Category Archives: प्रमुख समाचार

Baglung Kalika

बडा दशैँको टीकाको उत्तम साइत विहान ८ बजेर ४५ मिनेटमा !

बागलुङ, २०७३ असोज २५ । नेपालीहरुको महान पर्व विजया दशमी मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै छ । विजया दशमीको टीका लगाउने साईत आज असोज २५ गते मंगलबार विहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषीहरुको ठहर छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले मंगलबार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको बताएका छन् ।

अध्यक्ष गौतमले आम सर्वसाधारणले टीकाको साइत हेर्नु नपर्ने बताएका छन् । अध्यक्ष गौतमका अनुसार टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानै देखी विजया दशमीको टीका लगाउनेहरुको भीड लाग्छ ।

saahh

आदर्श सञ्चार सहकारी बागलुङ को दुव्र्यसन विरुद्ध अभियान !

बागलुङ, २०७३ असोज २५ । युवा पिढीलाई लागु पदार्थको सेवनबाट टाढै राख्ने उदेश्यका साथ बागलुङको एक सहकारीले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । एउटी आमाले पाएको शिक्षा सम्पूर्ण परिवारका लागि प्रभावकारी र उपयोगी हुने भएकाले दुव्र्यसन विरुद्ध आमाहरु नामक अभियान सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ ।

सूचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर अन्य सामाजिक कार्यमा समेत सक्रिय रहदै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले दुव्र्यसन रोक्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सहकारी समाज रुपान्तरणको एउटा अभिन्न अंग हो, समाजका हरेक व्यक्ति सदस्य हुने भएकाले सबै सहकारीहरुले मानवीय सेवाका काम गरेर सामाजिक रुपान्तरणको अभियानमा लाग्न राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले आव्हान गरेका छन् ।

संस्थाको हालै सम्पन्न दशौ वार्षिक साधारणसभाले आगामी कात्तिकदेखि असारसम्म बागलुङ सदरमुकाम लगायत लागु औषधको कारोबार तथा प्रयोग हुने ठाउँलाई केन्द्रीत गरी २० वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सहकारी अव केवल आर्थिक क्षेत्रमा मात्रै केन्द्रीत नभई समाजमा हुने विभिन्न गलत प्रचलन तथा प्रवृतिको अन्त्यका लागि क्रियाशिल हुनु पर्ने उनको भनाइ छ ।

पहिलो चरणमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा बढी भन्दा बढी आमाहरुलाई सहभागी गराउने लक्ष्य रहेको संस्थाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।

आमाहरु छोराछोरीसंग धेरै समय संगै हुने भएकाले उनीहरुलाई लागु औषध प्रयोग सम्बन्धी सचेतना दिने, लागु औषध प्रयोगकर्ताहरुको अवस्थाका बारेमा जानकारी गराई युवा युवतीहरुलाई कुलतबाट टाढा राख्ने लक्ष्य संस्थाले राखेको छ ।

अभियान सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ लगायत सरोकारवालाहरुसंग समन्वय गरिने संस्थाका सम्पादक रामबहादुर जिसीले बताए ।

परिवारको रेखदेख गर्ने विषयमा आमाहरु धेरै सचेत हुने तर छोरी छोरीको माया ममताका कारण उनीहरु कुलतमा लागेको बारेमा अनभिज्ञ रहने भएकाले उनीहरुलाई शिक्षाको आवश्यकता छ भन्ने निष्कर्षका साथ दुव्र्यसन विरुद्ध आमाहरु अभियान शुरु गर्न लागिएको जिसीको भनाइ छ ।

लागु औषधको कुलतमा फसेका २५ भन्दा बढी व्यक्तिलाई यो वर्ष प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई घर पठाएको छ । कुलतमा फसेका युवाहरुलाई यसबाट हुन सक्ने हानी नोक्सानीका बारेमा जानकारी दिएर सुध्रने अवसर दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
छोरा छोरी दुव्र्यसनमा लागेको जानकारी पाएपछि बागलुङ लगायत विभिन्न ठाउँमा रहेको सुधार केन्द्रमा लैजाने अभिभावकहरु पनि छन्, विभिन्न ठाउँमा लैजाने भएकाले यकिन तथ्यांक पाउन गाह्रो हुने सरोकारवालाहरु बताउँछन् ।

klika

आज महाष्टमी, कालिका भगवती मन्दिरमा सबेरै देखी श्रद्धालुको भीड !

