्यौं तपाई त्यहि बिस्तारबादको ईमान्दार सेवक बन्नु भयो ।

न्याय प्राप्तीको लागि युद्ध लड्ने भन्दै हामी तपाईको पछाडी लाग्यौ बिस्वास नै नलाग्ने गरि हामी नै आफै अन्यायमा पर्यौं । सुप्रिमो कामरेड यतिका घात हुदा पनि हामीले तपाईलाई अब केका आधारमा बिस्वास गरौं एकदुई तिन भन्दै यो कारणले भन्दै जवाफ दिने साहास भए खुल्ला रुपमा बहस गर्न म तयार छु ।

सानो उमेरमा क्रान्तिको नाम झण्डा बोकेर तिम्रा गित गाउँदै हिडेको आजै जस्तो लाग्छ तर म कहिल्यै पनि तपाईको बिस्वास पात्र बन्न सकिन । मेरो जीवन कालमा कुनै समय उमेर नपुगेको कारण पार्टी सदस्य हुनबाट रोकियो तर त्यहि अबस्थामा तपाईको नजिक भएकाहरुको तहगत भन्दै बढुवामा परेका थिए ।
बन फडानी गर्न लगाएर गाउँबाट मानिसहरु खेदेर तराईका पाखा तथा पडाडका केहि स्थानमा हामीले सेनाको क्याम्प स्थापना गर्यौं । बिभिन्न बहानामा तपाईको गिराजाप्रसाद कोईरालासँग हैसियत मिलाउन हामीले ७ हजारको हाराहारीमा भएको जनमुक्ती सेनालाई ३२ हजार तपाई शान उचो राख्नको लागि बनाएका होऔैं कामरेड । तर यसको बदलामा हामी तपाईको सदैव यस म्यान हुन सकेनौं । त्यहि कारण आज कोहि अरबको खाडीमा, कोहि बैद्य माओवादीमा, कोहि बिप्लव माओवादीमा, कोहि बाबुरामको नयाँ शक्तीमा र कोहि तपाई कै पार्टीमा छौं ।
जीवनमा सदैव सफल बनाउने अभियानको नाममा हामी तपाईको लागि रगत बगाउन तिर लाग्यौ तपाई आफुलाई समृद्ध बनाउन लाग्नु भयो यहि कुरा नै तपाईको र ईमान्दार कार्यकर्ताहरुको बिचको अन्तरबिरोध बन्दै गयो । हिजो तपाईलाई देख्दा जयजयकार गर्नेहरु आज तपाई बोल्दा हुँदैन भनेर हुटिङ्ग गर्ने भएका छन् । ख्याल गर्नुस तपाईमा बिगत र बर्तमानमा कति फरकपन आयो भनेर ।

सुप्रिमो कामरेड अन्त्यमा अझै एउटा कुरा गर्न मन छ तपाईसँग पुर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा तपाईको सहयोगमा बनेको सरकारमा सामान्य प्रसाशन मन्त्री जीले गराएको निर्वाचनमा देशैभरीबाट माओवादीका कर्मचारी बडारिएको कत्तिको याद गर्नु भएको छ । यदि याद गर्नुभएको छैन भने रेखा शर्मा जीलाई सोध्नुस् अझै एकपटक ।

अब पालो तपाईको आएकोछ सुप्रिमो कामरेड तपाई स्थानिय निकायको निर्वाचन गराउनुस् र देशैभरबाट माओवादी नामधारीहरुलाई लाईट बालेर खोज्ने बनाईदिनुुस् त्यसपछि । लडाकुको नाममा जम्मा भएका पैसा, चन्दा आतंकका नाममा जम्मा भएका पैसा, चाईनातिर बाट सांसद किन्नको लागि आएको पैसा तथा संसद बनाउनको लागि बिभिन्न ब्यक्तीहरुबाट आएको पैसा बाकेर कहि कतै आप्रबासी जीवन बिताउँनुस् अन्यथा प्रिय सुप्रिमो कामरेड तपाई जहाँ नजानको लागि यति धेरै दलाली गर्नुभएको छ । त्यहि तपाई जानुको अर्को बिकप्प छैन । र त्यो अध्यारो कोठामा पुग्दाको दिन यी सबै कुरा सम्झाईमा आउनेछन् । त्यसैले सुप्रिमो कामरेड अबपनि सबै मेरा लडाकु हुन भन्ने सोच नबनाउनुहोला ।
धन्यवाद,

बैकुण्ठ गिरी
कुस्मा, पर्वत ।

rrdd

केहिबेर सँग–सँगै रोएर जाउली !

आऊ अन्तिम पटक छोएर जाउली,
अस्मिताका दाग सबै धोएर जाउली,
बिछोडको पिडामा बियोगको आँशु झार्दै,
केहिबेर सँग–सँगै रोएर जाउली !

***
आटो पिठो एकातिर चोक्कर फाल्तु भो,
मालिकसँग मालिक मिल्यो नोक्कर फाल्तु भो,
एक्काईस पत्ती खेलमा तिमि बाजी बसेको बेला,
जब सिक्क्वेन्स मिल्यो अनि जोक्कर फाल्तु भो ।

***

जवानीले विस्तारै भुलेपछि रोएँ,
कालो त्यो केश फुलेपछि रोएँ,
रस रित्तिएको फुललाई छोडेर,
भमरा अन्त कतै डुलेपछि रोएँ ।

***

म तिम्रो प्रेमजालमा परि बिग्रिन चाहान्छु,
गर्न नहुने सबै कार्य गरी बिग्रिन चाहान्छु,
भन्नेले भनुन् तैले राम्रो गरिनस् भनेर,
तर तिमि सँग मात्र नराम्ररी बिग्रिन चाहान्छु !

राजेन्द्र ढकाल
धौलागिरी एफएम
बागलुङ ।

Nepal-map-57e735b8023743.21888869

नेपाल भुटान बनेकै हो त ?

दुर्गानाथ शर्मा

प्रधानमन्त्री पुष्पकमल दाहाल कुर्सीमा बसेको एक महिना नपुग्दै हान्निएर भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिनको राजकीय भ्रमण सम्पन्न गरी फर्किएका छन् । भारतमा उनको राम्रै सम्मान र स्वागत भयो । यसअघि भारत गएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई यति सम्मान दिइएको थिएन । उनको भ्रमणमा त भ्रमणको सफलता नाप्ने ‘संयुक्त विज्ञप्ति’ नै निकालिएन । त्यतिबेलैदेखि कांग्रेस-माओवादी गठबन्धनको सरकार आउँछ भन्ने लख काटिएकै हो ।
भौगोलिक रूपमा नेपाल र भारत राम्रो सम्बन्ध भएका छिमेकी मुलुक हुन् । भारत ठूलो छ, नेपाल सानो । तर पनि दुवैबीच हार्दिक मित्रता छ । बेलाबेलामा यी दुई मुलुकबीच पनि मित्रतामा खलल आउने गरेको छ । दुइटा भाँडा नजिकै राख्दा कोही बेला ठोक्किएर आवाज आउँछ भन्ने उखान नै छ । सायद त्यही भएर होला ! नेपालका कुनै पनि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कतै भारतीय स्वार्थमा कुनै गोप्य सम्झौता हुन्छ भनेर नेपालीका कान ठाडो हुने गरेको मातृकाप्रसाददेखि गिरिजाप्रसाद कोइरालाको पालादेखि नै हो ।
कोसी सम्झौता र टनकपुर सम्झौता यसका दुई उदाहरण हुन् । पछिल्लोपटक टनकपुरलाई समझदारी भनेर कोइरालाले भारत गएका बेला सही धस्काएपछि यो त सन्धि हो, संसद्बाट स्वीकृति नलिई हुन्न भनेर ठूलै विवाद भएको थियो ।
यसपटक पुष्पकमल दाहालको भारत भ्रमण उनकै शब्दमा सफल रहेको छ । तर भ्रमणको अन्त्यमा प्रकाशित संयुक्त विज्ञप्तिका केही बुँदाले भने उनको भ्रमणप्रति शंका उब्जाएको छ । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । भारतले नेपालका राजाहरूलाई पनि ‘भुटानकै राजा’ जस्तो बनाउन प्रयत्न नगरेको होइन ।
तर राजाहरूले देशको राष्ट्रियता र सर्वभौमतामा आँच पुग्ने काम गरेनन् र भारतको यो प्रस्तावलाई अस्वीकार गर्दै आए । पछिल्ला राजा ज्ञानेन्द्रलाई पनि भारतले तपाईं भुटानको राजाजस्तै भइदिन स्वीकार गर्नोस्, हामी यो जनयुद्ध बन्द गराइदिन्छौं भन्ने भारतको प्रस्ताव लिएर करण सिंह काठमाडौं आएको अनौपचारिक हल्ला सुनेकै हो ।
तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसितको वार्तामा अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने भारतको आग्रहमा सही गरेर फर्केको कुराले भने अब नेपाल स्वतन्त्र मुलुक रहेन कमसेकम भारतका दृष्टिमा भन्ने कुराचाहिँ पक्कै जस्तो भएको छ ।
अन्तर्राष्ट्रिय वादविवाद र कैयन् मुद्दामा भारत र नेपालमा समान धारणा हुनु एउटा कुरा हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्जस्ता संस्थामा भारतको उम्मेदवारीलाई नेपालले समर्थन गर्नु पनि अस्वाभाविक होइन । आफू पुग्न नसक्ने तहमा आएमा छिमेकीलाई समर्थन गर्नु स्वाभाविकै हुन्छ, तर विज्ञप्तिमा उल्लेख भएको भाषा हेर्ने हो भने अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने भारतको यो प्रस्तावचाहिँ हाम्रो स्वतन्त्र विदेश नीतिविपरीत हुन्छ । यसबाट भारतले नेपाललाई भुटान बनाउन खोजेको पुष्टि हुन्छ ।
भारत र भुटानबीच १९४७ मा एउटा सम्झौता भएको छ, जसमा भुटानको विदेश र सुरक्षा मामला भारतले हेर्ने भनिएको छ । अब यसबाट हामीले कतै भारतले नेपाललाई पनि भुटान बनाउन खोजेको त होइन ? अनेक शंकाले ठाउँ पाएको छ । यसो हो भने त भारत र पाकिस्तानबीच पाकिस्तान अधीनस्थ कश्मीरमा भएको आतंककारी घटनालाई लिएर युद्ध हुने स्थितिमा पुगिसकेको छ । कमसेकम भारतका टेलिभिजन मिडिया हेर्ने हो भने भोलि नै या अर्को हप्ताभित्रै दुई मुलुक संर्घषमा भिड्ने हो कि जस्तो गरेर जनता र सरकारलाई उचालिराखेका छन् ।
त्यसो भए भोलि भारतसित समान धारणा बनाउने सहमतिअनुसार नेपालले पाकिस्तानप्रति विरोध जनाउने र मागेका खण्डमा सैनिक सहयोग पनि गर्ने हो त ? विज्ञप्तिले त्यही जनाउँछ । भारतले पाकिस्तानको ठूलो प्रान्त बलुचिस्तानलाई पाकिस्तानबाट छुट्याउने रणनीति बनाउँदैछ, के नेपालले यसमा पनि भारतकै कुरा मान्नुपर्ने ?
त्यसो भए राजा महेन्द्रले नेपाललाई असंलग्न आन्दोलनमा सरिक गराएको कुरा अबको सरकारले झिकिसकेको ठाने हुन्छ ? युगोस्लाभियाका मार्सल रिटो, भारतका जवाहरलाल नेहरूजस्ता नेताले अमेरिका र तत्कालीन सोभियत संघका गुटबाट अलग रहन असंलग्न आन्दोलन स्थापना गरेर हाम्रो मुलुक असंलग्न नीतिका सदस्य भएका हुन् ।

कि त हामीले असंलग्न आन्दोलनबाट आफू हटेको घोषणा गर्नुपर्ने हुन्छ, कि त भारतसित भएको पुष्पकमल दाहालको सहमति खण्डन गर्न सक्नुपर्छ । कुनै पनि अन्तर्राष्ट्रिय विवादमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर विवादको गुण र दोष विश्लेषण गरेर आफ्नो ‘विचार’ बनाउनु उपयुक्त हुन्छ ।
अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

विज्ञप्तिको भाषामा नेपालको नयाँ संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दलको मोर्चाको कुरा उल्लेख हुनु पनि गलत हो । मधेसी दलको सरोकार नितान्त नेपालको आन्तरिक मामला हो । मधेसीप्रति भारतको सहयोग, समर्थन र सहानुभूति हुनु ‘उनीहरूले भन्ने गरेको रोटी र बेटीको नाता’ ले ठीकै पनि होला । भारतले अहिले पनि प्रधानमन्त्री गएको मौकामा नेपालको संविधानलाई समर्थन गरेको छैन, स्वीकार गरेको छैन ।

अमेरिकाले नेपाललाई र दक्षिण एसियाका मुलुकलाई भारतको आँखाले हेर्ने जस्तो अव्यावहारिक र गैरकूटनीतिक निर्णयतर्फ नेपाल जानु हुँदैन ।