तजबिज खबर, बागलुङ २०७३ असोज २३ । नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा नवदुर्गा भवानीको पूजाआजा भैरहेको छ । हिँजो फुलपाती देखी सरकारी कार्यालयहरुमा सार्वजनिक विदा भएको छ । मुलुकभर हर्षोल्लासपूर्वक विजया दशमी पर्व मनाईदै छ । विभिन्न कारणले घर बाहिर रहेका परिवारका सदस्यहरु आआफना घरमा फर्कने सिलसिला जारी छ । दशैँमा बाबुआमा तथा मान्यजनको आशीर्वाद (टीका) थाप्न स्वदेश र विदेशमा रहेका परिवारका सदस्यहरु जम्मा भै उत्सवको रुपमा मनाउने दशैँ पर्व नेपालीहरुका लागि महत्वपूर्ण रहेको छ ।

नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दसौँ दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। विजया दशमीको सप्तमी तिथी फुलपाती हिँजो शनिवार धुमधामसंग भित्राईएको छ ।

बागलुङकी प्रशिद्ध कालिका भगवती मन्दिरमा नवरात्रिको प्रथम दिन घटस्थापना देखी नै श्रद्धालुहरुको अपार भीड लागिरहेको छ । हिँजो शनिवार फुलपातीका दिन मन्दिरमा भक्तजनहरुको ठुलो भीड लागेको थियो भने आज महाष्टमी, विहान सवेरै देखी दर्शनार्थी भक्तजनहरु कालिका भगवती मन्दिरमा आउने क्रम सुरु भैसकेको छ ।

नवरात्रिको आठौं दिन आज महाकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली महाकालीको अष्टमीका दिन उत्पन्न भएको मान्यतका साथ पूजा गर्ने गरिन्छ । देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहे जस्तै बागलुङ कालिका भगवती मन्दिरमा बलि दिईने प्रचलन रहेको छ । नेपालमा सर्वाधिक बलि चढाईने शक्तिपीठ मध्य बागलुङकी प्रशिद्ध कालिका भगवती पनि एक हुन् । बडा दशैँको अवसरमा यस मन्दिरमा ठुलो संख्यामा पशु पंक्षीको बलि दिईन्छ ।

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैँको हो ।

कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता रहेको छ।

कालिका भगवती मन्दिर व्यवस्थापन समितिले दिएको जानकारी अनुसार नवदुर्गाको सातौ दिन सम्म दश लाख भन्दा बढी भेटी चढेको छ । हिँजो सप्तमीमा मात्रै रु २ लाख ९० हजार भन्दा बढी भेटी मन्दिरमा चढेको छ भने घटस्थापनाको दिन १ लाख १२ हजार ५ सय ६३ रुपैया चढेको थियो ।

केहि दिन देखी परिरहेको झरीले केहि असुविधा पुराएपनि कालिका भगवती प्रतिको श्रद्धामा श्रद्धालु भक्तजनमा कुनै अन्तर नआएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले तजबिजलाई बताए ।

ramjee

रेडक्रस जस्तो मानवीय संस्थालाई नियन्त्रणमा राख्न खोज्नु गलत !