घोषणा भई लागू भएको एक वर्ष बितेर कार्यान्वयनको तहमा पुगिसक्दा पनि सम्भवतः मधेसकेन्द्रित दलकै पोल सुनेर भारतले समर्थन नगरेको हुन सक्छ । मधेसकेन्द्रित दलले पनि आफ्नो ‘घर-झगडा’ लाई भित्रै वार्ता गरेर अथवा संघर्ष गरेर समाधानको खोजी गर्नुपर्छ नकि छिमेकी मुलुकलाई गुहारेर ! घरैभित्र झगडा छ, एकले अर्काको खुट्टा हान्ने प्रवृत्ति छ ।
सबैको रुचि सत्तामा गएर मोज गर्नेछ भने कसरी हुन्छ वार्ता ! संसद्मा दोस्रो ठूलो दल एमालेसित मिलेर, निःस्वार्थ रहेर घनीभूत छलफल गरेर सहमतिमा नपुगी संविधान संशोधन हुनै सक्दैन । यो कुरालाई सबैले बुझेकै छन्, तर बुझ पचाएर बस्ने हो भने यो दोस्रोपटक अर्बौं रुपैयाँ खर्च गरेर ल्याएको संविधानले पनि काम गर्ने छैन । हाम्रो मुलुक संविधानविहीन हुनेछ ।
प्रधानमन्त्रीले न्युयोर्क जाने कार्यक्रम रद्द गरेर राम्रो काम गरेका छन् । राष्ट्रसंघमा नेपालले गर्ने केही छैन । प्रधानमन्त्रीले एउटा भाषण दिनेबाहेक अरू के काम हुन्छ ? परराष्ट्रमन्त्री नै पर्याप्त हुन्छन् । तर यो कुरा भारतबाट फर्केपछि मात्र प्रचण्डलाई लाग्नुको के अर्थ छ ? केही समयअघि यसरी नै दाहालले अस्ट्रेलियाको भ्रमण पनि अन्तिम समयमा स्थगित गरेका थिए ।
त्यसबेला उनलाई जनयुद्धमा गरेको हत्याको आरोपमा अन्तर्राष्ट्रिय अदालतले समात्छ भन्ने हल्ला सुनेरै प्रचण्डले भ्रमण रद्द गरेको हल्ला नचलेको होइन । यसपालि त एउटा मुलुकको प्रधानमन्त्रीको हैसियतमा राष्ट्रसंघमा जाँदा कूटनीतिक मर्यादाले पनि त्यसो गर्ने सम्भावना थिएन । तर जे होस्, राष्ट्रभित्रै गर्नुपर्ने धेरै काम बाँकी रहेकाले ‘आफू नजाने’ निर्णय गरेर एउटा राम्रो काम गरेका छन् ।
बरु यसपटकको भ्रमणमा ‘प्रचण्डपत्नीको गैरकूटनीतिक आचरण’ को भने केही नराम्रा हल्ला पनि आए र टेलिभिजनका पर्दामा पनि देखियो । तर यसमा ‘प्रचण्डपत्नी’ लाई दोष दिने ठाउँ छैन । उनलाई पतिले पनि प्रथम महिला विदेश जाँदा के गर्ने, के नगर्ने बताउनुपथ्र्यो । मुख्य कुरा राष्ट्रकै प्रथम महिला भएकोले हाम्रो पराराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले त्यहाँ उहाँबाट पालना गरिनुपर्ने शिष्टाचारका बारेमा राम्रो व्याख्या गर्नुपर्ने हो, सायद त्यो भएन कि ?
Durga-Nath-Sharma_1
दुर्गानाथ शर्मा

अन्नपूर्णपोष्टबाट साभार ।

M.KC

गजल : मेरो संविधान कहिले पाको होला ?

कोक्रोमा हल्लिरहेको मेरो संविधान कहिले पाको होला ?
कागजमा मात्रै सीमित संविधान कहिले पाको होला ?

बच्चा जन्मेको भए आज, फर्किने, बोल्न खोज्ने बेला भो,
नेपालीले पाएको स्वाभिमान कहिले पाको होला ?

बुद्धि पसी कहिले, सहमति सहकार्यमा जुट्छन् खै,
नागरिकले गरेको त्यो मतदान कहिले पाको होला ?

प्रादेशिक संरचनाको भागबण्डामा रस्साकस्सी चल्दैछ.
संघीय गणतन्त्रको पहिचान कहिले पाको होला ?

चक्रव्यूह बनाइदै छ अभिमन्यु मारेझै मार्न यहाँ,
कोक्रोमा हल्लिरहेको मेरो संविधान कहिले पाको होला ?

महेन्द्र केसी
कुस्मा पर्बत

mahendra-57e0a4f30a06b3.15427440

परराष्ट्र नीतिमा राजा महेन्द्र

केशवप्रसाद भट्टराई

नेपाली राजनीतिमा रहिआएको भारतीय दबाब र हस्तक्षेपकै कारण २०४६ पछिको नेपाली राजनीति अस्थिर, अराजक र परिणामविहीन छ । त्यसलाई सामना गर्ने सबालमा अपवादको अवस्थामा बाहेक नेपाली राजनीतिले प्रदर्शन गरिरहेको कायरता र लाचारीले समस्या झन् जटिल र कठिन बनाइरहेको छ । राष्ट्रिय सुरक्षा, एकता, अखण्डता इतिहासमा सबैभन्दा कमजोर बनेको आजको अवस्था त्यसैको परिणाम हो ।

यही क्रममा नेपालको वर्तमान संविधान कार्यान्वयनको सवालमा भारतको स्वामित्व स्विकारेर प्रधानमन्त्री पुष्पकमल दाहाल यसै साताको सुरुमा भारत भ्रमणबाट फर्किए ।
नेपालको मुख्य र सबैभन्दा जटिल राजनीतिक समस्या भनेको नेपालको राजनीतिमा भारतले खोजेको स्थायी स्वामित्व हो । नेपालको विदेश र रक्षा नीतिमा खोजेको अभिभावकत्व हो । नेपालको भौगोलिक अप्ठेरोको क्रूर दोहन र शोषण गरेर भारत उक्त लक्ष प्राप्त गर्न चाहन्छ । यसलाई आफ्नो भूराजनीतिक नियतिको रूपमा नेपालले स्विकारोस् भन्ने उसको सात सालदेखिकै नीति हो ।

मुलुकलाई यो भूराजनीतिक नियतिबाट मुक्ति दिलाउने रणनीतिक उपायको रूपमा राजा महेन्द्रले पाँच दसकभन्दा अघि कोदारी राजमार्ग निर्माणबाट सुरु गरेको प्रयासलाई सार्थकरूपमा अद्यावधिक गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले चीनसँग यातायात तथा पारवहनसम्बन्धी सहमति र सम्झौता गरेर मुलुकको लागि एउटा सुखद र सुरक्षित राजनीतिक र आर्थिक भविष्यको बाटो खोलेका हुन् ।
तर त्यही सहमति र सम्झौताका कारण विकसित नाटकीय राजनीतिक वातावरणको परिणामस्वरूप ओली प्रधानमन्त्री पदबाट मुक्त भए र ओली सरकारकै प्रमुख घटक दलको नेतृत्वमा र नेपाली कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए ।
नेपाली राजनीतिको यस्तै अशोभनीय दुर्वल चरित्रले आन्तरिक राजनीतिक सवालमा नेपाली जनताको ठूलो पंक्तिमाझ आलोचित रहँदारहँदै पनि स्व. राजा महेन्द्रप्रति जनताको सम्मान र स्वीकृतिमा एक्कासि ठूलो वृद्धि हुन पुगेको छ ।

प्रजातन्त्रको विकल्प अझ उन्नत प्रजातन्त्र मात्र हो भन्ने र निर्वाचित सरकार र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई आफ्नो सम्पूर्ण राजनीतिक आस्थाको रूपमा उल्लेख गर्दै आएका राजनीतिक दलहरूले पनि संसद्को सबैभन्दा ठूलो दलको निर्वाचित सरकारको ठाउँमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई एकैसाथ कार्यपालिका र न्यायपालिकाको प्रमुखको रूपमा स्विकारेर राजा महेन्द्रको सत्र साल पुस १ को कदमलाई राजनीतिक वैधता दिएका हुन् ।
जनादेशको अवमूल्यन हुने गरी २०६२-६३ अघि र पछि गरेर बारम्बार संसद्को तेस्रो ठूलो दलको नेतृत्वमा सरकार गठन गरेर निर्माण गरेको राजनीतिक विकृतिले पनि राजा महेन्द्रको उक्त कदमले स्वीकृति पाउँदै गएको छ ।
राजा महेन्द्रले कुनै औपचारिक शिक्षा पाएनन् । राणाशासनमा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिबारे प्रत्यक्ष अभ्यास र अनुभवको अवसर पनि उनलाई थिएन । राजा त्रिभुवनको पालामा पनि भारतीय राजदूत र राजाका भारतीय सल्लाहकारको प्रभुत्वअन्तर्गत मुलुकी राजकाजको प्रत्यक्ष अनुभव नगरेका राजा महेन्द्रले आफ्नो हातमा शासन आउनेबित्तिकै त्यसलाई आफ्नो लक्षमा जसरी सञ्चालन गरे र अन्तर्राष्ट्रिय कूटनीति र राजनीतिमा जुन तीक्ष्ण तथा विलक्षण सुझबुझ र प्रतिबद्धता प्रदर्शन गरे, त्यसले उनलाई नेपाली राष्ट्रियताका प्रतीक मात्र बनाएको छैन, असीमित कूटनीतिक साहस र कौशलका स्वामीको रूपमा पनि चिनाएको छ ।