बागलुङ, २०७३ असोज २३ । पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माले पछिल्लो समयमा रेडक्रसलाई विभिन्न बहानामा आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेका कारण रेडक्रसको गरिमा घटेको भन्दै उनले मानवीय संवेदनामा काम गर्ने पवित्र संस्थालाई आफु अनुकुल बनाउने प्रयत्न गर्नु गलत भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखा बालुङको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको शनिवार उद्घाटन पछि बोल्दै शर्माले यस्तो बताएका हुन् ।

विश्वमा रेडक्रसको जन्म कसरी भयो र यसले मानवीय सेवामा कसरी काम गरीरहेको छ भन्ने ख्याल गर्दै यसको गरिमालाई थप उचाईमा पु¥याउन सबैको सहयोग आवश्यक रहनेमा उनको भनाई थियो ।

कार्यक्रममा मालिका गाविसका पूर्व अध्यक्ष इन्द्रलाल सापकोटा, समाजसेवी कृष्णप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उप कोषाध्यक्ष जीवननाथ शर्मा, जिल्ला सदस्य तथा निर्वाचन अधिकारी रामबहादुर जिसी, पूर्व जिल्ला सदस्य शिव सापकोटा, यसस्कर सदस्य दुर्गा कुँवर, विशिष्ठ सदस्य सिता शर्मा, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य घनश्याम सापकोटा, उपशाखाका तर्फबाट सन्तोष कुँवर, बलराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम उपशाखाका कार्यवाहक सभापति गंगाधर सापकोटाको अध्यक्षता, कोषाध्यक्ष बालकृष्ण सापकोटाको सञ्चालन र उपकोषाध्यक्ष रविप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले सचिव लक्ष्मण सापकोटाले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यसैबीच अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । अधिवेशनबाट सभापतिमा रविप्रसाद शर्मा तथा सदस्यहरुमा कोपिला खरेल सापकोटा, बलराम सापकोटा, देविप्रसाद सापकोटा, रविराज रेग्मी, गोविन्दप्रसाद सापकोटा, रेशम सापकोटा, एक प्रसाद सापकोटा र कमलबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकारी तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सदस्य रामबहादुर जिसीले सपथ ग्रहण गराएका थिए ।

प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष रविप्रसाद शर्माले आगामी दिनमा उपशाखालाई थप व्यवस्थित ढंगले अगाडि बढाउने बताए ।

saudi arab

दशैंका बेला, नेपाली चेलीहरु रुँदैछन् साउदी अरबको जेलमा !

महेश श्रेष्ठ, साउदी अरब २०७३ असोज २३ । नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदुतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन् ।

कुवैतबाट साउदी अरब आइपुगेका र राजदुतावासको शरणमा पुगेका ती चेलीहरुलाई दुतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो । कुवैतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवैतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दुतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरे पनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन् । कुवैतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो । कार्यबाहक राजदुत आनन्द शर्माका अनुसार कुवैतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल ९४ लाख २७ हजार रुपैयाँ० सम्म गैरकानुनी बसोबास वापतको जरिवान तिर्नु पर्दछ । त्यो जरिवाना मिन्हा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दुतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दुतावासको शेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो । अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ ।

पीडित चेलीहरुका अनुसार घरेलु कामदारका रुपमा कुवैतका लागि ल्याईएका उनीहरुलाई कुवैती र नेपाली दलालले कुवैतबाटै साउदी अरबको आफन्तकोमा केही दिनका लागि जानुपर्ने भनेर झुक्काई बिक्री गरेर साउदी अरबमा पठाउछन् । साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन् । नेपाली राहदानी खोसी बधँुवा कामदार बनाईएका उनीहरुलाई साउदी कुवैत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्राईन्छ । उनीहरुलाई पुनः कुवैत नफर्काई गैरकानुनी रुपमा घरभित्रै लुकाएर काम गर्न लगाईन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना दिई शाररिक शोषण समेत गरिन्छ । उनीहरुको बसाई अवैध भएका कारण नेपाल समेत फर्कन नदिई वर्षौसम्म काममा लगाईन्छ । यसरी शोषित भएकाहरु विभिन्न उपायले भागेर राजदुवासको शरणमा आउने गर्दछन् । त्यसरी भागेर दुतावासको शरणमा आउनेहरुमा दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेकाहरु छन् ।

बाध्यताबस साउदी अरबमा गैरकानुनी रुपमा रहेका नेपाली चेलीहरुलाई साउदी सरकारले जरिवाना र जेल सजाय तोक्नु र उनीहरु नै थप पीडित हुनु अन्याय भएको पीडितहरु बताउछन् । यसै सम्बन्धमा कार्यबाहक राजदुत शर्मा भन्छन् “यसअघि हाम्रो अनुरोधलाई स्वीकार गरेर साउदी सरकारले जरिवाना र सजाय माफी दिने गरेको थियो तर यस पटक भने त्यसो गरेन । त्यसकारण हामीले शेल्टरमा रहेका चेलीहरुलाई डिर्पोटेशन सेन्टरमा पठाउन बाध्य भयौ ।”

“साउदी सरकारको यो परिवर्तिनीति घरेलु कामदारका रुपमा नेपाली चेलीहरुलाई साउदी आउन नेपाल सरकारले स्वीकृत दियोस् भन्ने कुटनीति दवाब पनि हुन् सक्छ” राजदुत शर्माको अनुमान छ । साउदी अरबमा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउने व्यवस्थित कानुनी व्यवस्था नगरेसम्म र कुवैतबाट नेपाली महिलाहरुलाई ल्याउन नरोकिएसम्म यो समस्या रहिरहने पनि उनको ठहर छ ।

पछिल्लो जानकारी अनुसार दुतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु नेपाल फर्कने प्रतिक्षामा त्यहाँको महिला जेलमा छन् । दशैंमा घरपरिवारका माझमा पुग्ने आसाका साथ दुतावासको सेल्टरमा ९ महिनाअघिदेखि बस्दै आएका ती चेलीहरुको अपेक्षामा अहिले तुषारोपात भएको छ । महिलाजेलमा उनीहरुलाई संचारसेवाबाट समेत सम्पर्कविहीन अवस्थामा राखिएको छ । नेपाली र कुवैती दलालबाट साउदी अरबमा बेचिएर शोषित र पीडित भएका ती निर्दोष चेलीहरुलाई नेपाल सरकारले कुटनैतिक पहल गरेर मुक्त गराउनु पर्ने र उनीहरुलाई त्यो अवस्थामा पुर्याउने दलालहरुलाई कडाकार्वाही गर्नुपर्ने देखिएको छ । त्यसैगरी राजदुतावासले पठाएको प्रतिवेदन र अनुरोधलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्ने समेत देखिएको छ ।

कार्यबाहक राजदुत शर्माका अनुसार श्रम तथा रोजगार मन्त्रालयले दुतावासको प्रतिवेदन र अनुरोध वेवास्ता गर्नुका साथै दुतावासका लागि अरबियन भाषा अनुवादक, जनसम्पर्क कर्मचारी र चालकका लागि प्राप्त हुँदै गरेको तलब रकम समेत रोक्का गरेर जनशक्तिको अभावमा दुतावासलाई लाचार बनाइएको छ । जस्को कारण पीडित महिलाहरुको हकअधिकारका लागि पर्याप्त कानुनी पहल गर्न समेत समस्या भएको छ ।

gyanendra1310048644

पूर्व राजा ज्ञानेन्द्रले शुभकामना सन्देश मार्फत उठाए ६ गम्भीर प्रश्न !