नेपाल-चीन सम्बन्ध, नेहरू र राजा महेन्द्र

अक्टोबर २४, १९५३ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले विदेश सचिवलाई दिएको एउटा निर्देशनमा दिल्लीस्थित अमेरिकी राजदूतलाई पुनः नेपालमा अमेरिकी गतिविधिबारे सजग गराउन भनेका छन् । थप रोचक के छ भने राजा त्रिभुवनका एक सल्लाहकार मृगेन्द्र समशेर राणाको अमेरिका भ्रमणबारे पनि नेहरूको तीव्र असन्तुष्टि व्यक्त भएको छ । सोही पत्रमा नेहरूले नेपाली कांग्रेसका नेता बीपी कोइराला र उनका सहयोगीहरू नेपालको स्थिरताविरुद्धका चुनौती भएका र उनीहरूबाट प्रस्तुत चुनौतीलाई हरसम्भव तरिकाले सामना गरिनुपर्ने उल्लेख गरेका छन् ।

अक्टोबर १९५४ मा भारतीय प्रधानमन्त्री नेहरू चीन भ्रमणमा रहेको बेला चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसमक्ष नेपाल भारतसँग समन्वय गरेर मात्र आफ्नो पररास्ट्र नीति सञ्चालन गर्न सहमत भएको बताएका छन् । भारत नेपाल र चीनबीचको दौत्य सम्बन्धको विपक्षमा नरहे पनि नेपालमा चिनियाँ दूतावास स्थापना गर्दा अमेरिकाले पनि नेपालमा त्यस्तो दूतावास स्थापना गर्ने भएकाले नेपालमा दूतावास स्थापना नगर्न उनले चीनलाई सहमत गराएको अवतार सिंह भासिनले आफ्नो पुस्तकको पछिल्लो संस्करणमा उल्लेख गरेका छन् ।

माथिका सन्दर्भले राजा महेन्द्र राजगद्दीमा बस्दा नेपालको परराष्ट्र नीति कुन हदसम्म भारत आ िश्रत थियो, बुझिन्छ । त्यसलाई विशेष सम्बन्धको अर्थात् नेपालको रक्षा र परराष्ट्र मामिलामा भारतीय अभिभावकत्वको युग मानिन्छ ।
मार्च १९५५ मा महेन्द्र राजा हुनेबित्तिकै उनले मुलुकको परराष्ट्र नीतिलाई नयाँ दिशा दिए । राजा त्रिभुवनको पालामा भारत सरकारको अधिकारीको रोहबरमा दिल्लीमा मात्र नेपालले चीनलगायतका अन्य मुलुकसँग वार्ता गर्नुपर्ने भारतीय नीति थियो । त्यही दबाब रहन्थ्यो । त्यसकारण नेपाल-चीन सम्बन्धसम्बन्धी वार्ता अघि बढ्न नसकिरहेको अवस्थामा महेन्द्रले भारतलाई कुनै जानकारी नगराइकनै काठमाडौँमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच वार्ता गराए । प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई चीन भ्रमणमा पठाए । राजा भएको पाँच महिनामै उनले चीनसँग दौत्य सम्बन्ध स्थापना गरे । सेप्टेम्बर १९५६ मा दुवै देशले दिल्लीस्थित आआफ्ना देशका राजदूतलाई एकअर्को देशको लागि राजदूत नियुक्त गरे । यसबारे भारतीय प्रधानमन्त्री नेहरू र उनका विदेश सचिवले नेपालस्थित भारतीय राजदूतसँग चरम असन्तुष्टि पोखेका पत्रहरू भासिनले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।
राजा महेन्द्रले सोभियत संघसँग दौत्य सम्बन्ध राख्न र सोभियत संघले नेपालमा दूतावाससमेत स्थापना गर्ने कुराले त नेहरू र उनको विदेश मन्त्रालय उत्तेजित हुन पुगेको व्यहोरासमेत उनका पत्रहरूले प्रस्ट पार्छन् । कहाँसम्म भने नेपालको भारतसँग भन्दा डेढ सय वर्ष पहिलादेखि सम्बन्ध रहिआएको बेलायतसँग र भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि दौत्य सम्बन्ध रहिआएको अमेरिकासँग नेपालले कुनै विषयमा वार्ता र कुराकानी गर्न पनि भारत सरकारको रोहबरमा मात्र गर्नुपर्नेबारे भारतीय प्रधानमन्त्रीले नेपालका राजा र प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई बारबार स्मरण गराएका पत्रहरू माथि उल्लिखित भासिनको कृति र स्वयं मातृकाप्रसादको आत्मकथामा समाविष्ट छन् ।

सात सालको क्रान्तिपूर्व नै नेपालस्थित भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणलाई नेहरूले एउटा पत्रमा बेलायत र अमेरिकाले भारतसँग सहमति गरेर मात्रै नेपालसँग सम्बन्ध विस्तार गर्न लगाउनुपर्ने उल्लेख गरेका छन् । अप्रिल २५, १९५२ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई भारतसँग पूर्वसहमति कायम गरेर मात्रै अमेरिकालगायतका मुलुकसँग सम्बन्ध विस्तार गर्न परामर्श दिँदै सन् १९५० को सन्धिसँगैको पत्राचारको व्यवस्थाअनुसार त्यस्तो समन्वय आवश्यक भएको बताएका छन् ।
मे २८ को प्रधानमन्त्री नेहरूले भारतीय विदेश सचिवलाई दिइएको निर्देशनमा नेपालमा अमेरिकी सहयोगका सडक र पुल निर्माणजस्ता परियोजनामा अमेरिकी प्राविधिकहरूको उपस्थिति भारत र चीन दुवैका लागि अस्वीकार्य हुने उल्लेख गरेका थिए । जुन २१ मा त्यस्तै अर्को एउटा निर्देशनमा उनले भारतीय विदेश सचिवलाई नेपालस्थित ब्रिटिस दूतावास र अमेरिकी अधिकारीहरूको क्रियाशीलतालाई भारतविरोधी गतिविधिको केन्द्रको रूपमा चित्रण गरेका छन् ।