हाम्रो धर्म, संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौँ -पूर्व राजा ज्ञानेन्द्र

काठमाडौ २०७३ असोज २२ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले भनेका छन् नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो । हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं उल्लेख गर्दै सन्देशमा राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व भएको बताएका छन् ।

बडादसैंको अवसरले हाम्रो रीतिथिति, संस्कृति, धर्म, परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्व सबल पार्ने उल्लेख गर्दै राजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् ।

बितेको दशकमा अपराध र अपराधीकरणलाई निरुत्साही गरियो या जनताका निम्ति केके गरिए त्यसको समीक्षा गर्न विलम्ब भइसकेको बताउदै शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले

बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनता अन्त्य गरी जनमुखी शासन–प्रशासन प्रारम्भ गरियो त ? विकास निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ? परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थरक्षा गरियो त ? घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ? ’ भन्ने गम्भीर प्रश्न गरेका छन् ।

आफ्नो वक्तव्यको अन्त्यमा राजा ज्ञानेन्द्रले नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधैं कायम राखी देशका लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।

Sammaab

बृद्धबृद्धा, अशक्तहरु प्रति अवहेलनाले भरिएको बिचार शिक्षाको देन !

माधब पराजुली, पर्वत २०७३ असोज २२ । जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो भन्ने नाराका साथ पर्वत जिल्लाको २ नं निर्वाचन क्षेत्रका २९ वटै गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गरेका पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले उक्त अभियान जारीनै राखेका छन्।

दुई वर्ष अगाडीदेखि शुरु गरेको अभियान अन्तर्गत साँसद लम्सालले शुक्रबार खानीगाउँ गाविसका १८१ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गाविसको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका जेष्ठनागरीकहरु लाई सम्मान गरिएको सांसद लम्सालले बताए । गाविसको वडा नं.२ मा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याएको स्पष्ट पारे ।

हाल सम्म ७ गाविसका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकेका सासंद लम्सालले पछील्लो समय बृद्धबृद्धाहरुलाई सम्मानको भाव तिब्र रुपमा लोप हुर्दै गएको बताए । शिक्षाबाट संस्कार बन्ने र संस्कारबाट बिचार बन्ने भन्दै सांसद लम्सालले बृद्धबृद्धा अशक्तहरु प्रति अवहेलनाले भरिएको बिचार शिक्षाको देन भएको धारण राखे । शिक्षा प्रणालीमा बुढा पाकाहरूलाई सम्मान गर्ने शिक्षा दिने जस्ता कुराको स्थान हुनुपर्नेमा पनि सांसद लम्सालले जोड दिए ।

कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्धा पबित्रा लम्सालले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणीय हुने भन्दै खुशी व्यक्त गरेकी थिईन् ।

यसैवीच नेकपा एमाले गाउँ कमिटि खानीगाउँ पर्वतले बिजया दशमीको अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँको अवसरमा सांसद बिकास लम्सालको बिशेष उपस्थितीमा स्थानीए जन समुदायको बिच शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा बोल्दै सांसद लम्सालले धार्मिक तथा जातीय विविधतासँगै बहुसांस्कृतिक महान चाडहरु दशैँ,तिहार नेपालीको साझा चिनारी भएको बताउदैँ नेपालीको महान चाडहरु लाई संरक्षण र संवद्र्धन गर्नु सबैको प्रमुख दायित्व भएको बताए । हिन्दुनेपालीहरुको महान चाड दशैँ लाई हर्ष उल्लासका साथ मनाउन आग्रह गर्दै आफ्नो क्षमता अनुसार दशैँमा खर्च गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा लम्सालले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिदैँ १० प्रतिशत थ्रेसहोल्ड राख्नुपर्नेमा जोड दिए । राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न यो समयमा जरुरत भएको भन्दै लम्सालले यस सम्बन्धि बिधेयक प्रस्ट नल्याए अनावश्यक पार्टी खोलेर देशलाई राजनितिक अस्थिरता तर्फ ढल्काउने परिपाटीको बिकासहुने बताए ।

उनले देशलाई सम्मृद्धी तर्फ लैजान तथा बिकासोन्मुख गराउनको निम्त्ति राजनीतक दल एक हुन जरुरत रहेको बताउदै एक राजनीतीक दल ले १० प्रतिशत मत पनी ल्याउन नसके राष्ट्रिय पार्टी हुन नसक्ने बिधयेक प्रस्ट ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटिका पुर्व अध्यक्ष मोती पौडेल,नेकपा एमाले जिल्ला कमिटि सदस्य मञ्जु अधिकारी,एन.आर एन क्यानडाका सचिब सुमन पौडेल, अनेरास्वबियु जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र पौडेल,लघुउधमी केशा परियार,भवानी बिधा पिठ उ.मा.बि.का प्राचार्य अर्जुन कुमार रेग्मी,समाज सेवी दुर्गा दत्त लम्साल,निलकण्ठ शर्मा, सांसद लम्सालल पुत्री योजना लम्साल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

नेकपा एमाले गाउँ कमिटि अध्यक्ष खानीगाउँका अध्यक्ष नारायण लामीछानेको अध्यक्षता, अनेरास्वबियु जिल्ला कमिटी सचिब बिक्रम जि.सी.को स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले गाउँ कमिटि उपसचिब लकास सुवेदीले गरेका थिए ।

badhi

बुर्तिवाङ खबर : बागलुङ पश्चिमका बाढी पीडितलाई राहत रकम वितरण !

बिमल खडका, बुर्तिवाङ २०७३ असोज २१ । वाढी पीडित सरोकार समिति बागलुङको सक्रियतामा बागलुङ पश्चिमका बाढी पीडितलाइ संकलित राहत रकम वितरण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । हिजोदेखि सुरु गरिएको उक्त राहत रकम वितरण अभियानमा बोंगादोभानमा १९ घर, अधिकारीचौरको छालहाल्ना र दोगाडीमा ८५ घर, निसीमा ५ घर, बोहरागाउँमा ६ घर तथा देविस्थामा १३ घर परिवारलाई राहत रकम वितरण गरिएको हो ।

त्यसैगरि आजै बुर्तिबाङमा ६ घर, भीमगिठेमा ५ घर, राजकुतमा १९ घर, दर्लिङमा ११ घर र ग्वालीचौरमा १ घर बाढीपीडित परिवारलाई राहत रकम वितरण गरिएको बताईएको छ ।

बाढीपीडित सरोकार समितिको सक्रियतामा समितिका सदस्यहरुबाट संकलित रकमका साथै प्रभु बैंकबाट १ लाख ३० हजार रुपैयाँ, ग्लोबल बैंकबाट ५० हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलित ५७ हजार रुपैयाँ, अधिकारीचौर घर भई हाल अमेरिका निवासी खिम बहादुर अदैबाट १५ हजार रुपैयाँ, अधिकारीचौरकै किम बहादुर भण्डारीबाट १० हजार रुपैयाँ, भेक बहादुर अदैबाट ८ हजार रुपैयाँ, बुर्तिबाङ घर भई हाल काठमाण्डौ निवासी हिक्मत शेरचनबाट ५ हजार रुपैयाँ, काठमाण्डौ असन चोकमा माइकिङ गरि संकलित २५ हजार रुपैयाँ गरि कुल ३ लाख ४१ हजार रुपैयाँ रकम संकलन गरि बाढीपीडित परिवारलाई प्रति घरपरिवार २ हजारका दरले राहत रकम वितरण गरिएको बाढी पीडित सरोकार समिति बागलुङका संयोजक एवं नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि जीत शेरचनले जानाकारी दिए । राहत संकलनका लागि समितिका अन्य सदस्यहरु तिलक श्रीपाली, जीवन भट्टचन लगायतको समेत सक्रियता रहेको बताइएको छ । गत साउन १० र ११ गते आएको बाढीका कारण बागलुङ पश्चिम क्षेत्रमा ठूलो धनजनको क्षती पुराएको थियो ।

सिवाईसीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शाखाले आफ्नो सातौं समृद्धि दिवसको अवसर पारि बुर्तिबाङमा आज दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सांसद् ज्ञान कुमारी छन्त्यालले सबैलाई शुभकामना दिंदै सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेडले ग्रामीणस्तरका जनतासम्म सेवा पुराउनमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिएकी थिईन् ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका सह प्रमुख लोक बहादुर कुँवर, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, लक्ष्मी बैंङ्क बुर्तिबाङका शाखा प्रबन्धक शिशिर भण्डारी, शेयर सदस्य एवं समाजसेवी चन्द्रलाल अर्याल, हरि कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सिवाईसी बुर्तिबाङ शाखाका प्रबन्धक दामोदर गौतमले सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बुर्तिबाङको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

सवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शखाकी संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको संचालन शाखाका सचिव चुडामणि भुसालले गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपालका शुभकामना तथा चियापान कार्यक्रम

शक्ति पाटी नेपाल, क्षेत्र नं. ३ बागलुङको आयोजनामा आज बुर्तिबाङमा दशैतिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक कुशल बुढाले विकसित एवं समृद्ध नेपालका लागि नयाँ शक्ति पार्टीको आवश्यकता रहेको भन्दै अब आर्थिक क्रान्तिले मात्र देशको मुहार फेर्न सकिने बताए ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका जिल्ला सदस्य चन्द्रकान्त भुसाल, डिलाराम रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चन्द्रलाल अर्याल, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, बुर्तिबाङ यातायात व्यावसाय समितिका अध्यक्ष शेरमान घर्ती, पश्चिमान्चल यातायात समितिका प्रतिनिधि रामप्रसाद आचार्य, दलित संजालका क्षेत्रीय अध्यक्ष विष्णु वि.क., दलित सशक्तिकरण केन्द्र बागलुङका प्रतिनिधि गोपाल वि.क., बुर्तिबाङ गाविस कार्यालयका प्रतिनिधि चुडामणि भुसाल, अन्तराष्ट्रिय बागुलुङ सेवा समाज कतारका सह सचिव राम बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य एवं सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे, रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नयाँ शक्ति पार्टी नेपाल बागलुङका क्षेत्रीय सह संयोजक शंकर कुँवरको अध्यक्षता रहेको उक्त कार्याक्रमको संचालन जिल्ला सदस्य मनोज कुमार वि.क.ले गरेका थिए ।

jilla police

यात्रुहरुबाट जथाभावी भाडा असुल्ने ‘सवारी/चालक’ माथी प्रहरी कार्बाही !

तजबिज खबर/ बागलुङ २०७३ असोज २० । दशैँको मौकामा घर जान हिँडेका यात्रुसंग मनपरी भाडा असुल्ने एक यात्रुबाहक जीपलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । प्रहरीले अहिले विहान ८ बजेको समयमा बागलुङ सदरमुकाम देखी बुर्तिवाङ जाने तयारीमा रहेको लु १ ज २७३८ नम्बरको यात्रुबाहक जीपले प्रति यात्रु एक एक हजार रुपयाँ नदिए नलैजाने भने पछी यात्रुहरुले प्रहरीलाई खबर गरेका थिए ।

केहि दिन पहिले टिकट बुकिंग गर्दा जनही ८ सय भनेको र आज जीपमा चढेर गन्तव्यमा जान लागेपछी एक एक हजार रुपयाँ मागे पछी जीप चालक र यात्रुवीच विवाद भएको थियो । जीप चालकले एक हजार रुपयाँ नदिए ओर्ल भनेर यात्रुलाई जीपबाट झर्न भनेकाले पीडितहरुले प्रहरीलाई खबर गरेपछी जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले जीपलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयमा जीप चालकले नियमानुसारको भाडा रु ७ सय लिने सहमति जनाएपछी सो जीप यात्रुहरुलाई लिएर गन्तव्यतिर लागेको छ ।
चाडबाडको मौका छोपेर यात्रुहरुको ढाडै भाच्ने गरी आफुखुशी भाडा असुल्दै आएका सवारी चालकहरुलाई प्रहरीको यस कार्बाहीले केहि सतर्क भने बनाएको छ ।