परराष्ट्र मामिलामा राजा महेन्द्र

सन् १९५६ को बुद्ध जयन्ती राजा महेन्द्रको विशिष्ट कूटनीतिक उपलब्धिको रूपमा रह्यो । सोही अवसरमा चौथो अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनको पनि आयोजना भएको थियो । संसारका एक मात्र हिन्दु राजाले ३२ राष्ट्रका बौद्ध भिक्षु र बौद्ध दर्शनका विद्वान्हरूको सहभागिता रहेको उक्त सम्मेलनको आयोजना गरेर विश्वका र मुलुकभित्रका बुद्ध धर्मावलम्बीहरूबीच समर्थनको नयाँ क्षेत्र निर्माण गरे ।

एसडी मुनी सम्पादित एउटा पुस्तकमा विनोद कुमारले उल्लेख गरेअनुसार अमेरिकाले नेपाललाई आफ्नो सुरक्षा घेराभित्र रहेको मुलुकको रूपमा उल्लेख गरिरहेको समयमा, जुलाई १९५६ मा राजा महेन्द्रले सोभियत संघसँग दौत्य सम्बन्ध स्थापना गरे । त्यो तत्कालीन परिवेशमा एउटा क्रान्तिकारी निर्णय थियो । जुन १९५८ मा राजा सोभियत संघ गए र फेब्रुअरी १९६० मा सोभियत राष्ट्रपति क्लिमेन्ट भोरोसिलोभ नेपाल आए । भारतका राष्ट्रपति र चीनका प्रधानमन्त्रीहरूको भ्रमणको मात्र अनुभव बोकेको नेपालले संसारको एउटा महाशक्ति राष्ट्रको प्रमुखलाई नेपालमा स्वागत गर्‍यो ।

अक्टोबर १९५८ मा नेपाल र अमेरिकाले आआफ्ना मुलुकमा राजदूतावास स्थापना गर्ने निर्णय गरे र अगस्त १९५९ मा नेपालमा अमेरिकी राजदूतावास पनि खोलियो । जनवरी १९७० मा सर्वशक्तिमान अमेरिकाका उपराष्ट्रपति स्पिरो टी एग्न्यु पनि नेपाल भ्रमणमा आए ।

राजा महेन्द्रले ठूलो कूटनीतिक सुझबुझ र कौशल प्रदर्शन गर्दै नेपाल मामिलामा एकातिर भारत र चीनबीच सन्तुलन राखेका थिए भने अर्कोतिर अमेरिका र सोभियत संघबीच पनि त्यस्तै सन्तुलन राख्न सफल हुँदै नेपालको विकासमा सबै शक्तिराष्ट्रहरूको सहयोग सुनिश्चित गरेका थिए । विश्वेश्वरप्रसाद कोइरालाको प्रथम निर्वाचित सरकारको अप्रजातान्त्रिक तरिकाले भएको विघटनपछि भारतको परोक्ष समर्थनमा सुवर्ण समशेरको नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह सञ्चालन गरेको थियो । तर १९६२ मा चीनद्वारा भारतमाथि भएको आक्रमणले राजा महेन्द्र र भारतलाई आआफ्ना नीतिहरूमा पुनर्समीक्षा गर्न बाध्य बनायो । भारतकै दबाबमा नेपाली कांग्रेसको सशस्त्र विद्रोह पनि रोकियो ।

चीनद्वारा भएको भारतको पराजय र चीन सांस्कृतिक क्रान्तिको उग्रताको पूर्वसन्ध्यामा रहेको र नेपालसँगको सम्बन्धमा केही कटुता देखिँदै जाँदा आफ्नो असुरक्षाबाट चिन्तित नेपालले बेलायत र अमेरिकासँग सम्बन्ध अघि बढायो र फेब्रुअरी १९६४ मा अमेरिका र बेलायतसँग हातहतियार तथा रक्षा सामग्री आपूर्तिसम्बन्धी सम्झौता गर्‍यो । नेपालको परराष्ट्र र रक्षा नीतिमा यो एउटा महत्वपूर्ण संरचनात्मक परिवर्तन थियो ।

चीन त्यस्तो सांस्कृतिक क्रान्तिको पूर्वसन्ध्यामा रहेकै बखत नेपालमा चीन समर्थक राजनीति शक्तिशाली हुँदै जाँदा भारतसँग निकट रहने रणनीतिक आवश्यकताअनुरूप सन् १९६५ मा नेपालले फेरि भारतसँग जनवरी १९६५ मा गोप्य सुरक्षा सम्झौता गरेको थियो ।

यहाँ यो पनि स्मरणीय छ- अप्रिल १९५६ मा राजा महेन्द्रको राज्याभिषेकको अवसरमा पाकिस्तानका विदेशमन्त्री आफ्ना राष्ट्रपतिको प्रतिनिधित्व गर्दै नेपाल आएका थिए । भारतसँगको सम्बन्धको त्यस्ता दिनहरूमा त्यो झन्डै असम्भव कूटनीतिक निर्णय थियो ।

जनवरी १९५८ मा नेपाल र अमेरिकाबीच दुवै देशमा राजदूतावास स्थापना गर्ने सहमति भयो । यसले चीन र सोभियत संघलाई पनि नेपालमा दूतावास स्थापना गर्ने बाटो खोल्यो । १९५८ को मध्यमा आएर राजाले नेपालमा तैनाथ भारतीय सैनिक मिसनलाई हटाए । त्यसको एक दसकपछि नेपालको उत्तरी सिमानामा चिनियाँ सैनिक गतिविधि अनुगमन गर्न तैनाथ भारतीय वायरलेस उपकरण र रक्षा प्राविधिज्ञहरूलाई हटाउन लगाएर नेपालको भारत र चीनसँगको सम्बन्धमा नीति सन्तुलनमा साहसिक निर्णय गरेका थिए ।

राजा महेन्द्रले आफ्नो हातमा शासन आउनेबित्तिकै अन्तर्राष्ट्रिय कूटनीति र राजनीतिमा जुन तीक्ष्ण तथा विलक्षण सुझबुझ र प्रतिबद्धता प्रदर्शन गरे, त्यसले उनलाई नेपाली राष्ट्रियताका प्रतीक मात्र बनाएको छैन, असीमित कूटनीतिक साहस र कौशलका स्वामीको रूपमा पनि चिनाएको छ ।

राष्ट्रहरूबीच उच्च तहमा भ्रमणहरूको आदानप्रदानले मुलुकको स्वतन्त्रता र प्रभुसत्ता सुदृढ बनाउने मात्रै होइन, यसले द्विपक्षीय सहयोग र सद्भावनामा वृद्धि गरेर मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पनि उचालिरहेको हुन्छ । यो क्रममा राजा महेन्द्रले भारत, श्रीलंका, पाकिस्तान, सोभियत संघ, चीन, जापान, अमेरिका, जर्मनी, बेलायत, मंगोलिया, इजरायललगायतका मुलुकहरूको भ्रमण गरे । ती मुलुकहरूमा आफ्नो व्यक्तित्वको छाप छोडे र नेपाललाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित र प्रतिष्ठित गराए । असंलग्न राष्ट्रहरूको बेलग्रेड, कायरो र लुसाका शिखर सम्मेलनमा सहभागी भएर उक्त अभियानको पक्षमा नेपालको दह्रो अडान प्रस्तुत गरेका थिए ।