सदरमुकाम देखी ग्रामिण ईलाकाहरुमा चल्ने सवारी साधनहरुले मात्र नभएर सदरमुकाम देखी जिल्ला बाहिर चल्ने सवारी साधनहरुका चालकहरुले समेत मौकाको फाईदा उठाउदै आएका छन् । यतातिरपनि प्रहरीको ध्यान जानु जरुरी देखिन्छ । ई रिक्सा सन्चालनमा प्रहरीले रोक लगाएको विषय जिल्लामा व्यापक चासो र चर्चाको विषय बनेको छ । यसका बारेमा पनि जिल्ला प्रहरी कार्यालय बागलुङको ध्यानाकर्षण हुन जरुरी छ ।

burtibang-prahari-karyalaya

बुर्तिवाङ क्षेत्रबाट एक वर्षमा १७ महिला सहित २१ बेपत्ता, ३१ जनाको मृत्यु !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७३ असोज २१ । निसीभूजी (बुतिर्वाङ) क्षेत्रमा गत एक वर्ष (आर्थिक वर्ष २०७२/०७३ं) मा २१ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ महिला रहेका छन् भने ४ जना बालबालिका हराएका छन् । अवधिमा आत्महत्या र विभिन्न तवरले ५ नाबालिक सहित ३१ जनाले ज्यान गुमाएका छन् । आत्महत्या वा मृत्यु हुंनेमा १८ पुरुष र ८ जना महिला रहेका छन् ।

यस क्षेत्रबाट गत एक वर्षमा महिला २७, पुरुष २ र बालबालिका १३ जना हराएकोमा २ पुरुष, महिला १३ र ९ बालबालिका भेट्टिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले ६१ औँ प्रहरी दिवसका अवसरमा बिहीबार ईप्रका बुर्तिवाङमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा जानकारी दिए ।

आर्थिक बर्ष २०७२/७३ मा यस क्षत्रका बिभिन्न घटनामा गरी कुल ७ सय २२ उजुरी दर्ता भएकोमा ६ सय ७४ उजुरी बुर्तिबाङमा मिलापत्र भएका छन् भने बाँकि केहि मुद्दा जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाईएको ईप्रकाले जनाएको छ । ।

ईप्रका बुर्तिवाङबाट सवारी ज्यानमा ४, सार्वजनिक अपराधमा ४, हात हतीयारमा ३, , जबरजस्ती करणीमा ५, ज्यान मार्न उद्योगमा ८, लागु औषध चरेसमा ७, कर्तब्य ज्यानमा ८, जुवामा ४, कर्तब्य ज्यान जानेगरी आगोलगाउनेमा २ गरी २४ मुद्दामा ४५ जनालाई जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराईएको हो ।

त्यस्तै एक बर्षमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा गरी १४ हजार १ सय ३ लिटर बरामद गरी नष्ट गरिएको ईप्रका बुर्तिवाङले जानकारी दिएकोछ ।

ट्राफिक कार्वाहिमा १ सय ८१ जनालाई कारबाहि गरी ८० हजार ६ सय राजस्व सँकलन भएको प्रहरीले जनाएको छ । उता मापसे गरेकाबाट बैँक दाखिला ३७ हजार ७० गरिएको छ ।

यसैगरी गत आवमा लागु औषध चरेस ५६ केजी ३ सय ग्राम जफत गरीएको छ भने ६ रोपनी क्षेत्रफलमा निसी क्षेत्रमा गाजा फडानी गरिएको छ । प्रहरी बिभागीय कार्वाहि प्रहरी बिभागीय कार्वाहिमा १ जना परेको बताईएको छ ।

प्रहरीले चाडपर्वका अबसरमा बिशेष सुरक्षा ब्यबस्था कडा पारिने बताएको छ ।