निजी आग्रह, कुण्ठा वा सैद्धान्तिक मान्यताको आधारमा राजा वा राजसंस्थाको विपक्षमा रहनेहरूले पनि तथ्यगत आधारमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले मुलुकको राष्ट्रिय स्वतन्त्रता, सुरक्षा र सम्मानमा आँच पुग्ने कार्य गरे भनेर भन्न सक्दैनन् । राजाहरूले आफ्नो क्षमताले भ्याएसम्म त्यसो हुन दिएका पनि थिएनन् । राष्ट्रप्रतिको गौरव र निष्ठामा आशंका उठ्ने कुनै कार्य गरेनन् । कारण स्पष्ट छ- मुलुक रहे मात्रै राजा होइने र मुलुकको अस्तित्व र पहिचानसँग राजसंस्थाको पनि अस्तित्व र पहिचान अभिन्न रूपमा गाँसिएकाले मुलुकप्रतिको राजाहरूको निष्ठामा कसैले शंका गर्ने ठाउँ रहेन ।
चारित्रिक रूपमा नै कुनै पनि वैदेशिक शक्ति केन्द्रले देखाउने कुनै प्रलोभन र आकर्षण राजगद्दीको तुलनामा बढी मूल्यवान् हुनै नसक्ने भएकाले राजाहरू कसैको त्यस्तो आकर्षणमा पर्ने सम्भावना पनि रहेन । त्यसै आधारमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति उठेको हो ।
तर धेरै वर्षदेखि आमरूपमा नेपालका नेताहरूबाट जनताको विवेक, ऊर्जा र उत्साहको नेतृत्व भइरहेको छैन । राष्ट्रको दीर्घकालीन हितको पनि नेतृत्व भएन । यसरी मुलुकको राजनीतिक नेतृत्वप्रति लामो समयसम्म जनताले विश्वास र सम्मान जाहेर गर्ने स्थिति रहेन, उनीहरूको निष्ठा र इमानमा जनताले भर गर्न सकेनन् भने मुलुक आफ्नो राष्ट्रिय सुरक्षा र सम्मानको जगेर्ना गर्न र मुलुकको समृद्धि आर्जन गर्न आवश्यक नैतिक, मानवीय र भौतिक लगानी जोहो गर्न सक्दैन । भइरहेको त्यही छ । त्यसैले राजाहरूप्रति जनतामा आकर्षण बढिरहेको देखिन्छ ।

—भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजसँग आबद्ध छन् ।

अन्नपूर्ण पोष्टबाट साभार ।

sushila pant

पर्खि बस्छु भन्थ्यौ तिमले, बाटो काटी गयौ किन ?

पर्खि बस्छु भन्थ्यौ तिमले बाटो काटी गयौ किन ?
मनका कुरा मनमै थिए दिलमै सारी गयौ किन ?

उजाड थियोे मेरो जीवन सितल दिन्छु भन्थ्यौ किन ?
एकसरो थियोे डोरी तानमा काटि गयौ किन ?

शिरमा हात राखि तिमले बाचाकसम खाईदेउ भन्थ्यौ,
अाज भेट्यौं मिल्ने जोडि मलाई ढाटि गयौ किन ?

झुप्रो थियो सानो मेरो ठान्थे मैले स्वर्गसरि,
भुषको अागो बनी तिमी बनाई पारि गयौ किन ?

फूल रोप्छु भन्थ्यौ पहिले काडाँ किन सारी दियौ,
यो मुटुमा बास बसि ध्वजा फाटि गयौ किन ?

-सुशिला पन्त,
चितवन ।

Rajendra Dhakal

कहिले तिम्रो सिंदुर, पोते, चुराले तर्साउँछ …

आटो पिठो एकातिर चोक्कर फाल्तु भो,
मालिक सँग मालिक मिल्यो नोक्कर फाल्तु भो,
एक्काईस पत्ती खेलमा तिमि बाजी बसेको बेला,
जब सिक्क्वेन्स मिल्यो अनि जोक्कर फाल्तु भो ।
***
जवानीले विस्तारै भुलेपछि रोएँ,
कालो त्यो केश फुलेपछि रोएँ,
रस रित्तिएको फुललाई छोडेर,
भमरा अन्त कतै डुलेपछि रोएँ ।
***
फकाई फकाई कुरा गर्यौ, यो मन फुरुक्क पार्यौ,
भेट्न मात्र भन्यौ र म आएँ, दैलो घुरुक्क पार्यौ,
हल्का पिडा भए पनि यो मन त खुसी नै थियो,
त्यही पिडा सहँदा सहँदै रुवायौ धुरुक्क पार्यौ ।
***
कहिले तिम्रो कुराले तर्साउँछ,
कहिले तिम्रो छुराले तर्साउँछ,
बिपनीमा मात्र होईन अचेल, सपनीमा पनि,
कहिले तिम्रो सिंदुर, पोते, चुराले तर्साउँछ ।

राजेन्द्र ढकाल
ढकाल फेन्सी
बगलुङ नगरपालिका- २

King-Birendra-57ccc9030edab8.00491989

राजा वीरेन्द्रको बाटो

युवराज गौतम,

King-Birendra-57ccc9030edab8.00491989विदेशीका आदेश–निर्देश ठाडै अस्वीकार गर्नू

श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।

त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।

राजा वीरेन्द्रको रहस्यमय हत्या (२०५८ साल जेठ १९ गते शुक्रबार राति) हुनुभन्दा धेरै वर्ष अघिदेखि राजदरबारमा भएका षड्यन्त्रबारे इतिहासकारहरूले चाखलाग्दा र रोमाञ्चक कुरा लेखेका छन् । ती षड्यन्त्रका कथा पढेपछि मात्र पछिल्ला घटनाक्रम बुझ्न सकिन्छ ।

नेपाली सेना (त्यसबेला शाही नेपाली सेना) का तीन हजारभन्दा बढी सैनिकको घेरामा बसेका राजा वीरेन्द्र सपरिवार मारिएपछि तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर राणाले राजा (सेनाको परमाधिपति) जोगाउने काम सेनाको दायित्वमा पर्दैन भन्ने आशयको बक्तव्य दिएका छन् । तत्कालको सैनिक ऐनअनुसार मुलुक, मुकुट र मुलुकी (जनता) बचाउने जिम्मा सेनाकै थियो, तर सेनापतिले गलत अर्थ लाग्ने बक्तव्य दिँदा सर्वसाधारणले ‘यो के भन्न खोजेकोे ? ‘ भन्ने प्रश्न गरे । धेरैले प्रश्न गरे, ‘ऐन मौकामा सुरक्षा दिन नसक्ने ती पल्टन केका लागि राखिएका थिए त ? ‘

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको देहान्त (१८३१ साल माघ १ गते) भएपछि राजगद्दीमा बसेका प्रतापसिंह धेरै वर्ष राजा हुन पाएनन् । उनको निधनपछि युवराज रणबहादुर शाहले राज्यारोहण गरे । त्यसपछि देवर–भाउजू (राजेन्द्रलक्ष्मी र बहादुर शाह) बीच दुई गुट बनाएर दरबारभित्रका षड्यन्त्रकारीहरूले फाइदा लिन खोजे । काजी दामोदर पाँडेजस्ता देशभक्त काटिए । काजी वंशराज पाँडे काटिए । राजकुमार बहादुर शाह जेल गरे ।

अन्ततः उनको पनि रहस्यमय हत्या भयो । राजा रणबहादुर शाह ३१ वर्षकै उमेरमा काटिए । पुराना भारदार काजी नरसिंह गुरुङ र त्रिभुवन प्रधानलाई राजाका हत्यारा भन्दै काटियो । पृथ्वीपाल सेन, विदुर शाही, रणबहादुर सेन आदि मारिए । भीमसेन थापाले नरसिंह र त्रिभुवन प्रधानका छोरा–नातिहरूसमेतलाई विष्णुमतीछेउमा लगेर काट्न लगाएको इतिहासकार बाबुराम आचार्यले लेखेका छन् । (अब यस्तो कहिले नहोस्, पृष्ठ ६०–६१)

शत्रुको दमन गर्ने क्रममा पाल्पाली राजा पृथ्वीपाल सेनका साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए । विधिपूर्वक अन्तिम संस्कार गर्नसमेत नदिएर स्याल र गिद्दलाई लास खुवाइयो । राजा रणबहादुरका भाइ शेरबहादुर र चौतारा विदुर शाहीका पत्नी र छोरीहरू पोडेहरूलाई जिम्मा लगाए भीमसेन थापाले । उनका शत्रुहरूको सर्वस्वहरण भयो ।

आठ वर्षको छोरा गीर्वाणबाट अलग गराएर हेलम्बुमा थुनिएकी रानी राजराजेश्वरीसहित १४ जना सुसारेलाई साँखुको शालीनदीमा ज्युँदै पोलेर भीमसेन थापाले ठूलो पाप गरेको इतिहासकारले लेखेका छन् । ७७ जना पुरुष र १६ जना महिलालाई राजाका मान्छे भन्दै पोलेपछि भीमसेन थापा सर्वेसर्वा भए ।

सल्यानकी रानी विलासकुमारी (पृथ्वीनारायण शाहकी छोरी) लगायतका कैयन्का चलअचल सम्पत्ति खोसेर भीमसेन थापा झन् धनी हुन पुगे । चौतारा श्रीकृष्ण शाहको महल ‘बकस पाएर’ (कब्जा गरेर) भीमसेन त्यहाँ बस्न थाले भने उनका प्रिय पात्र रंगनाथलाई कान्छा चौतारा दलमर्दन शाहको महल बकस दिइयो ।

गीर्वाणको मृत्युपछि बालक राजा राजेन्द्र राजगद्दीमा राखिए । राजकुमार देवेन्द्रविक्रम शाहको मृत्युपछि भीमसेन थापाको पतन सुरु भयो । देवेन्द्रलाई विष खुवाएर मारेको अभियोगमा उनी थुनिए । अन्त्यमा जेलमै उनले आत्महत्या गरे । आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेर रानी राज्यलक्ष्मीका प्रिय बनेका जंगबहादुर कप्तानबाट पदोन्नति हुँदै प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यहाँबाट सुरु भयो, राणा शासन ।

इतिहास घटना–दुर्घटनाहरूको मुण्डमाला जस्तो हुन्छ र तर पलपलमा षड्यन्त्रका चरण पार गर्दै कालचक्र घुमिरहन्छ । जंगबहादुरले शासन सत्ता हातमा लिएको झन्डै एक सय वर्षपछि जन्म लिएका राजा वीरेन्द्र पनि षड्यन्त्रकै सिकार भए । उनकै जेठा छोरा दीपेन्द्र शाह र श्री ३ मोहन शमशेरकी पनातिनी (पशुपति शमशेरकी छोरी देवयानी) बीचको प्रेमकथालाई राजा वीरेन्द्रको हत्याको पृष्ठभूमि नमान्नेहरू धेरै भेटिन्छन् ।

नारायणहिटी हत्याकाण्डका खलनायक भन्दै चीनका प्राध्यापक वाङ चुङले ‘नेपालको सुरक्षात्मक रणनीति’ पुस्तक (पृष्ठ १९) मार्फत अमेरिका र भारतीय गुप्तचर संस्थाको ‘खुनी हात’ रहेको खुलासा गरेका छन् भने पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले २०६७ सालमा प्रकाशित लेखमा सोही कुराको पुष्टि गरेका छन् । दीपेन्द्र शाहको टाउकोमा सबै दोष थोपरेर गम्भीर अन्तर्राष्ट्रिय षड्यन्त्रबाट जनताको ध्यान अन्यत्रै मोड्न खोजिएको तर्क गर्नेहरू पनि धेरै भेटिन्छन् ।

राजा महेन्द्र परलोक भएपछि २०२८ साल माघ १७ गते २६ वर्षको उमेरमा राजा भएका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव ल्याए । ११६ राष्ट्रले त्यसको समर्थन गरे पनि भारतले समर्थन गरेन । २०३१ साल फागुन १३ गते शुभराज्याभिषेकको भोलिपल्ट ल्याइएको सो प्रस्तावका कारण राजा वीरेन्द्रलाई भारतले आँखाको कसिंगर नै ठान्न थाल्यो ।

राजाले २०३० साल मंसिर २२ देखि २९ गतेसम्म चीन भ्रमण गरेदेखि नै भारत सशंकित रहेको पाइन्छ । चीनका नेताहरू तुङ पी उ र चाउ–एन–लाईको निमन्त्रणामा भएको भ्रमणमा राजालाई भव्य स्वागत गरिएको थियो । मंसिर २३ गते ‘बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’ गुन्जयमान भयो, राजाको सारगर्भित भाषणले । चीनका अखबारहरूले त्यसलाई ठूलो महत्त्व दिए ।

चीनसँग ‘नजिकिएको’ भन्दै भारतीयहरू राजा वीरेन्द्रप्रति सशंकित भए । २०२९ साल फागुन २४ गते राजाले दिल्लीमा असंलग्न राष्ट्रहरूको सातौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै सार्वभौमसत्ता र स्वतन्त्रता सबै राष्ट्रलाई उत्तिकै प्यारो हुन्छ भन्ने धारणा व्यक्त गरे ।

नेपालका राजा नेपालीहरूबीचमै अप्रिय छन् भन्ने देखाउन भारतीय गुप्तचर संस्थाका अधिकृत र केही भारतीय नेताहरूको निर्देशनमा दिल्लीमा बसेका केही नेपाली वामपन्थीहरूले राजा वीरेन्द्रलाई कालो झन्डा देखाए, तीमध्ये एकजना भारतको आशीर्वादमा नेपालको प्रधानमन्त्री बन्न पुगे । त्यसबेला ‘शान्ति क्षेत्र प्रस्ताव चाहिँदैन’ भन्ने प्रदर्शन र नारा लगाउनेहरू मोहनविक्रम सिंहको पार्टीको कार्यकर्ता थिए भने कसको इशारामा त्यो सबै भएको थियो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

सोही साल चैत ६ गते चीनका राष्ट्रपति ली–स्यान–न्यान काठमाडौं आए । २०४० साल वैशाख १९ गते फ्रान्सका राष्ट्रपति फ्रास्वाँ मितेराँले नेपाल भ्रमण गरे । त्यसको दुई वर्षपछि २०४२ वैशाख १९ गते मालदिभ्सका राष्ट्रपति मौमुन अब्दुल गैयुव राजकीय भ्रमणमा आए । सोही साल बंगलादेशमा सम्पन्न सार्कको प्रथम शिखर सम्मेलनलाई राजा वीरेन्द्रले सम्बोधन गर्दा कतिपय सञ्चारमाध्यमले दक्षिण एसियामा यस्ता प्रखर राजनेता पनि रहेछन् भनेर प्रशंसा गरे ।

२०४२ फागुन ६ गते ब्रिटेनकी महारानी एलिजाबेथले दोस्रोपटक नेपाल भ्रमण गरिन् । त्यसअघि राजा महेन्द्रका पालामा उनी नेपाल आएकी थिइन् । २०४३ साल साउन ६ गते भारतीय राष्ट्रपति ज्ञानी जेलसिंह नेपाल आए । ती भ्रमण कूटनीतिक सफलताका केही उदाहरण हुन् ।

धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपाल आए, २०२८ देखि २०५८ सालसम्म लामो तीसबर्से कालखण्डमा । नेपालका राजा र प्रधानमन्त्रीहरूले सम्मान पाएका छन् अरू राष्ट्रमा पनि । शान्ति, स्थिरता र प्रगतिको लागि चालिएका असल कामहरूप्रति दलहरू सकारात्मक नभए पनि राजाले आफ्नो कर्तव्य बिर्सेनन् ।

२०४७ सालको संविधानमा नेपाली नागरिकता प्राप्त गर्न नेपाली हुनैपर्ने प्रावधान थियो । जलस्रोतलगायत प्राकृतिक स्रोतसाधनबारे अन्तिम निर्णय गर्न दुवै संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) बाट दुईतिहाई सदस्यले अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको थियो र नेपालको राष्ट्राध्यक्ष सनातन हिन्दु धर्मावलम्बी हुनुपर्ने उल्लेख थियो । यी सबै कुरा समाप्त नगरेसम्म नेपालमा विदेशी (भारतीय र पश्चिमा शक्ति) हरूको दबाब–प्रभाव सम्भव थिएन ।

यही कारणले राष्ट्रवादीहरूको उन्मूलन गर्ने प्रायोजित खेल सुरु भयो । गाउँगाउँमा कथित जनयुद्धका नाममा माओवादीले देशभक्त र राष्ट्रवादीलाई छानीछानी मारे । वीरगन्जका पूर्व मेयर र पत्रकार गोपाल गिरी, कपिलवस्तुका दानबहादुर श्रीवास्तव, अर्घाखाँचीका शोभाखर भुसाल, इलामका चन्द्रकान्त भट्टराई, सिराहाका चन्द्रनारायण यादव (मन्त्री सीतादेवी यादवका पति), सशस्त्र प्रहरीका आईजीपी कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुपलगायतका हजारौँ राजनीतिकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, सैनिक, प्रहरी, सशस्त्र प्रहरी, उद्योगपति, व्यापारी, सर्वसाधारण राष्ट्रघाती थिएनन् ।

माओवादीहरू आफैँ अपराधी भएकाले जघन्य अपराधी र राष्ट्रघातीहरू उनीहरूका हितैषी भए । राजा वीरेन्द्र जस्ता सरल राजनेतालाई बाँचुञ्जेल माओवादीले कदर गरेनन्, तर उनी मारिएपछि डा. बाबुराम भट्टराईले पृथ्वीनारायणदेखि राजा वीरेन्द्रसम्मका राजाहरूले राष्ट्रियता बचाउन योगदान गरेको भन्दै लेख लेखेर तारिफ गरे । यो गोहीको आँसु मात्र थियो ।

जुन षड्यन्त्रको कारण राजा वीरेन्द्रको हत्या भयो, त्यसकै धारावाहिक शृंखला थियो, राजसंस्थामाथिको हमला । दाजु प्राणहीन भए, भाइ गद्दीहीन । चीनसँग सुमधुर सम्बन्ध बनाएर भारत र पश्चिमाहरूको दबदबा र प्रभावबाट नेपाललाई मुक्त गर्ने चाहना राजा वीरेन्द्रको थियो । चीनलाई सार्कको सदस्य बनाउनुपर्छ भन्ने प्रस्ताव राखेपछि राजा ज्ञानेन्द्रप्रति भारत आक्रामक भएको कतिपय पुराना कूटनीतिज्ञहरूको तर्क छ ।

२०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, ‘कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।’ यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।

दिल्लीमा बाह्रबुँदे समभदारी (सम्झौता) गरेर नेपालका आठ दलले राष्ट्रलाई गहिरो, डरलाग्दो र निसास्सिने इनारमा हालेका छन् । संविधानका अन्तरवस्तु विदेशबाटै आयात गरिएको र संविधानमा विदेशीले अर्बौं रुपैयाँ लगानी गरेको कुरा ‘ठूला दलका’ नेताहरू नै स्वीकार गरिरहेका छन् ।

त्यसैले राजा मार्ने, राजा फ्याँक्ने, राष्ट्र टुक्र्याउने, गृहयुद्ध गराउने, परम्परागत धर्म–संस्कृति सिध्याउने, राष्ट्रियता र प्रजातन्त्र कमजोर पार्ने अनि नेपाली जनतालाई ‘देखिजान्ने सुनीजान्ने किनाराका साक्षी’ बनाई ‘पूर्व नेपाली’ बनाउन खोज्ने पद्धति स्थापना गर्न खोजिएको छ । नेपाल देशको नाम र राष्ट्रिय झन्डा फेर्न माओवादीले ल्याएको प्रस्ताव विफल भएपछि विदेशीलाई खुसी पार्न राष्ट्रिय एकता दिवस (पुस २७) खारेज गरियो । यसमा नेपाली कांग्रेसका कतिपय नेताले पनि खलनायकको काम गरेका छन् ।

राष्ट्रलाई सक्षम बनाउन पचासौं राष्ट्रको भ्रमण र विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर राजा वीरेन्द्रले प्रशस्त आर्थिक सहायता जुटाएको यथार्थ जगजाहेर छ । २०४० सालमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा प्रवचन दिँदै राजा वीरेन्द्रले भनेका थिए, ‘कुनै देशको प्रजातान्त्रिक व्यवस्था त्यस देशको जनताको नैसर्गिक संस्कार र चरित्रमा आधारित हुन्छ । तसर्थ, प्रजातन्त्रमा संस्कृति प्रतिविम्बित हुनुपर्छ भन्ने मेरो धारणा छ ।’ यसको आशय स्पष्ट छ, आचार–विचार, संस्कार र राजनीतिक संस्कृति परिष्कृत नभएसम्म प्रजातन्त्र स्थापित हुन सक्दैन ।

राजा वीरेन्द्रले राजनीतिक दलहरूसँग मिलेर तयार गराएको २०४७ सालको संविधान स्वीकार गरेर संसद्मा माओवादीले तेस्रो ठूलो दलको हैसियत प्राप्त गरेका थिए । सबै निर्णय त्यसबेला नेपालभित्र नेपालीले नै गर्थे । बहुजनको निरंकुशता (टाइरेनी अफ मल्टिच्युड) नै प्रजातन्त्र हो भन्नुपरेको थिएन । राजा विदेशीको आदेश–निर्देश ठाडै अस्वीकार गर्थे । राजा वीरेन्द्र हिँडेको बाटो त्यागेर राष्ट्रलाई आज दिग्भ्रमित बनाइएको छ । त्यसैले शान्ति, प्रगति, स्थायित्व र प्रजातन्त्र प्रश्नचिन्हको घेरामा परेको छ ।
Yubaraj-Gautam
युवराज गौतम,
साभार- अन्नपूर्णपोष्ट ।